एमालेको जीत सुनिश्चितः ज्ञवाली

  आवाज संवाददाता

इलाम।नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले इलाम क्षेत्र नं. २ मा एमालेको जीत सुनिश्चित भएको बताएका छन् । उनले भने, ‘रत्न, बम वान्तावा र थुप्रै योद्धाहरुको रगत बगेको इलामको यो पवित्र भूमिमा अरु कसैले अपवित्र बनाउने कुरा कल्पना गर्न सकिन्न, यसैले एमालेको जीत अपरिहार्य र सुनिश्चित छ ।’
उनले एमालेलाई चौतर्फी घेराबन्दीमा पारिएको विगतको चुनावमा समेत एमालेले विजय हासिल गरेकाले अहिलेको परिवर्तित परिस्थितिमा एमालेको सहज जीत हुने पनि बताए ।
नेकपा एमाले इलामले आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै ज्ञवालीले एमालेले राष्ट्रियताको पक्षमा गरेका आन्दोलन, मुलुकको विकास र युवाहरुको पक्षमा गरेको कार्यले पनि एमालेको उम्मेदवारले जीत्ने उनले बताए । उनले पार्टी सही, जनाधार बलियो र उम्मेद्वार उपयुक्त भएकाले एमालेका उम्मेद्वार सुहाङ नेम्बाङको जीत सुनिश्चित भएको दोहोर्याए ।
कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य नबिना लामाले द्वन्द्व रुपान्तरण, शान्ति संझौता र संविधान निर्माणमा सुवास नेम्बाङले खेलेको भूमिका इतिहासको स्वर्ण अक्षरमा लेखिने बताएकी छिन् । युवाहरुको माग युवा भएकाले पनि पार्टीले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको उनले बताइन् ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको गएको भदौं२६ गते निधन भएपछि हुन लागेको उपनिर्वाचनमा एमालेले सुहाङ नेम्बाङलाई उम्मेद्वार बनाएको छ ।
नेकपा एमालेका उपाध्यक्ष उदय राईको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार