५० वर्ष काम गरेपछि खालीहात जागिरबाट निकालिएको गुनासो, हुलाक कर्मचारी आन्दाेलनमा

  आवाज संवाददाता


इलाम।बरबोटे अतिरिक्त हुलाकका प्रमुख देबेन्द्र शर्माको अवकाशपछिको सेवासुविधा त कता हो कता उल्टै असार मसान्तदेखि जागिरनै जाने भएको छ । सरकारले बजेट वक्तब्य मार्फत अतिरिक्त हुलाक खारेज गरेपछि ५० वर्षदेखि हुलाकमा न्यून वेतनमा काम गर्दै आएका शर्माको जागिर गएको हो । सरकारको यो निर्णयले शर्मासँगै मुलुकका ११ हजार हुलाक कर्मचारीहरुको जागिर गएको छ ।

सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट बक्तब्य मार्फत श्रावण १ गतेदेखि लागु हुने गरी देशभरिका अतिरिक्त हुलाक कार्यालय खारेज गरेको छ । सरकारले गरेको अतिरिक्त हुलाक खारेजीसँगै इलामका ४०  अतिरिक्त हुलाक बन्द हुनका साथै १५७ जना हुलाक कर्मचारीहरु संकटमा छन् । न्यून सेवा सुविधामा काम गर्दै आएका हलाक कर्मचारीहरु सेवासुविधा वृद्धिको पर्खाइमा थिए । कतिपय उमेर हद नाघेका कर्मचारीहरु सेवासुविधा सहित अवकाश लिने सोँचमा थिए । तर, सरकारले हुलाक कर्मचारीहरुको सेवासुविधा सम्बोधन नगरी अतिरिक्त हुलाक खारेज गरेपछि कर्मचारीहरु मारमा परेका छन् । मासिक ३२ रुपैयाँ मासिक तलबबाट सेवा शुरु गरेका शर्माले हाल मासिक आठ हजार पाउँदै आएका थिए । उमेरले ६६ पुगेका शर्मा थोरै भएपनि सेवासुविधा लिएर अवकाश लिने मुडमा थिए । तर, सरकारले कुनै सेवासुविधा घोषणा नगरी जागिरै जाने निर्णय गरेपछि आफू अन्यायमा परेको उनले बताए ।

फलाटे अतिरिक्त हुलाक कार्यालयमा ५० वर्षदेखि कार्यरत ८५ वर्षीय फौदसिंह बुढाथोकी पनि सरकारले कामको मूल्याकंन नगरी आफूहरुलाई जागिर खोसेर अन्याय गरेको बताए । सरकारले सेवासुविधासहित अवकाश दिने आशमा काम गरिरहेको उनले बताए ।
एक अतिरिक्त हुलाकमा दुईदेखि सात जनासम्म हुलाक प्रतिनिधि, डाक वाहक र पत्र वितरक कार्यरत छन् । उनीहरुले सात हजारदेखि आठ हजारसम्म तलब बुझ्दै आएका थिए ।

सरकारले बजेट मार्फत सुविधा दिएर उमेर पुगेकालाई अवकाश र उमेर नपुगेकालाई न्यूनतम् पारिश्रमिक देला भन्ने आशामा बसेका हुलाक कर्मचारीहरु सरकारको यो निर्णयसँगै आन्दोलिन बनेका छन् । हुलाकमा कार्यरत कर्मचारीहरुको संस्था नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएशनको अगुवाईमा जेठ १५ गतेदेखिनै अतिरिक्त हुलाकहरु बन्द छन् । अतिरिक्त हुलाक खारेजीको निर्णय फिर्ता गर्न माग गर्दै आन्दोलनरत हुलाक कर्मचारीहरुले जिल्ला जिल्लामा धर्ना दिने, जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयमा ज्ञापन पत्र बुझाउने गरिरहेका छन् । असार १० गते जिल्ला तथा इलाका हुलाक कार्यालयमा ताला लगाउने कार्यक्रम रहेको एशोसिएशन इलामका अध्यक्ष लीलानाथ लम्सालले बताए । आन्दोलनरत हुलाक कर्मचारीहरुले हुलाकको खारेजी नभई यसको पुनःसंरचना गर्नुपर्ने र सेवा अवधि पुगेकाहरुलाई सेवासुविधा दिई अवकाश दिनुपर्ने माग राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार