इलाम– नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा र नेपाल परिवार दलका साझा उम्मेदवार सुहाङ नेम्बाङले इलाम क्षेत्र २ को विकास–समृद्धिमा आफू सधैं प्रयत्नरत रहेको बताएका छन् ।
उनले विशेषगरी भेडेटार–रवि–राँके, दमक–रवि–चिसोपानी, राँके–गैंडे, आत्मानन्द मार्ग र पवित्रहाङमा मार्गलाई प्राथमिकतामा राखेको मतदातासँग बताइरहेका हु्न् ।
‘यी सडक इलाम क्षेत्र २ को विकास र समृद्धिका लागि महत्वपूर्ण पूर्वाधार हुन्,’ सुहाङले क्षेत्र २ का मतदातासँग घरदैलोक्रममा भनिरहेका छन्, ‘कतिपय सडक पूरा हुने तयारीमा छन्, कतिपयको काम धमाधम हुँदैछ, हामी सबै योजना अवश्य पूरा गर्नेछौं ।’
यसअघि इलाम क्षेत्र २ बाट विजयी एमाले नेता सुवासचन्द्र नेम्बाङ तथा २०७४ सालको निर्वाचनमा क्षेत्र २ (२) बाट विजयी प्रदेशसभा सदस्य धिरेन शर्मा रमणलगायत नेताहरूले यो क्षेत्रको विकासका लागि बनाएका योजना आफूले पूरा गर्ने प्रतिबद्धता सुहाङले गरेका हुन् ।
‘यो क्षेत्रका कतिपय ठाउँमा अझै सडक लैजान बाँकी छ, बिजुली बाल्न बाँकी छ, स्वास्थ्य सुविधा नागरिकलाई चाहिएको छ, शिक्षा सर्वसुलभ बनाउनु छ,’ उम्मेदवार सुहाङ भन्दैछन्, ‘क्रमसः सबै क्षेत्रको विकास र सेवाको विस्तारमा म लाग्नेछु, मेरो पार्टी लाग्नेछ । म पूरा गर्नै नसक्ने सपना मतदातालाई बाँड्दिनँ । तर, तपाइँ–हामी सबैको सहकार्य भयो भने पूरा गर्न नसकिने पनि के रहन्छ र ?’
सुहाङ स्थानीयका माग, आवश्यकता र चाहना के छन् भन्नेबारे आफू धेरै हदसम्म जानकार रहेको तर उनीहरूका सुझाव लिन आफू खाली कागज बोेकेर हिँडेको बताइरहेका छन् ।
‘स्थानीयका धेरै आवश्यकता त थाहा छ तर मैले देखेकामात्रै पूर्ण नहुनसक्छन्,’ उनी मतदातालाई भन्दैछन्, ‘म खाली कागज बोकेर आएको छु, तपाइँहरूका आवश्यकता, समस्या, चाहना र मैले, मेरो पार्टीले पूरा गर्नुपर्ने जिम्मेवारी के–के छन्, यही कागजमा टिपाइदिनुुहोला ।’
मतदाताबाटै उनीहरूका वास्तविक सुझाव लिएर जनमुखी काम गर्न चाहेको सुहाङ बताउनेगरेका छन् ।
२ नम्बर क्षेत्रका प्रायः चुलाचुली, माङ्सेबुङ गाउँपालिकाको चुनावी घरदैलो अभियानमा स्थानीयले सडक, पुल, भवन, कृषि, पर्यटन, धार्मिक पर्यटन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा आफूहरूलाई सुविधा दिन माग गरिरहेका छन् ।
‘एमाले नेता सुवासचन्द्र नेम्बाङले जुन–जुन योजना थाल्नुभएको थियो, कम्तीमा ती काम पूरा भइदिँदा पनि २ नम्बरको विकासमा ठूलो परिवर्तन आउँछ,’ उम्मेदवार सुहाङलाई मतदाताले भनिरहेका छन्, ‘विशेषगरी सडक, कृषि र स्वास्थ्य क्षेत्रमा अझै पूर्वाधार विकास गर्न जरुरी छ, थालिएका काम व्यवस्थित र पूरा गर्नसक्दा राम्रो हुन्छ ।’
सुहाङसहित एमाले, माओवादी, नेकपा र नेपाल परिवार दलको संयुक्त चुनावी घरदैलो टोली चुलाचुली र माङ्सेबुङको चुनावी घरदैलो अभियान सकेर आज (वैशाख १) देखि फाकफोकथुम गाउँपालिका प्रवेश गर्दैछ ।
वैशाख १५ मा हुने इलाम २ को उपनिर्वाचनका लागि चुनावी घरदैलो जारी रहेको हो ।
२०७९ सालको निर्वाचनको चुनावी अंकगणितका आधारमा सुहाङ क्षेत्र २ मा करिब ११ हजार मतले अरू उम्मेदवारभन्दा अघि छन् । यसपटक भने सुहाङलाई एमालेमात्र नभई माओवादीलगायत थप तीन दलको समेत समर्थन छ ।