कोरोना भाइरस (कोभिड–१९) को दोस्रो चरणको संक्रमण एक जनामा पुष्टि भएपछि इलाम स्थित कोभिड–१९ संकट व्यवस्थापन समितिले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
सूर्योदय नगरपालिका–११ का ६२ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको थियो । उनको झापाको विर्ता सिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । संक्रमित पुरुषको सम्पर्कमा पुगेका अन्य पाँच व्यक्तिको भने सोमबार स्वाब संकलन गरिने जनाइएको छ ।
समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काको अध्यक्षतामा आइतबार बसेको बैठले इलाम र झापाको सीमाना जोर कलशमा हेल्थ डेक्स राख्ने र इलाम प्रवेश गर्नेहरुको स्वास्थ्य परिक्षण गर्ने निर्णय गरेको छ । बैठकले सरकारले दोस्रो चरणमा सुरु गर्न लागेको कोभिड भ्याक्सिन आगामी वैशाख ७ गते देखि ११ गते सम्म लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए । ‘इलाम सदरमुकाममा दोस्रो चरणको खोप लगाउने संख्या बढी रहेकाले वैशाख ७ देखि ११ गते सम्म खोप लगाउने तयारी गरिएको छ ।’ प्रजिअ खड्काले भने, ‘अन्य पालिकाहरुमा वैशाख ८ र ९ गते खोप लगाइने छ ।’ प्रजिअ खड्काका अनुसार यसपटकको अभियानमा पहिलो चरणमा खोप लगाउनेले मात्र दोस्रो चरणको खोप लगाउन पाउने छन् । गत माघ १४ देखि २४ सम्म र फागुन २ देखि ११ गते सम्म खोप लगाउनेहरूलाई यो दोस्रो चरणको खोप लगाइने छ ।
इलाम नगरपालिका बाहेकका स्थानीय पालिकामा रहेका ४४ स्वास्थ्य चौकी र मंगलबारे, फिक्कल, पशुपतिनगर तथा प्याङ प्राथमिक स्वास्थ्य केन्द्रमा भने वैशाख ८ र ९ गते खोप लगाउने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन विमल बरालले जानकारी दिए ।
यता, नेपाल भारत आवतजावत गर्ने मुख्य नाका पशुपतिनगरमा भने स्वास्थ्य परीक्षण साथै एन्टिजेन र मलेरिया परीक्षणलाई कडाई गरिएको छ । यस्तै सीमा नाकाबाट आउने सबै यात्रुको अनिवार्य रेकर्ड राख्न लगाउने र भारतबाट नेपाल प्रवेश गर्ने यात्रुको अनिवार्य स्वास्थ्य परीक्षण गरी शंकास्पद देखिएका व्यक्तिको कोभिडको एन्टिजेन परीक्षण र मलेरियाको लागि आरडिटी परिक्षण गर्ने काम भइरहेको प्रजिअ खड्काले जानकारी दिए ।
बैठकले स्यानिटाइजर, मास्कको प्रयोग, सामाजिक दुरी कायम राख्न र स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना सबैलाई आग्रह गरेको छ । यसैबीच इलामको रोङ र माइ नगरपालिकामा कोभिड अस्पताल पनि सञ्चालनमा आएका छन् । एक जना एमबिबिएस डाक्टरसहितको स्वास्थ्यकर्मीको टोली अस्पतालमा रहेको छ । यसअघि कोभिड संक्रमणको शून्यमा भरेपछि बन्द भएका इलामस्थित आइसोलेसनलाई पनि पुनः तयारीमा राखिएको छ ।
पहिलो चरणको संक्रमणबाट भने २९६ जना संक्रमित भएका थिए । कोरोनाका कारण १३ जनाको मृत्यु भएको थियो । जिल्लामा गत पुस मसान्त सम्ममा ६९०५ जनाको पिसिआर परीक्षण गरिएको थियो ।