जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरूले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएका छन्।
देउवा निवास बुढानिलकण्ठ पुगेका जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषद अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताहरूले कांग्रेसका शीर्ष नेतासँग एक घण्टा कुराकानी गरेका हुन्।
शुक्रबार अपरान्ह ५ बजेदेखि ६ बजेसम्म भेटवार्ता भएको हो। कांग्रेससँग मिलेर जाने विषयमा आज छलफल केन्द्रीत रहेको अध्यक्ष ठाकुरले बताए।
‘अहिलेको अवस्थामा सबै विषयमा कांग्रेससँग मिलेर जाने विषयमा छलफल भयो,’ ठाकुरले पत्रकारहरूसँग भने। पार्टीका नेताहरू जेलमा रहेको र उनीहरू छुट्नुपर्ने पनि छलफलमा कुरा उठेको उनले बताए।
‘अहिले केही सहमति भएको छैन। सबै मिलेर जाने भन्ने हो,’ उनले भने। जसपाले प्रधानमन्त्री लिन खोजेकोबारे ठाकुरले त्यो ‘सरप्राइज’ भएको प्रतिक्रिया दिए।
उनले माओवादी केन्द्रसँग पनि जसपाले छलफल गर्ने जानकारी दिए। ‘माओवादी केन्द्रसँग अब छलफल हुन्छ,’ उनले भने। नागरिकता सम्बन्धी समस्याहरू पनि समाधान हुनुपर्ने विषय जसपाले कांग्रेससँग राखेको छ।
‘सबैले मिलेर जाऔं भनेका छन्, ठिक छ मिलेर जाऔं हामीले पनि भनेका छौं,’ उनले भने।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस र जसपाबीच छलफल सकिएको बताए। ‘जसपाका पाँच जना नेताको उपस्थितिमा एउटा साझा धारणा बनाउने विषयमा सबैबाट मतअभिमत बनाउने विषयमा छलफल भएको छ। ठोस सहमति भइसकेको छैन,’ उनले भने।
राजनीतिले निकास लिनुपर्ने र त्यसका लागि कांग्रेस, माओवादी केन्द्र र जसपा एक ठाउँमा उभिनुपर्छ भन्ने धारणा जसपाबाट आएको पनि शर्मा बताउँछन्।
‘केही दिन प्रतिक्षा गर्नुपर्छ। संवाद सुरू भएको छ। पार्टीमा छलफल गरेर एउटा निश्कर्षमा पुग्छौं,’ उनले भने।
अहिलेको सरकारको विकल्प खोज्नेबारे कांग्रेस नेताहरूले जोड गरिरहेका छन्।
आजै बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा पनि यसबारे कुराकानी भएको थियो।
‘थप परिपक्कताको प्रतिक्षा गर्नैपर्छ,’ शर्माले भने, ‘कांग्रेसले एकै धारणामा उपर्युक्त ढंगले सोच निर्माण गरेर अगाडि बढ्छौं।’ सेताेपाटीले समाचार लेखेकाे छ ।