इलाम अस्पतालमा डेङ्गु, ज्वरो र स्कपटाइफसका विरामीको संख्या दिनदिनै बढ्न थालेपछि इमरजेन्सीमा वेड अभाव भएको छ । इमरजेन्सीमा आएका विरामीहरुलाई वेड अभाव हुँदा भुईमै राखेर पनि उपचार गरिरहेको जनाएको छ ।
अहिले दैनिक जसो ७० देखि ८० जनाको संख्यामा इमरजेन्सीमा विरामीहरु आउने गरेको इमरजेन्सी इन्चार्ज टीका लुईंटेलले जानकारी दिए । डेङ्गु, स्कपसाइफस र भाइरल ज्वरोका विरामीको निकै चाप रहेको लुईंटेलले बताए । ‘अस्पतालमा राखेरै उपचार गर्नुपर्ने अवस्थाका विरामीलाई भुईंमै भएपनि उपचार गरिरहेका छौं ।’ लुईंटेलले भने ‘जीउ दुख्ने, हातखुट्टा करकर खाने, आँखाका दाना दुख्ने, प्रेसर कम हुने, ज्वरो अत्यधिक आउने लक्ष्यणहरु हुन्छ ।’
अस्पतालको ओपीडिमा पनि दैनिक तीन सय ७५ जना सम्म विरामी आउने गरेको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए । ‘इमरजेन्सीमा जम्मा ११ वटामात्र वेड छन् । इमरजेन्सीमै आएका विरामीलाई वेड नपुगेपछि भुईंमै राखेर पनि सेवा दिइएको छ ।’ व्यवस्थापक खतिवडाले भने ‘ओपीडिमा पनि विरामीको संख्या थामि नसक्नु छ । जसोतसो यहाँको जनशक्तिले धान्नु परेको छ ।’ खतिवडाका अनुसार गएको साउन महिना र भदौ १० गते सम्ममा जाँच गराउने आउने मध्ये ४१ जनामा डेङ्गु पुष्टि भएको छ । सोही अवधिमा २४ जनामा स्कपटाइफस देखिएको छ । यी मध्ये डेङ्गुका दश जना र स्कपटाइफसका पाँच जना विरामी भने अस्पतालमै भर्ना भएर उपचार गराएका छन् । आज मात्र पनि २२१ जनाको परिक्षण गर्दा १८ जनामा डेङ्गु संक्रमण पुष्टि भएको खतिवडाले बताए ।
यति धेरै विरामीको चाप रहेपनि उपचार गर्न आउनेलाई अस्पतालमै उपचार गरिरहेको र अन्यत्र रेफर भने गर्नु नपरेको जनाइएको छ । जिल्लामा अहिले सम्म २०३ जनामा डेङ्गु संक्रमण पुस्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।