फिक्कल, असार ७ : राष्ट्रिय चिया तथा कफी विकास बोर्डले इलामका किसानलाई दिएको गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम प्रभावकारी देखिएको छ ।
२ हजार ७ सय ९० जना चिया किसानलाई गएको मङ्सिरमा महिनामा सैद्धान्तिक र सिजनमा प्रयोगात्मक तालिम प्रदान गरिएको थियो । चिया टिपाइको मध्य सिजनमा आएर उक्त तालिमको प्रभावकारिता महसुस गरिएको सूर्योदय नगरपालिकाका किसान रमेश भट्टराईले बताए । उनले भने, ‘चिया रोप्नेदेखि, छाँटकाँट, मलजल, टिपाइ, ढुवानी, प्रशोधन, प्याकेजिङलगायत सबै क्षेत्रमा प्रयोगात्मक सिप सिकाइएको थियो ।’
परम्परागत रूपमा चियाको टिपाइ गर्दै आएका किसान प्राविधिक तालिम पाएपछि काममा सहजता भएको बताउँछन् । ‘विगत वर्षमा भन्दा यो वर्ष सहज तरिकाले चियाको काम गर्न सकिरहेका छौँ,’ तालिममा सहभागी किसान रोहित सापकोटाले भने, ‘तालिमकै कारण चियाको गुणस्तर र उत्पादनमा समेत १० प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ ।’
तालिम पाएपछि किसानहरूमा चिया टिप्न मात्र नभएर मलखादको व्यवस्था, गोडमेल, काँटछाँटजस्ता कामको शैलीमा परिवर्तन भएको छ । उनीहरूले अहिले प्राविधिक उपकरणको प्रयोग समेत बढाएका छन् । चिया श्रमिकको प्रत्यक्ष अभाव भोग्दै आएका किसानले यही झन्झटबाट मुक्ति पाउन मेसिनको प्रयोग गर्न गरेका छन् ।
बोर्डले नेपाली चियाको दिगो निर्यात अभिवृद्धि परियोजना अन्तर्गत चरणबद्ध रूपमा किसान लक्षित प्रयोगात्मक कार्यक्रम सञ्चालन गरिरहेको बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले बताए । उनले भने, ‘यसअघि पनि चियाको लागि धेरै कार्यक्रम भए तर उद्योगसम्म पुगेका कारण चिया किसानले केही जानकारी नपाएको गुनासो आयो । गएको मङ्सिरमा भने किसानसँगै प्रत्यक्ष रूपमा रहेर पूर्ण प्रयोगात्मक प्रशिक्षण गराएका थियौँ । किसानले व्यावहारिक ज्ञान र सीप एकैपटक सिक्नुभएछ खुसी लाग्यो ।’
१५ देखि ३० जनाका ११ वटा समूह बनाएर प्रत्येक समूहमा २ जना चिया प्राविधिकबाट तालिम सञ्चालन गरिएको थियो । तालिम जिल्लाको फिक्कल, मंगलबारे, इलाम, शान्तिडाँडा, जस्बिरे, साखेजुङलगायतमा फिल्डमा नै सञ्चालन गरिएको थियो । बोर्डले तालिका बनाएर जिल्लामा छरिएका सबै समूह समूहमै पुगेर प्राविधिकमार्फत चियाको कटिङसहित मौसमअनुसारका काम सिकाउँदै आएको छ ।
चियालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नेपाली चियाको गुणस्तर अभिवृद्धि गर्न, अर्गानिक प्रमाणित भएको चिया निर्यात अभिवृद्धि गर्न, अर्थोडक्स चियाको निर्यात मूल्य वृद्धि गर्न, चिया उत्पादकको आम्दानीमा दिगो सुधार तथा चिया क्षेत्रमा लगानी वृद्धि र थप रोजगारी सृजना गर्ने मुख्य लक्ष्य रहेको निर्देशक भट्टराईले जानकारी दिए ।
यही परियोजनाअन्तर्गत चियामा गुणस्तर कायम जाँच गर्न उपभोक्तादेखि विक्रेता हुँदै किसानसम्मको मार्ग ‘ट्रेसिबिलिटी’को काम पनि गरिनेछ । उत्पादन भएदेखि उपभोक्ताले पिउँदासम्म कुन ठाउँको चिया हो भन्ने पत्ता लगाउनेगरी यो प्रणाली तय गरिएको बोर्डले जनाएको छ ।
उपभोक्ताले चिया पिउँदा गुणस्तरमा कम नहोस् भन्नका लागि उसले पिएको चिया कुन बगानको हो भन्नेसम्म पत्ता लगाउन यो प्रणालीले सहयोग गर्नेछ । ‘नेपालको गुणस्तरीय चिया बद्नाम नहोस्, कसैले कमजोरी गरेपनि यसैले कमजोरी गरेको रहेछ भन्ने थाहा पाउन सकियोस् भनेर यो प्रणाली विकास गरेका हौं,’ भट्टराईले भने ।
नेपालको गुणस्तरीय अर्गानिक चियाको विश्वबजारमा चिनारी र माग बढाउन बोर्डले १७ करोड रुपैयाँभन्दा बढीको परियोजना ल्याएको हो । ‘अर्गानिक चिया उत्पादनलाई यो परियोजनाले प्रोत्साहन गर्ने छ,’ उनले भने, ‘नेपालको चिया विश्वमै १ नम्बर गुणस्तरमा पुु¥याउनु हाम्रो लक्ष्य हो ।’
अहिले किसानले अर्गानिक चिया उत्पादनमा त दुःख पाएकै छन्, उनीहरूलाई अर्गानिक उत्पादन प्रमाणित गर्न उस्तै सास्ती भइरहेको छ । यो समस्या समाधान गर्न पनि परियोजनाले किसानलाई सहयोग गरेको छ । अर्गानिक प्रमाणीकरणका लागि बोर्डले अनुदान उपलब्ध गराउने छ । किसानका लागि परियोजनाले सचेतना, आवश्यक सामग्री, तालिम, प्रोत्साहलगायत कार्यक्रम र गतिविधि सम्पन्न गर्नेछ ।
नेपालमा चिया खेती थालिएको १ सय ६० वर्ष बितिसक्दा यसले क्रमसः गुणस्तर बढाउँदैछ । सुरुमा भारतमा मात्र व्यापार हुनेगरेको तयारी चिया अहिले तेस्रो मुलुकमा समेत बजार विस्तार गर्दैछ । किसान र उद्योगीले आफ्नै पहुँचमा यहाँको चिया तेस्रो मुलुकसमेतमा विक्री गर्न थालिसकेका छन् ।
अहिले नेपालबाट ३ अर्ब रुपैयाँभन्दा बढीको चिया विदेश निर्यात भइरहेको छ । नेपाली चियाको गुणस्तर र परिमाण बढाउन बोर्डले प्रयत्न गरिरहेको कार्यकारी निर्देशक भट्टराई बताउँछन् । ‘बोर्डले यहाँका उद्योगहरूलाई अन्तर्राष्ट्रिय बजारमा उत्पादन विक्रीका लागि लोगोसमेत प्रदान गरिरहेको छ,’ उनले भने, ‘निश्चित गुणस्तर र मापदण्ड पुगेका उत्पादकले नेपाली चियाको लोगो प्रयोग गर्न पाउँछन् ।’