बिनाअदालती प्रक्रिया भारतीय जेलमा ४० वर्ष बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाको स्वास्थ्य परीक्षण सुरू भएको छ।विराटनगरस्थित विराट मेडिकल कलेजका चिकित्सकहरूले आइतबार उनको सामान्य स्वास्थ्य परीक्षण गरेका छन्। थप परीक्षण र उपचारका लागि उनलाई मेडिकल कलेजमा भर्ना गरिएको छ।
दुर्गाप्रसादको प्रारम्भिक स्वास्थ्य परीक्षण डाक्टर सुरू कोइरालाले गरेकी छन्। दुर्गाप्रसादको उपचारका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सरकारका तर्फबाट समन्वय गरिरहेका छन्। मेडिकल कलेजका सञ्चालक डाक्टर ज्ञानेन्द्र कार्कीले उनको उपचार नि:शुल्क गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
तिम्सिनासँगै उनको उपचारका लागि भतिज गोपाल तिम्सिना पनि विराटनगर आएका छन् । ‘आज डाक्टरहरूले दाँत, हातखुट्टाको सामान्य परीक्षण गर्नुभएको छ,’ गोपालले भने,‘अब भर्ना गरेपछि विस्तृतमा परीक्षण हुन्छ होला।’
हत्या मुद्दामा दार्जिलिङबाट पक्राउ परेका दुर्गाप्रसाद चार दशकसम्म अभियोग प्रमाणित नभइकनै जेलमा बस्नु परेको थियो। कलकत्ता उच्च अदालतको आदेशपछि चैत ७ गते उनी दमदम सेन्ट्रल जेलबाट रिहा भएका थिए। अर्को दिन नेपाल पुगेका उनले केही समयपछि नागरिकता लिएका थिए। उनको स्वास्थ्य उपचारको जिम्मा प्रदेश सरकारले लिएको छ।
दुर्गाप्रसादको मुद्दामा कलकत्ता उच्च अदालतमा सोमबार सुनुवाइ हुँदैछ। यसअघि अदालतले दुर्गाप्रसादले क्षतिपूर्ति पाउनु पर्ने बताएको थियो। प्रदेश सरकारले क्षतिपूर्तिका लागि पनि पहल गर्ने बताएको छ। सेताेपाटीबाट