प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङले अहिलेको राजनीतिक तरलता एक÷डेढ महिनाभित्रै सकिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आङबुहाङले पछिल्लो अस्थिर राजनीति हल हुने क्रममा रहेकाले यो समस्या लामो नजाने बताएका हुन् । उनले आफूले पार्टी परित्याग गर्दा संसद पद पनि जाने बारेमा जानकार रहँदा रहँदै माओबादी छाडेर एमालेतर्फ लागेको बताए । ‘एउटा दल परित्याग गर्दा संसद पद जान्छ । मलाइ थाहा भएकै कुरा हो ।’
आङबुहाङले भने,‘तर, पद भन्ने कुरा अस्थिर हो । विचार मुख्य हो ।’ आङबुहाङले आउँदा दिनमा प्रदेशमा घाटा वजेट नल्याउने बताए । घाटा वजेटकै कारण ऋण बढेकाले राजश्व बढाउनेतर्फ लागेको बताए । कार्यक्रममा पत्रकार महासंघ इलामका नवनिर्वाचित अध्यक्ष युवराज भट्टराई(विप्लव)ले आउँदा दिनमा प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न आफू प्रतिवद्ध रहेको बताए । उनले राजनीतिक तरलतालाई हटाउन पत्रकारले खेल्नु पर्ने भूमिका निर्वाह गर्न आफूहरु प्रतिवद्ध रहेको बताए । कार्यक्रमको सञ्चालन नेकपा एमाले कार्यालय सचिव नवराज शंकरले गरेका थिए । कार्यक्रमको अध्यक्षता एमालेका सचिवालय सदस्य एवम् जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले गरे । मन्त्रीले नवनिर्वाचित पत्रकारहरुलाई बधाइ समेत ज्ञापन गरेका थिए ।