अमर माविको भवन शिलान्यास

  आवाज संवाददाता

इलाम नगरपालिका–५, बरबोटेस्थित अमर माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ ।
१ करोड १८ लाख रुपैयाँमा ठेक्का लागेको भवन इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बिहीबार शिलान्यास गरे । अमर मावि संघीय सरकारको नमुना विद्यालय कार्यक्रममा छानिएको विद्यालय हो । यही कार्यक्रमअन्तर्गत आएको भौतिक पूर्वाधारको बजेटमा इलाम नगरपालिकाअन्तर्गत भवन निर्माण हुन लागेको हो । २ तल्ला रहने भवनको तल्लो तल्लामा ४ र माथिल्लो तल्लामा पनि चारै कोठा रहनेछन् ।
भवन शिलान्यास गर्दै प्रमुख बस्नेतले अमर माविलाई शिक्षाको गुणस्तर र भौतिक पूर्वाधारमा समेत देशकै नमुना बनाउन पहल गर्नुपर्ने बताए । ‘यो विद्यालयलाई नमुनाका रूपमा छनौट गर्न बरबोटेबासी, स्थानीय जनप्रतिनिधि र इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले विशेष पहल गर्नुपरेको थियो,’ उनले भने, ‘निकै सास्ती खेपेर यहाँ ल्याएको नमुना विद्यालय कार्यक्रम देशकै उदाहरण बनेको सुन्न पाइन्छ भन्ने लागेको छ ।’ उनले भवन निर्माणको काममा कुनै समस्या आए त्यसको सहजीकरण गर्न इलाम नगरपालिका तयार रहेको पनि बताए । ‘भवन प्राविधिक हिसाबले गुणस्तरीय बन्नुपर्छ, यसले शिक्षाको विकासमा सहयोग पु¥याउँछ,’ प्रमुख बस्नेतले भने, ‘तर, निर्माण पक्षलाई कुनै बाधा(अवरोध आए हामी त्यसको सहजीकरण र समाधान गर्नेछौं ।’ उनले अमर माविलाई नमुनामात्र होइन, असल नमुना विद्यालय बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे । ‘कतिपय मापदण्डमा अलि पछि रहेकाले पनि हामीले ती सबै काम पूरा गर्नु आवश्यक छ,’ उनले भने, ‘कार्यक्रमअन्तर्गत जे(जति नीति÷योजना संघीय सरकारबाट आउँछन्, तिनलाई हामीले आफ्ना आवश्यकताअनुकूल परिमार्जन गरेर लागू गर्नेछौं ।’ उनले विद्यालयको जग्गा साँघुरो भएको भन्दै त्यसका लागि पनि पहल आवश्यक रहेको जनाए ।
नमुना विद्यालयअन्तर्गत भौतिक पूर्वाधार निर्माण, शैक्षिक विकास र व्यवस्थापकीय काम हुनेछन् । तीमध्ये भौतिक पूर्वाधारमा ३ भवन, छात्रावास र घेराबारालगायतका कार्यक्रम छन् । विद्यालयका प्रधानाध्यापक सोम निरौलाले भौतिक पूर्वाधारको गुरुयोजना बनिसकेको र त्यसैअनुसार पहिलो भवन निर्माण सुरु भएको बताए । ‘५ वर्षसम्म चल्ने यो कार्यक्रम शैक्षिक, भौतिक, व्यवस्थापनलगायत सबै क्षेत्रको समग्र विकास गर्नलाई आएको हो,’ उनले भने, ‘२०७५ सालमा आएको कार्यक्रम पोहोर सुरु हुनुपर्ने भएपनि कोभिड–१९ का कारण स्थगित भएर अहिले थालिएको हो ।’ प्रधानाध्यापक निरौलाले नमुना कार्यक्रमले विद्यालयको समग्र शैक्षिक विकासमा सघाउने बताए । उनले विद्यालयको शैक्षिक विकासको गुरुयोजना निर्माण चरणमा रहेको पनि जानकारी दिए ।
यो भवन निर्माणका लागि १ करोड ९२ लाख रुपैयाँ आएको थियो । तर, त्रिवेणी कन्स्ट्रक्सनले यही आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी १ करोड १८ लाखमा ठेक्का लिएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द पौडेलले ठेक्का सम्झौताको कागजात बिहीबार नै निर्माण कम्पनीका प्रतिनिधि विक्रम कर्माचार्यलाई हस्तान्तरण गरे । अध्यक्ष पौडेलले विद्यालय भवन निर्माणले शैक्षिक गुणस्तर सुधारमा सहयोग गर्ने बताए । ‘विद्यालयको भौतिक पूर्वाधार राम्रो भएपछि शिक्षाको गुणस्तरमा सहयोग पुग्छ,’ उनले भने, ‘नमुना कार्यक्रमले शैक्षिक गतिविधिमा पनि टेवा पु¥याउने आशा छ ।’ उनले पनि भवनलाई गुणस्तरीय बनाउन निर्माण पक्षले ध्यान दिनुपर्ने भन्दै कुनै समस्या भए व्यवस्थापन समितिसँग राख्न आग्रह पनि गरे ।
वडा नम्बर ५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले वडामा शिक्षाको विकासमा सघाउन नमुना कार्यक्रम फलदायी हुने बताए । ‘वडामा निकै छलफल गरेर यो कार्यक्रम यहाँ ल्याइएको छ,’ उनले भने, ‘अब यो कार्यक्रमलाई प्रभावकारी बनाउने जिम्मा हाम्रो काँधमा छ ।’ विद्यालय व्यवस्थापन समिति सदस्य मनराज जबेगूले नमुना विद्यालयका कार्यक्रम अमर माविमा ल्याउन आफूहरूले निकै दुःख गर्नुपरेको सुनाए । उनले काठमाडौंसम्म पुगेर निकै प्रयास गर्दामात्रै यहाँ नमुना विद्यालय कार्यक्रम ल्याउन सफल भएको बताए । ७ सय हाराहारी विद्यार्थी रहेको अमर माविमा छात्र र छात्राको संख्या करिब आधा(आधा छ । ‘नमुना विद्यालय कार्यक्रमले विद्यालयको चौतर्फी विकास गर्ने र थप विद्यार्थीसमेत आकर्षित गर्ने आशा छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार