इलामले विकासमा फड्को मार्दैछ: प्रमुख बस्नेत

नगर प्रमुख महेश बस्नेत

इलाम जिल्लाको सदरमुकामसमेत रहेको इलाम नगरपालिका २०१५ सालमा स्थापना भएको हो । साविक नगरपालिकामा वरिपरिका साविक गाविस जोडेर अहिले यहाँ १२ वटा वडा कायम गरिएको छ । पर्यटनको प्रचुर सम्भावना बोकेको यो नगर अहिले विभिन्न पूर्वाधार विकासले पनि पर्यटक आकर्षित गर्नतिर केन्द्रित छ । २०५४ देखि ०५९ सालसम्म नगरपालिका प्रमुखको रुपमा निर्वाचित भएका तत्कालीन नेकपा (एमाले)का महेश बस्नेत नै अहिले पुनः नगरपालिका प्रमुखका रुपमा छन् । नयाँ आयामसहितको विकासका काम गर्न रुचाउने नेताका रुपमा छवि बनाएका बस्नेतसँग नगरको विकास–निर्माणबारे इलामस्थित संवाददाता कोकिला ढकालले गरेको कुराकानीको अंश:

नयाँ संवैधानिक व्यवस्थाअनुसारका स्थानीय तहमा जनप्रतिनिधि चुनिएर आएको ३ वर्ष बित्यो । यो अवधिमा इलाम नगरपालिकामा विकासका के काम भएका छन् ?
३ वर्षको अवधि त्यति लामो होइन । पहिला स्थानीय सरकार सञ्चालनको आधार तयार गर्न कानुन निर्माण आवश्यक थियो । नेपालको संविधान (२०७२)को अनुसूची ८ का २२ वटा एकल अधिकार तथा अनुसूची ९ मा व्यवस्था गरेका साझा अधिकार व्यवस्थित गर्न कानुन निर्माण जरुरी थियो । नगरपालिकाले अहिलेसम्म ८६ भन्दा बढी ऐन, नियमावली र कार्यविधि निर्माण ग¥यौं । त्यसपछि नगरक्षेत्रको भौतिक संरचना निर्माण, पुनर्निर्माणका काममा लागेका छौं । सडक पूर्वाधार, खानेपानी, खेलकुद, पर्यटन, पर्यावरण, कृषि, स्वास्थ्य, शिक्षा, सिँचाइलगायतका धेरै काम भएका छन् । विशेषगरी पूर्वाधार र सामाजिक विकासका कामलाई नगरले सँगसँगै अघि बढाएको छ ।

नागरिकले विकास अनुभूत गर्नेगरी कस्ता काम भए त ?
इलाम नगरपालिका जिल्लाको सबैभन्दा पुरानो नगरपालिका हो । र, जिल्लाको सदरमुकाम पनि यहीं छ । साविक नगरपालिकामा वरपरका ६ गाविस मिसिएर अहिले १२ वटा वडा भएको छ । साविक नगरपालिका र गाविस हुँदा सबै वडासँग सदरमुकाम जोड्ने भरपर्दाे सडक थिएन । अहिले बाह«ै महिना यातायात सञ्चालन हुनेगरी सडक स्तरोउन्नति भएको छ । प्रत्येक वडा कार्यालयमा सेवाग्राहीले कसरी सेवा पाएका छन् भन्ने विषयलाई नगरपालिकाबाटै हेर्न सक्नेगरी प्रविधिको विकास गरिएको छ । आवश्यकताअनुसार कालोपत्रे सडक, ग्राभेल सडक, साना तथा ठूला खानेपानी योजना, सिंचाइ योजनालगायतका धेरै उल्लेख्य काम भएका छन् । स्थानीय आवश्यकताअनुसार कतिपय योजना निर्माण सम्पन्न हुने क्रममा छन् । वडा कार्यालयका भवन बनेका छन् । इलाम नगरपालिका कार्यालयको भवन बनेको छ । त्यतिमात्र होइन, सदरमुकाममा नागरिकको चहलपहल बढाउन सिटीमार्ट निर्माण अन्तिम चरणमा छ । नगरपालिकाकै समन्वयमा बहुतल्ले बसपार्क र सिनेमा घर बन्दैछ । यी उदाहरणमात्र हुन् । समग्रमा भन्नुपर्दा नगरले विकासमा फड्को मार्दैछ ।

इलाम नगरपालिकामा सबैभन्दा बढी समस्या खानेपानीको छ । नगरले खानेपानी र फोहोर व्यवस्थापनमा कस्तो सुधार ग¥यो ? के काम गर्दैछ ?
इलाम सदरमुकामको मुख्य समस्या खानेपानीकै थियो । हामीले चुनावका बेला पनि यही समस्यालाई मुख्य मानेर जसरी पनि समाधान गर्छौं भन्ने प्रतिबद्धता गरेका थियौं । भइरहेकै मुहान व्यवस्थापन र केही थप गर्दा अहिले खानेपानी पर्याप्त नै छ । त्यतिमात्र होइन, अहिले एसियाली विकास बैंकसँगको सहकार्यमा इलाममा सहरी खानेपानी विस्तार हुँदैछ । करिब ५४ करोड रुपैयाँ लगानीको खानेपानी निर्माणमा नगरपालिकाले नगर विकास कोषमा २० करोड हाराहारी रकम ब्याजका रुपमा तिर्नेगरी सम्झौता भएको छ । यो आयोजना बनेपछि सदरमुकामको वडा ६, ७, ८ र ९ मा आउँदो २० वर्षलाई खानेपानी पुग्छ । चौबीसै घण्टा धारामा पानी आउँछ । यस्तै, वडा १२ को सोयाकमा खानेपानी नपाएर गाउँ नै बसाइँ सर्न थालेको थियो । त्यहाँ भर्खरै नगरले २ करोड रुपियाँभन्दा बढीको लगानीमा डिप बोरिङ गरी खानेपानी आयोजना सम्पन्न गरेको छ । स्थानीय मुहानबाट त्यहाँ पानी ल्याउन थप आयोजना निर्माण गर्ने योजना पनि छ । यसैगर, वडा नम्बर १ मा नयाँ खानेपानी आयोजना, बरबोटेमा मान्द्रेनी खानेपानी आयोजना, गोदकसहित अन्य विभिन्न स्थानहरु ठूलादेखि साना खानेपानी आयोजनाहरु निर्माण भएका छन्, हुनेक्रममा छन् । नगरको सरसरफाइका लागि ल्यान्डफिल साइट निर्माण भएको छ । त्यतिमात्र होइन, नगरको फोहोर व्यवस्थापन गर्न कुहिने फोहोरबाट मल बनाउने गरिएको छ । यहाँबाट बनेको मल नगरबासीलाई केही प्रतिशत छुटमा विक्री गरिन्छ । तर, फोहोर नै नपुगेर अहिले मल बनाउन अभाव पो भएको छ ।

निर्वाचनताका तपाइँ र तपाइँको पार्टीले सर्वसाधारणसँग गरेको प्रतिबद्धता कति पूरा गर्नुभयो ?
निर्वाचनताका भोट माग्न जनताका घर–घरमा जाँदा बुझेका जुन समस्या थिए, जनताले दिएका सुझाव निर्देशन र जनताका अपेक्षा थिए, हामीले त्यसैलाई मार्गनिर्देशनका रुपमा लिएका छौं । हामी निर्वाचित हुनुलाई नै हामीले चुनावका बेला हामीले गरेको प्रतिबद्धताको अनुमोदन ठानेका छौं । त्यसैले कतिपय प्रतिबद्धता पूरा भइसकेका छन् । केही पूरा हुनेक्रममा छन् । जेहोस्, हामीले जे बाचा गरेका छौं पूरा गर्छाैं । नागरिकलाई ढुक्क रहन आग्रह गर्छु ।

साविकको नगरपालिका (इलाम बजार क्षेत्र) र पछि जोडिएका वडाहरुमा नगरले कसरी स्रोत, साधन परिचालन गरिरहेको छ ?
साविकको नगरपालिकाको जनसंख्या पछि थपिएका वडाको तुलनामा ७० प्रतिशतभन्दा बढी छ । इलाम बजार क्षेत्र र साविकको नगरबाट जति राजस्व संकलन हुन्छ, नगरको पूरा आन्तरिक आम्दानीको ७० प्रतिशतभन्दा पनि बढी छ । तर, हामीले स्रोत बाँडफाँटमा चाहिँ सबै वडालाई समान हिसाबले नै वितरण गरेका छौं । फरक यति छ, बजार क्षेत्रको आवश्यकता र साविकका गाविसहरुको आवश्यकत फरक छ । कतिपय गाउँमा सडक छैन, भएको सडक व्यवस्थित छैन । ती वडामा हामीले पूर्वाधारका धेरै काम गर्नुछ । अहिले जे आवश्यक छ, त्यो पूरा गर्दैजाने हो । जस्तै, बजार क्षेत्रको पनि वडा ७ मा एस्काभेटर लगाएर सडक खन्ने योजना चाहिँदैन । यहाँ सिटीमार्ट, बसपार्क र यस्तै संरचना आवश्यक छ । सुम्बेक, साखेजुङलगायत वडामा यस्ता संरचना अहिलेको आवश्यकता होइन । त्यहाँका आवश्यकता सडक, स्कुल भवन, सिँचाइ, स्वास्थ्य सेवा, कृषिको बजारीकरण, ब्रान्डिङलगायत नै हुन् ।

नागरिकको आधारभूत स्वास्थ्यप्रति नगरपालिकाले कस्तो कार्यक्रम गर्दैछ ?
हामीले नगरका सबै वडामा आधारभूत स्वास्थ्य उपचारको व्यवस्था मिलाउन स्वास्थ्य चौकी, नगर स्वास्थ्य केन्द्रहरु सञ्चालनमा ल्याएका छौं । अझ गर्भवती महिलाहरुको स्वास्थ्य र सुरक्षित मातृत्वका लागि थप कदम चालेका छौं । नगरपालिकाले नगर क्षेत्रभित्रका गर्भवती महिलाहरुलाई सुत्केरी गराउन इलाम अस्पताल ल्याउन र साखेजुङ्गमा रहेको बर्थिङ सेन्टरमा पु¥याउन निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गर्भवती महिलालाई स्वास्थ्य जाँचका लागि इलाम अस्पताल आउन समस्या भयो भनेर सबै वडाहरुमा घुम्ती सेवा मार्फत् स्थानीय स्वास्थ्य चौकीमै भिडियो एक्सरेको सेवा शुरु गरेका छौं । नगरपालिकाले तीन जनादेखि माथि बच्चा जन्माउने महिलाको स्वास्थ्य र बच्चाको पोषण सुरक्षाका लागि पाँच हजार रुपियाँसम्मको पोषण अनुदानको व्यवस्था गरेको छ । यसबाहेक चर्चामा रहेको मेडिकल कलेज स्थापनाका लागि जग्गा उपलब्धताका कामहरु भइरहेका छन् ।

शिक्षा क्षेत्रको अवस्था कस्तो छ ?
शिक्षामा आन्तरिक सुधार गरिएको छ । शिक्षा क्षेत्र सञ्चालन र व्यवस्थापनका लागि कानुन बनाइएको छ । सरकारी विद्यालय गुणस्तरीय बनाउन प्रतिभा विकास, सरकारी विद्यालयको अनुगमन, कमीकमजोरीमा सुधार, शिक्षकलाई तलबभत्ता उनीहरुको बैंक खातामा सोझै पठाउने व्यवस्था गरिएको छ । समग्रमा शिक्षामा असल कामको शुरुआत भएको छ । हामीले शिक्षा क्षेत्रमा जति प्रयास गरिरहेका छौं, त्यसको कतिपय सुखद् परिणाम अहिले तत्कालै देखिनेखालको मात्रै छैन । केही वर्षपछि देखिनेछ ।

अहिले कोभिड–१९ का कारण पर्यटन व्यवसाय धरासायी भएको छ । पर्यटन व्यवसायलाई उठाउन नगरपालिकाले कस्तो नीति लिएको छ ?
कोभिड–१९ को असरपछि पर्यटनको पुनर्जागरण गर्न र व्यवसायीलाई हौसला प्रदान गर्न हामी लागिपरेका छौं । राष्ट्र बैंकको मौद्रिक नीतिअनुसार अघि बढ्दै पर्यटन व्यवसायलाई जागृत गराउन खोजेका छौं । पर्यटकलाई घुम्ने स्थानको निर्माण गर्न संग्रहालयदेखि प्रतिमा स्थापना, पाटेनागी, दिदी–बहिनी झर्ना, सेतीदेवीमा ३ सय ८५ मिटरको झोलुङ्गे पुल, त्यसमा बञ्जी जम्प, प्याराग्लाइडिङ, रक क्लाइमिङजस्ता क्षेत्रहरुलाई विशेष प्राथमिकता दिएर काम भइरहेको छ । पर्यटकलाई इलाममा आकर्षित गर्न झापाबाट सोझै इलाम सदरमुकाम आउने द्रुतमार्ग निर्माणमा नगरले सहकार्य गरेको छ ।

प्रदेश र संघीय सरकारको समन्वय र सहयोग कस्तो छ ?
राम्रो छ । प्रदेश र संघको बजेटमार्फत् नगरले धेरै काम गरेको छ । तर, संघअन्तर्गतका सडक, सिंचाइअन्र्तगतका कार्यालयहरुले कतिपय काममा समन्वय नगर्दा समस्या हुने गरेको छ । यसबाहेक कृषिमा बीउबिजन अनुदान, टनेल, गाई अनुदान, हाते ट्रयाक्टर, माछा पोखरीलगायतका क्षेत्रमा नयाँ र प्रभावकारी कार्यक्रम भइरहेका छन् ।

जनप्रतिनिधि र कर्मचारीसँगको समन्वय कस्तो छ ?
जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध पनि राम्रो छ । हामी यहाँ २ वटा पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधि छौं । तर, हामीबीच सबै काम समन्वय, सल्लाह र सहमतिमै भएका छन् । नागरिकको काम गर्न यो फलानो र त्यो फलानो दल भन्ने छैन । सबैले एकताबद्ध हिसाबले नगरको काम अघि बढाएका छौं । कर्मचारीले पनि राम्ररी साथ दिनुभएको छ ।

तपाइँको कार्यकाल सकिँदा इलाम नगरपालिका कस्तो बनेको हुनेछ ?
इलाम नगरपालिका हामीले कल्पना गरेको मार्गमा निकै अघि बढेको हुनेछ । मध्यपहाडी क्षेत्रमा उपमहानगरपालिका बन्नसक्ने सम्भावना भएको नगर हो यो । र, अबको २ वर्षपछि इलाम नगरपालिका उपमहानगर बन्ने आधारको मध्यमागमा पुगेको हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार