पात्रोमात्र नफेरियोस् समयको आओस् मुना नूतन
चर्केका सब घाउमा समयले लाओस् नयाँ लेपन
सत्ताको पदको हटेर धमिलो दुर्गन्ध जाओस् पर
कुर्सीको पुछियोस् लिसो सहजमै लोलूप जाओस् पर ।।
सम्याई भ्रमका दिवार चुँडियोस् आलस्यको जञ्जिर
धाऊँ उत्सवले परिश्रम-कुटी विश्वासको मन्दिर
साराको रिसरागको विगतको फाटोस् तुवाँलो खल
मायाको समभावको मिलनको कोशी बगोस् कल्कल ।।
बाढी भेल र रोगले, सलहले कैले डरायो मन
कैले देश दुःखी दुःखी कलहले कालो भयो आँगन
एकाकार हुने कुरा अलग भो रोएर पीडा धुन
पाएनन् कतिले वियोग पलमा आफ्ना अँगाली रुन ।।
वर्षियोस् जल शान्तिको विगतको धोएर कालो खुइ
हाँसून् फेरि छिया छिया हृदय ती सग्ला बनून् जोडिई
लैजा खोट सबै सतत्तर तँ जा सङ्लो नयाँ साल होस्
आओस् हर्ष फिरेर विश्व भरको आलोक नौलो छरोस् ।।
लैजा कोभिड अाै प्रदूषण हटा हावा तँ लैजा बरू
लैजा रोग र त्रासदी हृदयका चित्कार लैजा बरू
भत्काअौं अब मासियोस् कलुषको त्यो दम्भको रौरव
अस्ताऊन् अनि राक्षसी खलहरू हारून् सबै कौरव ।।
छन्द :शार्दूलविक्रीडित