सञ्चारमाध्यममा विश्वसनीय समाचार कम हुँदै गएको गुनासो

  आवाज संवाददाता

पछिल्लो समय सञ्चारमाध्यमहरू धेरै पनि विश्वसनीय समाचार कम हुँदै गएको भन्दै सरोकारवालाले गुनासो गरेका छन् ।
विशेषगरी अनलाइन पोर्टलहरूले विभिन्न घटनामा ‘वहकिना’ले समग्र पत्रकारिताको नै विश्वसनीयता गिरेको बताएका छन् । इलाम सदरमुकाममा आयोजित नयाँ बुलन्द डटकमको पाँचौ वार्षिकोत्सवको अवसरमा सरोकारवालाले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालले अब मिडियाले आर्थिक र विकास पत्रकारितामा कलम चलाउनु पर्ने सुझाब दिए । यस्तै, इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले पत्रकारितामा मात्र नभई अन्य क्षेत्रमा पनि विश्वसनीयताको खडेरी परेको बताए ।

     कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ इलाम शाखा अध्यक्ष युवराज भट्टराई (विप्लव)ले पत्रकारिताभित्र रहेका कमीकमजोरीलाई सुधारेर लैजाने प्रतिवद्धता व्यक्त गरे । यस्तै, कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ इलामका पूर्वअध्यक्ष सोमनाथ सुशेलीले सरकारको चौथो अंगका रूपमा मानिएको पत्रकारिता जगत्को विश्वसनियता कम भएको गुनासो गरे । पूर्वअध्यक्ष सुशेलीले पत्रकारको कार्ड समेत अन्य पेशाका मानिसले दुरुपयोग गर्ने गरेको बताए ।

      बाल संगठन इलामका अध्यक्ष नवराज शंकरले पछिल्लो समय जिल्लाको पत्रकारिता उद्घाटन, भाषण र शिलान्यासमा मात्र अड्किएको बताए । उनले भएका काम बाहिर ल्याउनु सही भएपछि अनुसन्धानात्मक समाचार कम भएको तर्क गरे ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का केन्द्रीय सदस्य ख्याम भुजेलले सनसनीपूर्ण समाचारले पत्रकारिताको जग विगारेको बताए ।
उनले पछिल्लो समय यस्ता समाचारको उल्लेखिय उत्पादन भएकाले पाठकले पनि विश्वसनीय स्रोतको समाचार मात्र प्रयोग गर्न आग्रह गरियो । कार्यक्रममा गैर सरकारी संस्था महासंघ (गैसस) इलामका अध्यक्ष कमल नेपाल, गोपाल पौड्याल, युद्धबहादुर बोहोरालगायतले बोलेका थिए । नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उप–सम्पादक अतित योङहाङले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार