इलामका दिपक ४० वर्षपछि भारतको जेलबाट घर फर्कदै, शनिबार घर आइपुग्ने

४० वर्ष भारतीय जेल जीवन विताएका छाेराकाे ब्यग्र प्रतिक्षामा ८५ वर्षीया आमा धनमाया ।

इलाम।हराएको ४० वर्ष पछि भारतको कोलकत्तामा जेल जीवन बिताई रहेको अवस्थामा भेटिएका इलामको माई नगरपालिका १० का दिपक जोशी (तिम्सिना) घर आउने भएसँगै परिवारमा खुसी छाएको हो ।

बाल्यकालमै बेपत्ता भएका छोरा ४० वर्ष पछि जिवित पाउँदा ८५ वर्षीया धनमाया तिम्सिना खुसी छिन् । २०३७ साल माघमा पूरानो घर साविकको एकतप्पा गाविस हाल फाकफोकथुम गाउँपालिकाबाट मंगलबारे बजारको बुधबारे हाटमा तोरी बेच्न गएपछि सम्पर्कविहीन भएका छोरा जिउँदै आउला भन्ने धनमायाको मनमा छँदै थिएन ।

लामो समय अत्तोपत्तो नभएका छोरा जिउँदै रहेको र घर आउने खबरले खुसी भएकी हुन । उनी भन्छिन् ‘कमाउनका लागि घरबाट हिनेको छोरो घर आउँदा बुढेसकालमा आफूलाई सहारा भएको छ ।’ उनको बुझाई सुन्दा जेल भनेको सजाए दिने ठाउँ भन्ने छैन । धनमायाँको बुझाईमा जेल भनेको भारतमा आफ्नो छोराले पैसा कमाउन काम गर्ने ठाउँ सम्झेर छोरो ४० वर्ष पछि सम्पति कमाएर घर आउने आशामा छिन् ।

दिपकले घर छोडेपछि एकतप्पामा भएको जग्गा १० हजारमा बेचेर माई नगरपालिकाको चिसापानीमा आएर बसेको धनमायाँ बताउँछिन् । तोरी बेच्न बजार गएका दीपक शर्मा तिम्सिना चार दशक कहाँ, कुन अवस्थामा थिए भन्ने कसैले सुइँको पाएनन् । २०६९ सालमा ‘दीपक जैसी तिम्सिना’ ले पठाएको पत्र घरमा आयो । पत्रमा आफू संगम जेलमा रहेको उल्लेख थियो तर त्यो चिठ्ठी दीपकले नै पठाएका हुन् भन्ने परिवारलाई विश्वास भएन । तैपनि आएको चिठीको व्यहोराअनुसार खोजतलास गर्दा केही सूचना मिल्यो कि उनी पक्कै भारतको कुनै जेलमै छन् । तर कसरी, किन, कहिलेदेखि उनी जेल परे, अहिले उनी कहाँ छन् भन्ने यकिन गर्न पत्र आएको मितिले आठ वर्ष लाग्यो र जेलमा पुगेर भेटेरै आए । ठूलो बुबा भेट्न गएका दिपकका कान्छो भाईका छोरा गोपाल तिम्सिना भन्छन् ‘ भाषा पनि विर्सनु भयो होला भन्ने लागेको थियो तर कान्छो भाईको नाम केहो भन्दा धर्मे भन्नुभयो, माईलोको नाम के हो भन्दा केदारनाथ भन्नुभयो, अनि दिदी भन्दा दिदीको पनि नाम भन्नुभयो र आमाको भिडियो देखाउँदा हाँस्नुभयो नेपाल जानुहुन्छ भन्दा जान्छु अहिलै जान्छु भनेपछि पहिलो पटक ठूलो वूवा देखेको मलाई साह्रै नराम्रो लाग्यो । मेरो आँखामा आँशु आयो ।’

भारत कोलकाताको दमदम जेलमा रहेका दीपक करिब ४० वर्षअघिदेखि जेलमा रहेको अवस्थामा फेला परे । तर उनका परिवालाई भने के कारणले जेल परे भन्ने पत्तै छैन । घरबाट कमाउनका लागि हिँडेपछि दार्जिलिङको चिया कमानमा काम गरेको, त्यहाँ काम गर्दा उनलाई एक महिलाको हत्या अभियोग लागेकोसम्म परिवारले पत्ता लगायो । हत्याको अभियोग थियो भन्ने त थाहाँ भयो तर हत्या उनले गरे वा अरू कसैले गरेको हत्यामा उनी फसेका हुन् भन्ने पत्तै छैन ।

२०१७ सालमा जन्मिएका दीपकका बुबाको २०२४ सालमा निधन भयो । त्यसपछि गाईले हानेर आमा धनमायाको दाहिने हात छिन्यो । धनमायाँका चार छोरा तीन छोरी मध्ये दुई छोरा र एक छोरीको मृत्यू भै सकेको छ । भएका दुई छोरा र एक छोरी पनि मानसिक रोगको कारण अस्वस्थ छन् ।

जेल बसेका दिपक मानसिक रोगको चपेटामा छन् । घरमा रहेका कान्छा छोरा पनि मानसिक रोगको औषधि खाईरहेको उनका छोरा गोपाल बताउँछन् । धनमायाँकी छोरी पनि मानसिक रुपमा अस्वस्थ छिन् । कोलकातास्थित नेपाली वाणिज्य दूतावास, दीपकको मुद्दाबारे जानकारी भएका भारतीय कानुन व्यवसायी, स्थानीय सञ्चार संस्था, पत्रकार र नागरिक अगुवाहरूको पहलमा दीपक छुटेर शनिवार घर फर्कँदै छन् । उनलाई लिनको लागि परिवार शुक्रबार कोलकत्ता पुगिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार