रेडहर्ष एफसी साखेजुङ गोल्डकपको सेमिफाइनलमा

  आवाज संवाददाता

इलाम। इलामको रेडहर्ष एफसी यहाँ जारी साखेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा इलामकै पुवामझुवा स्पोर्टिङ क्लबलाई ५-१ गोलको फराकिलो नतिजाबाट पाखा लगाउँदै सेमिफाइनल प्रवेश गरेको हो । यो खेलसँगै सेमी समिकरण पनि पूरा भएको छ ।

इलामका माल्दिना आङथुपोले २ गोल गर्दा हरि सिटौला र कप्तान प्रदिप विष्टको नाममा १-१ गोल रह्यो । एक गोल पुवामझुवाको तर्फबाट आत्मघाती उपहार मिलेको हो ।खेलमा भएका ६ गोलमध्ये पहिलो हाफ र दोस्रो हाफमा समान ३-३ गोल भएको थियो । यसैबीच, आयोजकका लक्ष्मण राई सम्झनलायक गोल गर्दै टिमलाई सान्त्वना दिन सफल भए ।

खेलको म्यान अफ दी म्याच व्यक्तिगत २ गोल गरेका माल्दिना आङथुपो घोषितहुँदै नगद पुरस्कार पाउन सफल भए । मंगलबारदेखि सेमिफाइनल खेल हुनेछ । पहिलो सेमिफाइनल खेलमा तिनघरे युवा क्लबले फुङ्वा युवा क्लब फुएतप्पासँग प्रतिस्प्रर्धा गर्नेछ ।साखेजुङ फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिम सहभागी छन् ।

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ पाउँदा उपविजेताले नगद ५५ हजार ५५५ र ट्रफीमा चित्त बुझाउनेछ । प्रतियोगिताको मुख्य प्रायोजक इलाम नगरपालिका १ नम्बर वडा कार्यालय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार