एमालेको जिल्ला अधिवेशन कातिक २९ र ३० मा, अध्यक्षको आकांक्षी बराल, भट्टराई र दुलाल


इलाम।इलामको मौसम चिसिदो छ । तर, राजनीतिक सरगर्मी भने ठीक विपरित तातिदै गएको छ । नेकपा एमालेको जिल्ला अधिवेशन नजिकिदै गएकाले राजनीतिक सरगर्मी तातिदै गएको हो । अधिवेशन नजिकिदै जाँदा एमालेभित्र नेतृत्व चुन्ने र चुनिने वहस पेचिलो बन्दै गएको छ । अन्य दलहरुमा पनि एमालेको अधिवेशन र भावी नेतृत्वप्रति उत्तिकै चासो देखिन्छ । यसैले इलामको चिसिदै गएको मौसमलाई चुनौति दिँदै राजनीतिक माहोल तातिदो छ । उपनिर्वाचनका कारण टाँगिएको एमालेको ११ औं जिल्ला अधिवेशन कार्तिक २९ र ३० गते सदरमुकाममा हुँदैछ ।

नेकपा एमालेले अहिले सरकारको नेतृत्व गरिरहेको मात्र नभएर इलाममा एमाले सबैभन्दा ठूलो पार्टी हो । यहाँको धेरै स्थानीय तह र प्रतिनिधिसभाको दुवै निर्वाचनमा एमाले जितेको छ । यसले गर्दा पनि एमालेको यस पटकको अधिवेशनलाई जिल्लामा चासोका साथ हेरिएको छ । यति मात्र नभएर मिशन ८४ मा जिल्लाको १० स्थानीय तह चार प्रदेश र दुई प्रतिनिधि सभाको निर्वाचनमा पार्टीलाई जिताउने भूमिकामा पनि यही नेतृत्व रहने भएकाले पनि यस पटकको अधिवेशनलाई चासो र महत्वका साथ हेरिएको हो ।

१० मध्ये छ वटा स्थानीय तहहरुको अधिवेशन सम्पन्न भइसकेको र चार वटा स्थानीय तहको अधिवेशन जिल्ला अधिवेशनअघि नै सक्ने तयारी भइरहेको छ । अधिवेशन सम्पन्न भएका छ पालिका मध्ये इलाम नगरपालिका, सन्दुकपुर र चुलाचुली गाउँपालिकामा निर्वाचन भएको थियो भने सूर्योदय र देउमाई नगरपालिका तथा रोङ गाउँपालिकामा भने सहमतिमा नेतृत्व चयन भएको थियो ।

जिल्ला अधिवेशनका लागि कात्तिक २१ गते सबै पालिकाबाट एकै दिन प्रतिनिधि चयन हुने छन् । १० हजार ४ सय ९१ पार्टी सदस्यबाट ६ सय बढी प्रतिनिधिहरु चुनिने छन् । उनीहरु मार्फत जिल्लाको नेतृत्व चुन्ने र चुनिने छन् ।

निर्वाचन हुने संभवना 
प्रतिनिधि चयन हुनु पूर्व पदाधिकारीसँगै सदस्य पदका आकांक्षीहरु धेरै देखिएका छन् । आकांक्षीहरुले व्यक्तिगत रुपमा नेतृत्व र कार्यकर्ता बीच दौडधुप र सम्पर्क बढाएका छन् । आकांक्षीको संख्या धेरै देखिएकाले सर्वसम्मत रुपमा नेतृत्व चयन हुने संभावन कम देखिन्छ । पाँच पदाधिकारी सहित एक सय २५ सदस्य कमिटीका लागि आकांक्षीहरुको दौडधुपले निर्वाचननै हुने देखिन्छ ।

अध्यक्ष पदका लागि तीन जना आकांक्षी रहेको चर्चा छ । आयोजक कमिटीका हालका अध्यक्ष गणेश बराल, नरेन्द्र भट्टराई र डा. देवी क्षेत्री दुलाल अध्यक्षका आकांक्षी रहेका छन् । भट्टराई हाल केन्द्रीय सल्लाहकार समितिका सदस्य हुन् भने डा. दुलाल जिल्ला सचिवालय सदस्य हुन् । दुलाल १० औं अधिवेशनमा पनि अध्यक्षको उम्मेद्वार थिए । उनी महेश बस्नेतसँग फराकिलो अन्तरले पराजित भएका थिए । पार्टी स्रोतका अनुसार अहिले तीन जनाले आकांक्षा राखे पनि भट्टराई र दुलाल एकै टीमका भएकाले दुई मध्ये एक जना अध्यक्षको उम्मेद्वार बन्ने छन् । १० औं जिल्ला अधिवेशनमा एकमत रहेका केन्द्रीय सदस्य तथा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगर र इलाम क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सदस्य तथा निवर्तमान अध्यक्ष महेश बस्नेत बीच अहिले एक मत छैन । जिल्लामा उनीहरु निकटको दुई गुट रहेको स्रोतको दाबी छ । त्यसको प्रतिविम्ब छ वटा पालिकाहरुको अधिवेशनमा समेत देखिएको बताइन्छ ।

यसरीनै उपाध्यक्ष पदमा पनि झण्डै आधा दर्जन आकांक्षी देखिएका छन् । उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष उदय राई, सचिव उमेश गुरुङ, सचिवालय सदस्य तथा माई नगरपालिकाका वडाध्यक्ष बुद्धि खनाल र जिल्ला सदस्य रमेश राई आकांक्षी रहेका छन् । टीमगत रुपमा उपाध्यक्षमा पनि अन्तिम समयसम्ममा दुई जना मात्र उम्मेद्वार बन्ने संभावना पनि रहेको छ ।

यसरीनै सचिव पदका लागि वर्तमान उपसचिव रबिन्द्र सुवेदी र वर्तमान जिल्ला सदस्य तथा कार्यालय सचिव प्रकाश अधिकारी आकांक्षी रहेका छन् । अधिकारी अघिल्लो अधिवेशनमा उमेश गुरुङसँग सचिवमा पराजित भएका थिए ।

महिला र खुल्ला गरी उपसचिवको दुई पदका लागि आधा दर्जन आकांक्षी चर्चा छन्। वर्तमान उपसचिव विष्णुमाया आचार्य, रोङ गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया भूजेल, फाकफोकथुमकी पूर्व उपाध्यक्ष सरु राई, जिल्ला सदस्य छवि श्रेष्ठ, नुनुमा राई, मनकुमार बराईलीको चर्चा छ । यसरीनै जिल्ला सदस्यमा पनि केही भूगोल र कही क्वष्टरहरुमा सर्वसम्मत भए पनि आकांक्षीहरु धेरै भएकाले निर्वाचननै हुने देखिन्छ ।
नेतृत्वले भने कम्तिमा पनि पदाधिकारीमा भए पनि सर्वसम्मत गरेर जाने प्रयत्न गरिरहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार