१३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताकाे उपाधि सिंहदेवी मावि एकतप्पालाई

अन्तर मावि छनौट प्रतियोगिता

  गाेविन्द लामिछाने

इलामको फाकफोकथुम गाउँपालिकाको आमचोकमा मङ्गलवार सम्पन्न १३ आंै राष्ट्रपति रनिङ शिल्ड अन्तर मावि छनौट प्रतियोगिताको उपाधि सिंहदेवी मावि एकतप्पाले हात पारेको छ । विभिन्न विधामा भएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै सिंहदेवीले उपाधि हात पारेको हो ।
त्यस्तै राष्ट्रिय मावि कोल्बोटेले दोश्रो र जनकल्याण माविले तेस्रो स्थान हासिल गरेका हुन् । सिंहदेवी माध्यमिक विद्यालय आमचोकको खेलमैदानमा गाउँपालिकाका १० वटा माध्यमिक विद्यालयका छात्रछात्राले सहभागिता जनाएका थिए ।
प्रतियोगिताका प्रथम, द्वितीय, तृत्तीय तथा सहभागी विद्यालयलाई गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रामकुमार श्रेष्ठले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरे ।
पुरस्कार वितरण गर्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले खेलकुद क्षेत्रको विकास र विद्यार्थीको खेलप्रतिको लगावका लागि गाउँपालिकाले जस्तोसुकै सहयोग गर्ने बताए । शिक्षाका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद र स्वास्थ्यका लागि खेलकूद भन्ने मूल नारालाई सार्थक बनाउन आफूले सहयोग गर्ने विचार व्यक्त गरे । छोटो अवधिमा पनि उत्साहपूर्वक प्रतियोगिता सम्पन्न भएकोमा आफू हर्षित रहेको बताउँदै उनले आगामी वर्षदेखि प्रतियोगितालाई थप व्यवस्थित बनाउँछौं, उनले भने । गाउँपालिकाको तर्फबाट विद्यालयलाई खेलकूदका सामग्री वितरण गरिने समेत उनले प्रतिबद्धता जनाए । आगामी वर्षदेखि प्रतियोगितामा मार्सल आर्टसलाई समेत समावेश गरिने अध्यक्ष श्रेष्ठले बताए ।
प्रतियोगितामा एथलेक्टिक्स ट्रयाकतर्फ १००, २००, ४००, ८००, १५०० र ३००० मिटर र फिल्ड इभेन्टस तर्फ सटपुट, लङजम्प, हाइजम्प, त्रिपजम्प भएका छन् । त्यस्तैगरी भलिबल, कबडी जस्ता खेल भएका छन् । गाउँपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितालाई गाउँपालिकाबाट तीन लाख र सशर्त अनुदान एक लाख सहयोग रहेको शिक्षा शाखा प्रमुख मतापसिंह लिम्वूले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार