इलामस्थित मानवअधिकार मञ्च नेपालले स्थापनाको २५ वर्षमा रजतजयन्ती मनाएको छ ।
मञ्चले विभिन्न कार्यक्रम आयोजना गरी असार २२ र २३ गते २५औं वर्षगाँठ मनाएको हो ।
२०५५ सालमा स्थापित मञ्चले स्थापनाको २५औं बसन्त पार गर्दैगर्दा सम्पन्न गरेका गतिविधि समेटेर स्मारिकासमेत प्रकाशन गरेको छ । इलाममा शनिबार आयोजित समारोहमा जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले मञ्चको स्मारिका विमोचन गरे । त्यस अवसरमा मञ्चले २५ वर्षमा गरेका गतिविधिबारे कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले जानकारी गराए ।
देशमा प्रजातन्त्र स्थापनापछि स्थापित मञ्चले राजनीतिक चेतना विस्तार, मानवअधिकारमैत्री नीति निर्माणमा बहस–पैरवी, राज्यले निर्माण गरेका संविधान र कानुनको नागरिकस्तरमा सचेतनालगायत काम गरेको छ । देशमा राजनीतिक आन्दोलन चलेका बेला मानवअधिकार र राजनीतिलाई नै मुख्य विषय बनाएको मञ्चले सशस्त्र द्वन्द्वका समयमा पनि मानवअधिकार संरक्षणमा चुनौतीपूर्ण हिसाबले भूमिका निर्वाह गरेको विश्वकर्माले जनाए ।
‘सशस्त्र द्वन्द्वका बेला कुनैपनि सरकारी र गैरसरकारी संघ–संस्था गाउँमा जान नसकेका बेला मञ्च गाउँ–गाउँमा थियो,’ उनले भने, ‘हामीले द्वन्द्वमा होमिएका पक्षहरू र सर्वसाधारणको मानवअधिकारको अवस्थाबारे त्यतिबेला पनि गहन अध्ययन, विश्लेषण गरेका थियौं ।’ उनले द्वन्द्वका बेला मञ्चलाई राज्यले विद्रोहीको र विद्रोही पक्षले राज्यको ‘सुराकी’जस्तो सोच्ने गरेकाले निकै चुनौती खेप्नुपरेको पनि सुनाए । ‘तैपनि, हामीले कुनै पक्षपात र कमजोरी गरेका थिएनौं, हामीले हाम्रो जिम्मेवारी पूरा गर्न छाडेनौं,’ उनले भने, ‘२५ वर्षको यात्रामा देश जसरी अघि बढ्यो, हामीले त्यसैअनुसार आफ्नो जिम्मेवारी निर्वाह गरेका छौं ।’
मञ्चले बालबालिका, युवा, अपांगता भएका व्यक्ति, महिला, सीमान्तकृत समुदायलगायतको क्षेत्रमा कार्यक्रम सञ्चालन गरिरहेको छ । पछिल्लो समय विशेषगरी सामाजिक, सांस्कृतिक र आर्थिक चेतनाका क्रियाकलाप गरिरहेको छ । जनप्रतिनिधिसमेतलाई कानुन निर्माणबारे सहजीकरण र क्षमता विकासका काम मञ्चले गर्दैछ । स्थानीय तहलाई कानुन निर्माणमा सुझाव, सहजीकरण र निर्मित कानुन कार्यान्वयनमा समेत मञ्चले कार्यक्रम गरिरहेको अध्यक्ष मोहनसिंह थेबेले जानकारी दिए । ‘निकै उतारचढाव खेपेर यो संस्थाले मानवअधिकार संरक्षणको क्षेत्रमा पहिचान बनाएको छ,’ अध्यक्ष थेबेले भने, ‘यसमा इलामसहित विभिन्न क्षेत्रका नागरिक, सरकार र गैरसरकारी क्षेत्रको सहयोग र समन्वय महत्वपूर्ण छ ।’
कार्यक्रममा जिल्ला न्यायाधीश दीपक दाहाल, इलाम नगरपालिका उपप्रमुख विष्णुकुमारी लिम्बू (दाहाल), सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरे, सशस्त्र प्रहरी उपरीक्षक द्रोण विष्टलगायत जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिलगायत सामाजिक संघ–संस्थाका प्रतिनिधिको सहभागिता थियो ।
मञ्च अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतामा सम्पन्न विमोचन समारोहको सञ्चालन मञ्चकी गायत्री थेगिमले गरेकी थिइन् ।