लामो समयदेखि भाडामा बस्दै आएको नेपाली कांग्रेस इलामले पार्टी कार्यालयका लागि भवन बनाउने गरी प्रकृया थालेको छ । कांग्रेसले जग्गा व्यवस्थापन र भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउन थालेको हो । जिल्ला कार्य समितिले जग्गा व्यवस्थापनसहित आर्थिक संकलन लगायतका लागि विभिन्न समिति बनाएर काम सुरु गरेको छ ।
जग्गा व्यवस्थापनको काम करिब अन्तिम चरणमा पुगिसकेको र अब भवन निर्माणका लागि आर्थिक संकलनको कामलाई तिब्रता दिन थालेको कांग्रेस इलामले जनाएको छ । इलाम नगरपालिका ७ मै पार्टीको भवन निर्माणका लागि जग्गा व्यवस्थापन भइसकेको हो । यसै क्रममा पार्टी जिल्ला कार्य समितिको भवन निर्माणका लागि दाताहरुबाट आर्थिक संकलन अभियान सुरु भएको हो ।
सो अभियानमा सबैभन्दा पहिला कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रेम दियालीले २१ हजार १ सय ११ रुपैंयाँ दिएर अभियानको शुभारम्भ गरेका छन् । दियालीले सो रकम पार्टीका जिल्ला सभापति हिमालय कर्मचार्यलाई हस्तान्तरण गरे । जिल्लामा रहेका ठूला पार्टीहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, संघिय समाजबादी पार्टी छन् । यी पार्टीहरू मध्ये नेकपा एमालेको बाहेक अन्य कुनैपनि पार्टीको आफनै भवन नहुँदा भाडाको घरमा पार्टीको गतिविधि सञ्चालन गर्दै आएको छ ।
पार्टीको भवन नहुँदा पार्टीका हरेक कामकाजमा समस्या आउने गरेको छ । यसैलाई मध्यनजर गरेर नै कांग्रेस पार्टीको आफनै भवनमा जुटेको हो । अब जग्गा व्यवस्थापनसँगै भवन निर्माणका लागि आर्थिक संकलन गरेर चाँडै भवन निर्माण गर्ने पार्टीका जिल्ला सभापति कर्मचार्यले बताए । भवन निर्माणका लागि दाताहरुबाट आर्थिक सहयोग गर्ने प्रतिवद्धता आउन थालेको जानकारी दिए ।