इलामका दलित जनप्रतिनिधिको क्षमता विकासका लागि दुई दिने तालिम आयोजना गरिएको छ । नवराज शंकर प्रतिष्ठानले आयोजना गरेको तालिम इलाम नगरपालिकाकी उपप्रमुख विष्णु दाहालले आइतबार उद्घाटन गरिन् ।
तालिममा इलामका १० वटै पालिकाका ५० भन्दा बढी दलित जनप्रतिनिधि महिला सहभागी रहने अनुमान गरिएको प्रतिष्ठान सचिव ईश्वरी तामाङले बताए । प्रतिष्ठान अध्यक्ष उमाकान्त शंकरले स्वर्गीय नवराज शंकरको समाज बदल्ने अभियानलाई निरन्तरता दिन दिएको बताए । ‘समाजलाई विभेदरहित, समुन्नत र समृद्ध बनाउने नवराजको सपना अब हामी बाँचेकाले पूरा गर्नु आवश्यक छ,’ उनले भने, ‘त्यही आवश्यकता पूरा गर्न समाजको नेतृत्व तहमा रहेका जनप्रतिनिधिको क्षमता विकासले सघाउने छ ।’
कार्यक्रममा प्रमुख अतिथि दाहाल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल, नेपाल पत्रकार महासंघ इलामका सचिव भीम चापागाईं, महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्रमुख खगेन्द्र चापागाईं, जिल्ला अदालत बार एसोसिएसन अध्यक्ष तारानाथ पराजुली, काले दमाईं स्मृति प्रतिष्ठान अध्यक्ष प्रकाश परियार, वुुद्धि घिमिरे स्मृति प्रतिष्ठान अध्यक्ष टीकादेवी घिमिरे, बाल संगठन इलामका कार्यवाहक अध्यक्ष भक्त थामीलगायतले मन्तव्य राखेका थिए । कोशी प्रदेश सरकारको सहयोग, इलाम नगरपालिकाको समन्वय र प्रतिष्ठानको आयोजनामा कार्यक्रम सुरु भएको प्रतिष्ठान सदस्य मनकुमार बराइलीले बताए ।