पूर्वीनाका काँकरभिट्टा भएर चालू आर्थिक वर्ष २०७७/०७८ को माघ मसान्तसम्ममा चार अर्व २२ करोड ७१ लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । जुन परिमाण बितेको आर्थिक वर्ष २०७६/०७७ को सोही अवधिको तुलनामा अलैंचीको निर्यात तेव्वर रुपमा वृद्घि भएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ ।
कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ को साउनदेखि माघ मसान्तसम्ममा यो नाका भएर एक अर्व ४७ करोड ७० लाख रुपैयाँको अलैंची निर्यात भएको थियो ।
भन्सार अधिकारीहरुले बताए अनुसार चालू आर्थिक वर्ष २०७७/०७८ को माघ मसान्तसम्ममा यो नाका भएर भारत, बंगलादेश, भुटान, चीन तथा तेस्रो मुलुकसँग हुने व्यापार नेपालको पक्षमा बलियो देखिएको छ । आयात भन्दा निर्यात बढी भएका कारण व्यापार नेपालको पक्षमा बलियो देखिएको भन्सार अधिकारीहरु बताउँछन् ।
त्यसैगरी चालू आर्थिक वर्षमा पहिलो पटक तिलको पिना निर्यात भएको छ । नेपालबाट ५ करोड रुपैयाँ मूल्यको पिना बंगलादेश निर्यात भएको हो । भन्सार प्रमुख अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार चालू आर्थिक वर्ष २०७७/०७८ को माघ मसान्तसम्ममा यो नाका भएर सात अर्व ९६ करोडको नेपाली मालवस्तु निर्यात भएको छ भने गतवर्षको सोही अवधिमा ६ अर्व ५७ करोड रुपैयाँका मालवस्तु आयात भएका थिए ।
सीटीसी चियाको निर्यातसमेत दोव्वररुपमा बृद्घि भएको छ । गतवर्ष यही अवधिमा एक अर्व ६३ करोडको सीटीसी चिया निर्यात भएको थियो । यो वर्षको माघ मसान्तसम्ममा दुई अर्व ५७ करोड ९४ लाख रुपैयाँको चिया निर्यात भएको छ । अदुवा गतवर्ष करिव साढे १४ करोडको निर्यात भएको थियो । यस पटक भने पौने १९ करोडको निर्यात भएको छ ।
गतवर्ष साढे तीन करोड रुपैयाँको बन्दाकोपी यो वर्ष भने साढे चार करोड रुपैयाँको निर्यात देखिएको छ । यसैगरी, गतवर्ष २२ करोड ६७ लाख बढीको अम्रिसोको कुचो निर्यात भएको थियो । साभार पूर्वाञ्चल अनलाइन