म मास्टरी पेसामा सम्लग्न भएको पनि लगभग तीस वर्ष भयो। यस बिचमा मैले धेरै विद्यालय र कलेजहरूमा पढाएँ । सयौं शिक्षक र प्राध्यापकहरूसँग मेरो मित्रता भयो । हज्जारौं विद्यार्थीहरू पढाएँ। तिनीहरूका मस्तिष्कसँग खेलेँ । कतिलाई कुटेँ। कतिलाई माया गरेँ। थोरैले चित्त बुझ्दो गरी पढे । धेरैले मेरो र उनीहरू स्वयंको पनि समय बर्बाद गरे । म मेरो पेसासँग खास सन्तुष्ट हुन सकिनँ । हुन त मेरो मासिक तलबले जेनतेन घर खर्च चलेकै छ । छोराछोरी पढ्दैछन्। श्रीमतीसँग सम्बन्ध राम्रै छ । एक किसिमले लाग्छ यस्तै हो एउटा मास्टरको जिन्दगी । दश चार घोटियो महिना मरेपछि तलब लियो । दायाँ बायाँ सोच्यो भने झन् बढी टाउको दुख्छ ।
तर मास्टर पनि मान्छेजस्तै हुँदो रहेछ। मन बाँध्न नसक्ने । मेरो पनि मनको गाँठो कसिएन । सोचिरह्यो । बहकिरह्यो । मैले प्रयास गरेँ – जागिर खाऊँ । मैले जागिर खाएँ । जागिरले मन खायो ।
मैले अलि बढी सम्मान गर्ने गरेको भरत सरलाई भनेँ ।
‘भरत सर ! विद्यार्थी किन पढ्न मन गर्दैनन् ?’
उहाँले हाँस्दै भन्नुभयो ‘एउटै कार्यालयमा हाकिम र परिचर चाहिन्छ । सबैले बराबर पढे भने भोलि अप्ठ्यारो पर्दैन ? पढ्नेलाई पढाउनु पर्छ । नपढ्ने नपढोस् । हल्ला गरे चड्कन दिने बस् !
भरत सरले मलाई राम्ररी सम्झाउनु भयो । मेरो चित्त बुझेन।
भरत सर बुढो हुनुभयो र बुढै कुरा गर्नुभयो भन्ने मलाई लाग्यो। मैले गीता मेडमलाई क्यान्टिनमा भेटें । उहाँ मासु चिउरा खाइरहनु भएको थियो । उहाँको छेउमा तीन चार जना साना बच्चाहरू उहाँतिरै टुलुटुलु हेरिरहेका थिए। मलाई असजिलो अनुभव भयो ।
‘खेल्न जाओ नानी हो ! बेल लाग्ने बेला भइसक्यो।’
मैले नानीहरूलाई बाहिर पठाएँ।
‘मेडम नास्ता गर्दै हुनुहुन्छ ?’
आफ्नो अगाडि उत्तर देख्दादेख्दै मैले प्रश्न गरेँ।
‘आज कुन जटिल प्रश्नले गाँठो पार्ने विचार गर्नुभयो सर ?’
उहाँले मलाई प्रतिप्रश्न गर्दै मजाले हाँस्नु भयो।
‘सिकाइ भनेको के हो ?’
मैले चना र चिया मगाउँदै मेडमलाई प्रश्न गरेँ।
गोरो अनुहार, मिलेको नाक, कलाकारले सजाएजस्ता ओठ निर्धक्क बोल्ने स्वभाव । उहाँको छुट्टै पहिचान थियो विद्यालयमा ।
‘गीता मिस तपाईंको —- ‘
मैले केही भन्न खोजेको देखेपछि उहाँले रोक्दै भन्नुभयो ।
‘मलाई फुर्क्याउनु पर्दैन सर । तपाईंको प्रश्नको उत्तर दिन्छु ।‘
उही चिरपरिचित हाँसो हाँस्दै मेडम बोल्न थाल्नुभयो ।
‘म पढेको कुरा भनूँ कि बुझेको कुरा ?’
‘बुझेको कुरा भन्नू न ।‘ मैले कुनै भूमिका नबाँधी भनेँ ।
‘सिकाइ भनेको व्यवहारमा परिवर्तन भनेर हामीले पढ्यौँ । तर व्यवहारमा यो शब्दको चाङभन्दा बढी केही भएन । बालक भरियाजस्तो । किताबमा भएको शब्दको भारीलाई उत्तरपुस्तिकासम्म पुर्यायो भने ज्यालाको रूपमा प्रमाणपत्र पाउँछ ।‘
उहाँको जबाफले मलाई सोच्न बाध्य बनायो ।
निराजन तिम्सिना शिक्षक सेवा आयोगबाट स्थायी भएर केही दिन अगाडि मात्र विद्यालयमा हाजिर हुनुभएको थियो । उहाँको जोस, जाँगरबाट विद्यालयमा केही हुन्छ कि भन्ने अरूलाई जस्तै मलाई पनि लागेकै थियो । सुरुमा मैले उहाँको व्यक्तिगत हालचाल सोधेँ र त्यसपछि शिक्षासँग सम्बन्धित प्रश्नहरू गरेँ । उहाँ बोल्न रुचि देखाइरहनु भएको थिएन भन्ने कुरा उहाँको अनुहारबाट स्पष्ट बुझ्न सकिन्थ्यो ।
‘हामी बुढाहरूलाई तपाईँहरूले दाउनु पर्छ सर अब’
मैले छलफलको सुरुवात गरेँ ।
‘म त यो दाम्लो जोतारो चुँडाएर भागूँ जस्तो लाग्न थालिसक्यो।‘
उनी असाध्यै दुःखी देखिए ।
‘कुन जङ्गलमा फसियो फसियो । न फर्किने बाटो छ,न अगाडि बढ्ने ।‘
उनी झन्डै रोए ।
एक हप्ता अगाडि सेवा प्रवेश गरेका शिक्षकमा यस्तो निराशा देखेर अलिअलि नमिठो पनि लाग्यो।
‘तपाईंहरूले त शिक्षा क्षेत्रमा धेरै गर्नु छ । यसरी आत्तिनु भएन नि ।‘
हाम्रो कुराकानी सुनिरहनु भएका एक जना शिक्षकले भन्नु भयो ।
‘यहाँबाट पन्ध्र बीस लाख जम्मा भएपछि युरोप छिर्ने हो । केही नलागे निजामती सेवामा प्रवेश गर्ने हो। मास्टरीको भविष्य छैन। तलबबाहेक सुको कमाइ हुँदैन । तलबले खान लाउनै पुग्दैन।
उनी निकैबेर बोले । निराशा पोखे। उनको ‘तलब बाहेकको कमाइ’ शब्दले मलाई सामान्य पीडा दियो। मैले थप प्रश्न गरिनँ |
विद्यालयबाट मेरो घरसम्मको दुरी बढीमा दुई किलोमिटरमात्र छ। म प्राय: पैदलै यात्रा गर्छु । म घर फर्किँदै गर्दा मेरो अगाडि कक्षा १२ मा पढ्ने ४/५ जना केटाहरू गफ लाउँदै आफ्नै सुरमा हिंडिरहेका थिए ।
मेरो उपस्थितिले उनीहरूको कुराकानी नरोकियोस् भन्ने अभिप्रायले मैले अरूतिर ध्यान दिएजस्तो अभिनय गरेँ । कुराकानी रोकिएन ।
‘कक्षा १२ सकेर के गर्ने हो केटा हो ?’
एउटाले ठुलै स्वरमा सोध्यो। जबाफ फरक फरक आए ।
‘म त कोरिया छिर्ने हो। १२ पास गरिन्छ जस्तो लाग्दैन । ई.पी.एस. परीक्षाको तयारी गर्दैछु ।‘
मैले उसको अनुहार हेरेँ । पछाडिको भागमात्र देखियो । चार पाँच प्रकारको रङ लगाएको लामो केश चुल्ठो पारेर बटारेको थियो । बोलीमा उछृङ्खलता झल्किन्थ्यो ।
‘१२ पास गरिएछ भने खरिदार बन्ने विचार छ । मैले जागिर खाइन भने बाबु आमाले मेरो गिदी खान्छन् ।‘
मोटो स्वर भएको दुब्लो केटाले केही सानो स्वरमा भन्यो । मैले उसलाई चिहाएँ । पछाडिबाट खासै असुहाउँदो देखिएन ।
‘भोकले आफू पनि मर्छस् छोराछोरी पनि मार्छस् ।‘
गलल्ल हाँस्दै एउटाले भन्यो । ऊसँगै निकै स्वाद मानेर अरू पनि हाँसे ।
‘खरिदारले देश हल्लाइदिन्छ कुरै बुझेको छैनस् ।‘
ऊ पनि टेर्ने स्वभावको रहेनछ । अघिल्लो पटक बोलेकोभन्दा चर्को स्वरमा उसले भन्यो ।
‘देश हल्लाएर के गर्छस् भान्सामा डाडु पन्यु हल्लाउन पुग्दैन ।‘
फेरि सबै गलल हाँसे । खरिदार बन्छु भन्ने केटो अलि अँध्यारियो । उसले थप तर्क गरेन ।
‘कतार मलेसिया कतै जानुपर्ला । आफ्ना बाबुको टुप्पी ऋणले पहिले नै बिकिसकेको छ । । अझ आमा त बिहे गरेर मात्र विदेश जा भन्छिन् । एउटीसँग ख्यालख्यालैमा लभ पर्यो । छिटो बिहे गरौँ नत्र बाबुले अरूतिर बिहे गरिदिन्छन् भन्न थाली ।‘
केटाहरू फेरि हासेँ । जगटेले उत्ताउलिँदै चिच्याए जस्तै गरी भन्यो ।
‘बिहे गरेर विदेश जा । फर्केर आउँदा –
बडी हाप
बुढी टाप
सम्पत्ति झ्याप।‘
बिहे गर्छु भन्ने केटो एकाएक चुप लाग्यो । अरू असभ्य ढङ्गले हाँसे । अर्काले आफ्नो योजना सुनायो । बोल्दै गर्दा बिचबिचमा ऊ मलाई फर्केर हेर्दै थियो ।
‘अब पाइएछ भने बोडिङ्तिर मास्टरी गर्ने । आठ दस लाख जम्मा गरेर जापानतिर उड्ने हो । यो पनि भएन भने ऋण काडेर कतार जाने पैसा कमाएर फेरि जापान सेटल हुने। पढेर काम छैन । आज यहाँ गोर्खाली वीरको कथा घोक्यो भोलि कहाँ गएर कसका खुट्टा मोल्नुपर्छ ।‘
उसले धेरै बोल्यो मैले सबै सुन्न सकिनँ ।
सायद म केही छिटो हिँडेँ । उनीहरूको नजिक पुगेँछु ।
एउटाले सङ्केत गर्यो । उनीहरूको कुराकानी जसरी पनि सुन्नु थियो । मैले थाहा नपाएको बहाना गरेँ ।
‘सर आफ्नै धुनमा छ सुन्दैन । सुने नि सुन्छ स्कुलमा पो सर त । बाटामा के को सर । कति डराउने यिनीहरूसँग ।‘
उसले आँट दिएपछि उनीहरूको आवाजको भोल्युम निकै बढ्यो ।
‘म अमेरिका जान्छु । स्टुडेन्ट भिसामा । उतै काम गर्दै कमाउने हो ।
‘तेरो त बुबा आमासँग पैसा टन्न छ र अमेरिकाको गफ गर्छन् आफू त गरिबको घरमा जन्मियो। भाग्य खोटो ।‘
‘बाबु आमाको रमाइलोले जन्मिएको के को भाग्यलाई दोष ?
उनीहरूको कुराकानी अश्लिलतातर्फ अगाडि बढ्यो । यही समयमा अर्को विद्यालयका दुई जना केटा समूहमा प्रवेश गरे ।
“धनी, गरिब, भाग्यको कुरा हुँदै थियो। कहाँ पुग्यो ?
एकजना नव प्रवेशीले सोध्यो। दोस्रो नव प्रवेशीले उसलाई जान्ने हुँदै भन्यो ।
‘हामी नेपाली सबै नोकर हौं। धनीका छोराछोरी अमेरिका पुगेर अर्काको काम गर्छन्। गरिबका छोराछोरी कतार मलेसियामा । ठाउँ मात्र फरक पेसा उही ।‘
सबैले सहमति जनाए । मेरो घर आइसकेको उनीहरूको थप कुराकानी सुन्न सकिनँ । म घर पुगेर ढल्किएँ । निदाएँछु ।
भयानक सपना देखेँ । ठुलो भूकम्प गयो । मेरो विद्यालय पूर्ण रूपमा भत्कियो । केटाकेटी पुरिए । बच्चाका आमाहरू छाती पिटिपिटी रोइरहेका थिए । शिक्षकहरू आत्तिएका थिए । धर्ती अझै कामिरहेको थियो । म घरतिर दौडिएँ । मेरो घर भएको ठाउँमा पहाड खसेको थियो । जीवनको कुनै चिन्ह थिएन । म भासिँदै गएँ । खुट्टा डुबे । पेट छाती गर्दै घाँटी डुब्यो । म झसङ्ग ब्युझिएँ ।
‘कक्षा १२ को नतिजा प्रकाशित ।‘
टेलिभिजनमा समाचार आइरहेको थियो ।
‘बाबा परीक्षामा किन यत्रो धेरै प्रहरी बन्दुक बोकेर बसेका ?’
मेरो सानो छोराले कक्षा १२ को परीक्षामा खटिएका प्रहरी टेलिभिजनमा देखेपछि मलाई आश्चार्य मान्दै सोध्यो ।
‘चिट चोर्छन् भनेर ।‘
म के भनूँ के भनूँ जस्तो लागेर अल्मलिरहेको थिएँ । उसकी आमाले उसलाई चित्त बुझाइन् तर मेरो चित्त बुझेन । विमानस्थलबाट हजारौँ क्विटल सुन भित्रिँदा नदेख्ने प्रहरी । देशको सिमाना दिनहुँ मिचिँदा थाहा नपाउने सेना प्रहरी । स्कुल जाँदै गरेका दुधे नानीहरू बलात्कृत हुँदा चाल नपाउने प्रहरी । १३|१४ वर्षका केटाकेटीलाई तर्साउन मेसिन गन बोकेर परीक्षा हल वरिपरि परेड खेल्नुपर्छ ?
मेरा एक जना मित्रले नानीले कक्षा १२ को परीक्षामा 4 GPA प्राप्त गरिन् भनेर ग्रेडसिटको फोटो सहित फेसबुकमा पोस्ट गरे ।
मैले कमेन्टमा ‘बधाई र शुभकामना’ लेखेर औपचारिकता निभाएँ । प्रत्यक्ष भेटेर बधाई दिने विचारले भोलिपल्ट म उनको घर गएँ। ढोका बाहिरै खोकेर मेरो आगमनको सूचना दिएँ। ढोका खुल्यो | नमस्कार आदान प्रदान भयो ।
आमा कुनामा सुत्नुभएको रहेछ । उहाँलाई खोकी लागिरहेको थियो । लगभग ३ वर्षको सानो छोरो मोबाइलमा भिडियो हेरिरहेको थियो। ऊ र उसकी श्रीमती आफ्ना मोबाइलमा केही हेरिरहेका थिए।
‘ नानीलाई प्रत्यक्ष भेटेर बधाई दिन मन लागेर आएको। 4GPA ल्याउनु सामान्य कुरा होइन । खोइ नानी ?’
कसैले नसोधीकन मैले म आउनुको औचित्य पुष्टि गरेँ।
‘ए नानी सोफी ! यता आऊ अङ्कल आउनु भएको छ ।‘
मेरो साथीले छोरीलाई बोलाए ।
‘आई एम बिजी ड्याड।‘
छोरीले आउने चेष्टा देखाइनन्। यता आमा खोकिरहनु भएको थियो ।
‘ए सोफू ! अलिकति तातो पानी देऊ न ।‘
आमाले नातिनीलाई अह्राउनु भयो । उहाँको स्वरमा पीडा र कमजोरी स्पष्ट सुन्न सकिन्थ्यो ।
‘आई एम नट योवर सर्भेन्ट । कति साहो किचकिच गरेको ।‘
सोफीले जवाफ लगाई । साथीले अप्ठेरो महसुस गरे । आफैँ तातो पानी ल्याएर आमालाई पिलाइदिए ।
मेरा साथी आफैँ भित्र पसे र के भने मलाई थाहा भएन । बाबा छोरी दुवैजना बाहिर आए। छोरीलाई मैले बधाई दिएँ उनले मेरो अनुहार नहेरी ‘थ्याङ्क यु भनिन्’ र पुन: भित्र पसिन् ।
म लगभग एक घन्टा बसें । सानो छोरो मोबाइलमा एकोहोरिरह्यो । सोफीले प्रमाणपत्रमा पाएको जी. पी.ए. र मैले उनको व्यवहार हेरेर दिन सक्ने जी पी ए मा ठुलो अन्तर आयो ।
‘छोरीलाई के पढाउने विचार गर्नु भएको छ ?’ मैले सोधेँ ।
‘नेपाल बसेर काम छैन सर। अमेरिका पठाउने विचार गर्दैछु ।‘
अमेरिका शब्दलाई विशेष जोड दिँदै साथीले जबाफ दिए ।
‘अहिले सानी पनि छिन् । कम्तीमा स्नातक गरेर पठाउँदा हुँदैन ।‘
मैले नमागेको सल्लाह दिएँ । मित्र पत्नी अँध्यारिइन् ।
भित्रवाट चर्को आवाजमा सोफीले भनी ।
‘यस्तो खातेहरूको देशमा कोही बस्छ ।‘
मलाई सहन निकै गाह्रो भइसकेको थियो ।
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’
‘आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् छन् भनिन्छ छोरी । देशलाई सामान्य ठान्नु हुँदैन ।’
मलाई रिस उठेको थियो सायद । लगभग घर थर्किने गरी भनेँ ।
‘मलाई बासी पुराण सुन्ने रहर छैन ।’
उसले तिरस्कार र विरोध मिश्रित आवाजमा मलाई जवाफ फर्काई ।
मैले प्रसङ्ग बदलें ।
‘तपाईंहरू दुवै जना जागिरे । सानो बाबू कसलाई छोडेर काममा जानुहुन्छ ?
‘मित्रले सजिलो गरी भने ।
बिहान सात बजे चाइल्ड केयर सेन्टरमा पुर्याइदिन्छौं। बेलुका ६ बजेतिर गएर घर ल्याउँछौ। अहिले पैसा भए जे हुन्छ सर । उनको आवाजमा केही जितेजस्तो अनुभूति गर्न सकिन्थ्यो ।
मलाई केही अप्ठ्यारो लाग्यो ।
म एक घण्टा बस्दा बाबुले मोवाइलभन्दा बाहेक केही हेरेको थिए। राती सुत्छ । दिनमा चाइल्ड केयर सेन्टरमा जान्छ । केही ठुलो भएपछि बोडर्स बस्ला । ऊ कति बेला बुबाआमासँग बिताउँछ ? अनेकौँ प्रशनको भारी लिएर म बाहिर निस्किएँ ।
मेरो अर्को साथीको छोराले पनि परीक्षा दिएको थियो । उनले फेसबुकमा केही लेखनन् । उनी पनि सानातिना कुरा पोस्ट गरिरहने मान्छे हुन् भन्ने मलाई थाहा थियो। विनायोजना म उनको कोठामा तिर लागेँ ।
‘यसले काम दिंदैन । दुई विषय फेल गरेछ । आर्तनाद ढोकाबाट बाहिरिंदै थियो म मित्र पूसें।
मेरो उपस्थितिले कोठामा सन्नाटा छायो। श्रीमान-श्रीमतीले एक अर्कालाई हेराहेर गरे। श्रीमतीले नमस्कार फर्काइन्। श्रीमान्ले आएर हात मिलाए।
छोरो किचनमा सब्जी काट्दै रहेछ । उसले मेरो अगाडि आएर शिर झुकाएर नमस्कार गर्यो। उसका. आँखा सुन्निएका थिए सायद रोएर होला ।
‘किन निराश देखिनु हुन्छ ? कोही बिरामी हुनुहुन्छ कि ?’
मेरो नजिकको साथी भएकोले मैले यति सोध्ने आँट गरेँ । उमेरले मभन्दा ६ महिना जति कान्छा थिए उनी। कहिलेकाही दाजु भन्थे कहिले नामबाट बोलाउँथे ।
आज मैले मेरो साथीको शरीरलाई राम्ररी नियालें। झ्यास्स दाह्री पलाएको । केश नकोरेको । दाँत नमोलेको । जीवनमा पहिलोपल्ट हारेजस्तो देखिएका थिए उनी । प्रत्येक भेटमा छोरो नर्सरीदेखि बोडर्स राखेको । माहिनाको चालिस पचास हजार शुल्क बुझाउने कुरा उनी गर्वसाथ सुनाउँथे । उनको अनुहारको त्यो चमक आज देखिएन ।
उनकी श्रीमती अनुहारमा खासै राम्री होइनन् तर अत्यन्त मिजासिली छन् । मैले धेरै पटक उनका हातको चिया पिएको छु । उनी आज तेल सकिएको बत्तीजस्तो धिपधिपमात्र गरिरहेकी छन् जस्तो मलाई लाग्यो । मैले छोरालाई खोजेँ ऊ त्यहाँ थिएन तर एकैछिनमा हातमा चिया बोकेर आयो र मेरो अगाडि राखिदियो।
उसका दुवै गालामा आँसुका घेराहरू देखिन्थे ।
मैले सोधें ।
‘बाबु रिजल्ट किन बिग्रियो ? राम्रो पढ़िएन कि के हो ?´
प्रश्न सोधिसकेपछि मलाई लाग्यो नसोधेको भए हुन्थ्यो । उसलाई सान्त्वना दिएर उसको पीडामा उत्साहको मह्लम लगानुपर्थ्यो। एकपटक खेल हार्दैमा खेल सकिँदैन भन्नुपर्थ्यो । एकपटक ठेस लाग्दैमा यात्रा रोकिँदैन भन्नुपर्थ्यो। मलाई मेरो बोलीले घोच्यो। बोली र गोली उस्तै रहेछन् भन्ने लाग्यो ।
छोराले बोल्न नपाई बाबुले आँसु पुछ्दै भन्यो ।
‘म त गरिब मान्छे । सम्पत्तिको नाममा यही एउटा छोरो । जीवनभरिको कमाइले पुगेन । गाउँको पुर्ख्यौली सम्पत्ति बेचेँ । सुकुम्बासी भएँ । मेरा रहरहरू पोको पारेर बोडिङ्को दराजमा थन्क्याएँ । मेरो पसिनाले त्यसको फूलबारीमा सिचाइ गरेँ । मेरो सपनाको बगैंचा उजाडियो ।‘
उसको बोली लर्बरिएको थियो । सुरुमा ऊ रुन्छ भन्ने लागेको थिएन । तर रोयो । हृदय गाँठो पारेर रोयो। उसकी श्रीमती केही भन्न खोज्दै थिइन् उसले बोल्न दिएन ।
‘मलाई बुबाआमाले चाहेजति पढाउन सकेनन् । छोरालाई मेरो साटो पनि पढाउने मन थियो तर पढेन । अहिले पचास वर्षको भएँ । डेरामा बास छ । श्रीमतीलाई एक जोर राम्रो लुगा दिन सकिनँ । म एउटा असफल छोरो,असफल बाबु र असफल पतिबाहेक केही बन्न सकिनँ ।‘
ऊ त डाको छोडेर रुन थाल्यो । ऊसँगसँगै श्रीमती र छोरो पनि रुन थाले ।
‘बाबु एउटा परीक्षा फेल हुनु भनेको जीवनको ब्रेक फेल हुनु होइन। तिमीले मिहिनेत गर्नुपर्छ। गाडीका इन्जिनहरू कस्नुपर्छ । सर्भिसिङ गर्नुपर्छ र फेरि सफलताको यात्रामा निस्किनु पर्छ ।‘
मैले उसको केश सुम्सुम्याउँदै भनेँ। ऊ मलाई समाएर रोयो ।
‘जसोतसो म त्यो चक्रव्युहवाट निस्किएँ ।
यी फेल पास छुट्याउने न्यायाधीसहरूलाई नजिकबाट हेर्न मन लाग्यो मलाई । यिनीहरूको अनुहार कस्तो होला ? बच्चाको व्यवहार कहिल्यै मूल्याङ्कन गरेनन्। परिस्थिति हेरेनन्। समस्या हेरेनन् | समाधानको बाटो देखाएनन्। तीन घन्टा लेखेको उतरपुस्तिका पुस्तकको उत्तरसँग दाँजे । अनि पास र फेलको टिका लगाइदिए। उनीहरूले लगाइदिएको रातो टिका कतारको गर्मीमा पसिनाले बगायो । उनीहरू रङ बेचेर रङ्गिन भए । हामीहरू रङ घसेर पनि रङ्गहीन भयौँ ।
म आँसु नझारीकन रोएँ। बाटोमा हिँडेका सबै मानिएको अनुहारमा मैले मेरो साथीलाई देखें। मलाई हिँड्न गाह्रो भयो । बल्लतल्ल घर पुगेँ ।
मेरी श्रीमती ढोकामा उभिएर मेरो बाटो हेरिरहेकी थिइन्।
‘कति ढिलो गर्नु भएको ? कहाँ जानु भएको थियो ?
उनले दुईवटा प्रश्नहरू एकैसाथ गरिन् । मैले जवाफ दिन नपाई आफैँ भनिन्। तपाईंको साथीले अहिले भर्खर आत्महत्या गरे अरे । ‘छोराले फेल गरेको भन्दै बाबुले आत्महत्या गरे ।‘ भनेर फेसबुकमा लेखेको छ उनले दस सेकेन्डमा भनिन् तर मलाई दस जन्म निको नहुने घाउ लाग्यो ।