साउन महिना लागे सँगै इलाममा डेंगु संक्रमण बढ्न थालेको छ । डेंगु पढेसँगै जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई सचेत गराएको छ । प्रशासन कार्यालयले डेंगु नियन्त्रणका लागि पानी जम्ने स्थानका खाल्डाखुल्डी पुर्न, झुलको प्रयोग गरेरमात्र सुत्न, शरीर ढाक्ने किसिमका लुगा लगाउन, झ्यालढोका बन्द राखेर लाम खुट्टे पस्न नदिन सर्वसाधारणलाई अपिल गरेको छ ।
यसैबीच जिल्ला स्वास्थ्य कार्यालयले सरोकारवालाहरु सँगको अन्तक्र्रिया गरेर फैलिरहेको डेंगु संक्रमणका विषयमा जानकारी गराएको छ । कार्यालयका अनुसार अहिले सम्म जिल्लामा २० जनामा डेंगु संक्रमण पुस्टि भएको छ । गएको असार महिनामा चार र साउन महिना लागेपछि आज सम्ममा १६ जनामा डेंगु संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी विमल बरालले बताए ।
बरालका अनुसार इलाम नगरपालिकामा छ जना, सूर्योदय नगरपालिकामा छ जना, माई नगरपालिकामा चार जना, देउमाई नगरपालिकामा एक जना रोङ र माईजोगमाई गाउँपालिकामा दुई–दुई जनामा डेंगु पुस्टि भएको हो ।
स्वास्थ्य कार्यालयले जिल्लामा दशवटै पालिकाहरुमा डेंगु जाँच गर्न ‘डेंगु टेस्ट कीट’ पठाएको जनाएको छ । जिल्लामा सबै प्राथमिक स्वास्थ्य केन्द्र र प्रमुख स्वास्थ्य संस्थाहरुमा डेंगु जाँच गर्ने गरिएको बरालले जानकारी दिए । डेंगु नियन्त्रणका लागि भने इलाम नगरपालिकाले भोलि १९ गते इलाम बजार क्षेत्रमा अभियान चलाउने जनाइएको छ ।