मानव बेचबिखन बिरुद्ध जनचेतनामुलक भिडियो “सचेतना” सार्वजनिकिकरण

बिराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरद्वारा निर्मित महिला हिंसा तथा मानव वेच बिखन बिरुद्ध जनचेतनामुलक भिडियो “सचेतना” को आज कार्यक्रमका प्रमुख अतिथि माननीय सामाजिक विकास मन्त्री पाँचकर्ण राईले कोशी प्रदेश प्रहरी कार्यालयको सभा हलमा आयोजित एक कार्यक्रमका बिच सार्वजानिकिकरण गरेका छन् ।

सामाजिक विकास मन्त्रालयको सहयोगमा कोशी प्रदेश प्रहरी कार्यालयद्वारा निर्मित भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दैं मन्त्री राईले समाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको लागि महिला हिंसा तथा मानव बेचबिखनको बास्तविक घटनालाई उजागर गरी चेलिबेटीलाई प्रलोभनमा पारी बिभिन्न मुलुकहरुमा बेचिने गरेको तितो सत्यलाई छर्लङ्ग पारी समाजमा सचेतना फैल्याउन संदेशमुलक भिडियो निर्माण गरेकोमा प्रदेश प्रहरी कार्यालयलाई धन्यवाद ब्यक्त गरे । उनले गाउँ गाउँमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरी आम नागरिकमा चेतना फैल्याउने कार्य निरन्तर संचालन गर्न र त्यस्ता अपराधीहरुलाई प्रविधि समेतको प्रयोग गरी कानुनि दायरामा ल्याउन उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । उनले अपराध नियन्त्रणको लागि यस्ता प्रकारका सचेतनामुलक कार्यक्रम संचालन गर्न प्रदेश सरकारको सदैव साथ र सहयोग रहने कुरा समेत बताए ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले प्रमुख अतिथि लगायत उपस्थित सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नुका साथै सम्पुर्ण कलाकारहरुलाई समेत विशेष धन्यबाद व्यक्त गरेका थिए। उनले गाउँ घरमा गरिबी र बेरोजगारीका कारण सोझा सिधा दिदी बहिनीहरूलाई कसरी ललाई फकाई बेचबिखन गरिन्छ भन्ने भिडियोमार्फत सन्देश दिन खोजिएको बताए । अपराध रोकथाम तथा नियन्त्रणको जिम्मेवारी पाएको नेपाल प्रहरीले सामुदाय प्रहरी साझेदारीको माध्यमद्वारा यस्ता बिभिन्न सचेतनामुलक कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्दै आईरहेको व्यहोरा समेत अवगत गराउनु गराएका थिए। उनले प्रदेश प्रहरी कार्यालयले निर्माण गरेको जनचेतनामुलक भिडियो “सचेतना” सबैले सेयर गरी गाँउ घर सम्म  पुर्‍याई जनचेतना अभिबृद्धि गर्ने कार्यमा सहयोग गर्न सम्पुर्णमा अनुरोध समेत गरेका छन् ।

उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी गण बिराटनगरका गणपति प्रहरी उपरीक्षक भीमबहादुर दाहाल, सिनियर तथा जुनियर प्रहरी अधिकृत सहित प्रहरी कर्मचारीहरुका साथै संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार