कोभिड–१९ को संक्रमण पछि रोजगारीको अवसर खोज्दै इलाममा विभिन्न उद्योग तथा फाम दर्ता गर्ने क्रम बढेको छ । जिल्लामा गत वर्षको तुलनामा चालू आर्थिक वर्षको छ महिनामै फार्म दर्ताको संख्या बढी भएको घरेलु तथा साना उष्द्योग कार्यालय इलामले जनाएको छ ।
चालू आर्थिक वर्षको साउन देखि यता ६०४ उद्योग तथा फाम दर्ता भएका छन् । कार्यालयको तथ्याकं अनुसार कृषितर्फ ४९६, उत्पादनमूलक तर्फ १८, निर्माणका ४१, पर्यटनमा २९, सेवामूलक १९ र अन्यमा एक उद्योग दर्ता भएका छन् । यी उद्योग र फामको लगानी ९४ करोड रहेको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षमा भने ४६५ उद्योग दर्ता भएका थिए । कृषितर्फ ३९८, पर्यटनमूलक १०, निर्माणमा १७, सेवामूलक ३० र उत्पादनमूलकमा १० गरि ५१ करोड रुपैयाँको पुँजीमा ती फाम र उद्योग दर्ता भएका थिए । यो वर्ष भने विदेशबाट फर्किएका युवा र महिलाहरुले संख्यात्मक रुपमा बढी भएको कार्यालयका कर्मचारी युवराज घोर्र्सांइले बताए । घोर्सांइका अनुसार कृषितर्फ बाख्रा पालन, बंगुरपालन, तरकारी खेती लगायतका क्षेत्रमा उद्योगहरु दर्ता भएका छन् । उत्पादन मूलकमा दालमोड उद्योग, ग्रील, गुडिया बनाउने जस्ता उद्योग दर्ता भएका छन् । यस्तै सेवा मूलकमा सिलाइ कटाइ, व्युटीपार्लर जस्ता उद्योगहरु दर्ता भएको जनाइएको छ । कोभिड–१९ को संक्रमण बढे सँगै रोजगारी गुमेपछि धेरै युवाहरु स्वरोजगार बन्न उद्योग दर्ता गरिरहेको पाइएको घोसाईं बताउँछन् । महिलाका नाममा पुँजीको ५० प्रतिशत छुट र बैंकहरुले लगानी तीन र पाँच प्रतिशत व्याजदरमा लोनको व्यवस्था गरेकाले महिलाका नाममा अझ बढी उद्योग दर्ता भएको बताइएको छ ।
पछिल्लो समय आप्रबासी कामदारहरुका लागि जिल्लामा सुरक्षित आप्रवासन परियोजनाले पनि काम गर्दै आएको छ । परियोजना र मानव अधिकार मञ्च नेपालले अलगअलग पालिकाहरुमा युवाहरुलाई स्वरोजगार बनाउन पशुपालन, कुखुरा पालन, बंगुरपालन, अन्य घरेलु उद्योग तथा व्यवसायका लागि तालिम समेत दिइरहेको छ ।
‘सर्वप्रथम स्वदेशमै रोजगारीका लागि अनुरोध गर्ने, विदेश जानै परे सीप सिकेर दक्ष भएर मात्र जान सल्लाह दिने, वित्तीय साक्षरता कक्षा सञ्चालन गर्ने र वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको सामाजिक पुनःएकीकरण गर्ने जस्ता कामहरु गरिरहेका छौं ।’
परियोजनाका जिल्ला संयोजक इश्वरी तामाङले भने ‘अहिले धेरै युवाले आफैं स्वरोजागर बन्न विभिन्न उद्योग व्यवसाय पनि शुरु गर्नुभएको छ । स्वदेशमै उत्पादन मूलक काम थाल्नु र व्यावसायिक बन्नु सकारात्मक काम सुरु भएको छ ।’