निर्वाचनको परिणाम पछि पुन: मतदाताकाे घर आँगानमा सुहाङ

  आवाज संवाददाता

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा विजयी भएका नेकपा एमालेका सुहाङ नेम्बाङ पुन: मतदाताको घरदैलाेमा पुगेका छन् । मतदाताहरुलाई धन्यवाद दिनका लागि नेम्बाङ मतदाताहरुको घर आँगानमा पुगेका हुन् ।

म‌ंगलबार निर्वाचन कार्यालयबाट  निर्वाचितको प्रमाण पत्र लिएर इलाम सदरमुकाममा आयोजित विजय सभाबाट इलामबासी प्रति धन्यवाद ज्ञापन गरेका उनी बुधबार विहानैदेखि इलाम नगरपालिका र देउमाई नगरपालिकाका विभिन्न वडाहरुमा पुगेर धन्यवाद दिइरहेका छन् ।

गएको भदौंमा संविधान सभाका अध्यक्ष एवं यस क्षेत्रका सांसद सुवासचन्द्र नेम्बाङको निधन भएपछि बै‌शाख १५ गते भएको उपनिर्वाचनमा उनकै छाेरा सुहाङलाई नेकपा एमालले उम्मेदवार बनाएको थियो । एमालेका उम्मेदवार सुहाङलाई नेकपा माओवादी केन्द्र नेपाल कम्युनिष्ट पार्टी विप्लव  र नेपाल परिवार दलले समेत सहयोग गरेको थियो ।

नेम्बाङले निकटतम् प्रतिद्वन्द्वी नेपाल कांग्रेसका डम्बर खड्कासँगको ५८ सय ३० मतको अन्तरले विजय प्राप्त गरेका थिए । नेम्बाङले २७ हजार ७७२ मत ल्याएका थिए भने खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए ।

इलाम क्षेत्र नम्बर २ मा कूल मतदाता १ लाख १५ हजार ८८९ रहेकोमा ६९ हजार ३७४ मतदाताले मतदान गरेका थिए । यस मध्ये ९०२ मत बदर भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार