महमाईमा पाेल ढल्दा पूर्वी पहाडका विद्युत गृह बन्द

  आवाज सम्वाददाता

 

इलाम। यो साताको वर्षे बाढीका कारण काबेली कोरिडोरको तीन वटा विद्युत पोलमा क्षति भएपछि पूर्वी पहाडमा रहेका विद्युत आयोजना बन्द भएका छन् ।

इलामको महमाईमा माई खोलाको कटानका कारण काबेली कोरिडोरका विद्युत पोल ढलेपछि इलाम, पाँचथर र ताप्लेजुङमा सञ्चालित विद्युत आयोजना बन्द भएका हुन् । पुरानो १३३ केभी प्रसारण लाइनलाई मर्मत गरेर विद्युत सेवा सञ्चालन गरिएको छ ।

यसका लागि इलाममा रहेको पुवाखोला जलविद्युत आयोजना मात्र सञ्चालन गरिएको विद्युत प्राधिकरण इलामका प्रमुख बिजुलीप्रसाद यादवले बताए । काबेली कोरिडोरको विद्युत पोलमा क्षति भएपछि इलाममा रहेका १६ वटा, पाँचथरमा रहेका दुई र ताप्लेजुङमा रहेका सात विद्युत आयोजनाको विद्युत उत्पादन ठप्प भएको छ ।

यी तीन जिल्लामा करिब २५० मेगावाट विद्युत उत्पादन भइरहेको थियो । विद्युत उत्पादन ठप्प हुँदा त्यसबाट आयोजनाले पनि करोडौँको क्षति व्यहोर्नु परेको आयोजनाका प्रतिनिधिले जनाएका छन् ।

काबेली कोरिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डमा पर्ने ५०, ५१, ५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति गरेको दुहबी ग्रिडका प्रमुख रोशन खड्काले बताए ।

खड्काका अनुसार बाढीले ५१ र ५२ नम्बर टावरमा पूर्ण क्षति गरेको छ । त्यस्तै, ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको छ । यसबाट कति आर्थिक क्षति भयो भन्ने त हिसाब नै गर्नुपर्ने अवस्था रहेका बताइएको छ ।

तत्कालका लागि भने पुरानो अर्थात् १३३ केभी प्रसारण लाइनलाई सञ्चालनमा ल्याएर सबै जिल्लामा पुगाएको खड्काले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार