साउदीका सेना प्रमुख बर्खास्त

काठमाडौं । साउदी अरबले सेनाका उच्च अधिकारीहरुलाई बर्खास्त गरेको छ । बर्खास्तगीमा पर्नेमा सेना प्रमुखसमेत छन् ।

शाही निर्णयअन्तर्गत गएराति विभिन्न आदेश जारी गर्ने क्रममा हवाई फौज र रक्षा फौजका प्रमुखसहित उच्च सैन्य कमान्डरहरुलाई बर्खास्त गरिएको हाे ।

साउदी राजाले यस्तो कदम चाल्नुको कारणबारे भने केही बताइएको छैन ।

साउदीको यो निर्णयबारे साउदी प्रेस एजेन्सीले समाचार प्रकाशित गरे पनि कारण भने नखुलाएको बीबीसीले जनाएको छ ।

समाचारअनुसार यमनमा युद्धको तेस्रो वर्ष अन्त्य हुनैलाग्दा त्यही युद्धको नेतृत्व गरिरहेका सेनाका अधिकारीहरु हटाइएका छन् ।

साउदी अरेबियामा हालै भएका यस्ता निर्णयहरूको पछाडि रक्षामन्त्रीसमेत रहेका राजकुमार मोहम्मद बिन सलमानको भूमिका मुख्य रहेको ठानिएको छ ।

साउदीले सेनामा महत्त्वपूर्ण कदम चाले पनि हटाइएका सैन्य प्रमुख र उच्च अधिकारीहरुको स्थानको पूर्ति भने गरेको छैन । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार त्यसको पूर्तिका लागि प्रक्रिया अघि बढाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार