जनगणनाका लागि प्रशिक्षक प्रशिक्षण तालिम सुरु

राष्ट्रिय जनगणना २०७८

      इलाम । राष्ट्रिय जनगणना २०७८ का लागि प्रदेश नं १ स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । इलाम, पाँचथर, ताप्लेजुङ र झापाका गरी ८५ जनालाई प्रदेश नं १ कै भद्रपुर नगरपालिकास्थितनेपाल सामुदायिक विकास केन्द्र (NCDC)मा तालिम सुरु गरिएको हो ।

       तालिममा झापाका ४३, इलाम, पाँचथर र ताप्लेजुङका ४२ उच्च मावि, माविका शिक्षक, स्थानीय तहका शिक्षा अधिकारीहरू र अन्य अधिकृतहरू सहभागी रहेको जिल्ला जनगणना कार्यालय चन्द्रगढीका प्रमुख चुडामणि लुइँटेलले बताए । तालीम संयोजक केन्द्रीय तथ्यांक विभागका निर्देशक तथा जनगणना २०७८ का राष्ट्रिय प्रशिक्षक ज्ञानेन्द्र बज्राचार्यसहित छ जना प्रशिक्षक रहेका छन् । उनले विराटनगरमा १० जिल्लाका १७१ र भद्रपुरमा ८५ जनालाई तालीम दिइरहेको बताए ।

      उनका अनुसार प्रदेशस्तरीय मुख्य प्रशिक्षण तालीम यही चैत ९ देखि १५ गतेसम्म चल्ने, स्थानीय जनगणना अधिकारीलाई चैत १९ देखि २५ गतेसम्म प्रदेशस्तरीय तालीम प्रदान गरिनेछ । तालीम प्राप्त प्रशिक्षक अर्थात उनीहरुबाट नै सुपरीवेक्षकलाई वैशाख १६ देखि २२ सम्म र गणकलाई वैशाख १७ देखि २२ गतेसम्म जिल्लास्तरीय तालीम प्रदान गरिने बताए । राष्ट्रिय जनगणना २०७८ देशभरका नेपालीको घरदैलोमा निश्चित समयभित्र पुगी सबै घर, अक्सर बसोबास गरेका परिवार तथा व्यक्तिहरूको विवरण संकलन र संकलित विवरण प्रशोधन एवम प्रकाशन गर्ने बृहत राष्ट्रिय कार्यक्रम हो ।

     नेपालमा जनगणना १९६८ देखि सुरु भएको हो । २०७८ सालमा सञ्चालन हुने जनगणना नेपालको बाह्रौँ तथा देशको संघीय संरचनापछिको पहिलो जनगणना हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार