इलाम । नेकपा एमालेको नेतृत्व तहमा खटपट भएसँगै जिल्लास्तरमा समेत त्यसको प्रभाव पर्न थालेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललगायतलाई कारबाही गरेसँगै झाँगिएको विवाद जिल्लास्तरमा समानान्तर गठन सम्म पुगेको छ ।
प्रधानमन्त्री केपी ओलीसूग असन्तुष्ट रहेको यो समूहले गएको चैत्र २५ गते जिल्ला भेला गर्दै पुराना नेता भक्त केसीको संयोजकत्वमा ३ सय १ सदस्यीय जिल्ला कमिटी गठन गरेको थियो । नेकपा एमाललेलाई आफ्नो आधिकारिक मान्ने दुवै समूहका गतिविधि प्रष्ट देखिने गरि फरक भएका हुन् । नेपाल÷खनाल समूहले जिल्ला कमिटी विस्तारसँगै इलामको मालापथमा कार्यालय स्थापनाको तयारी थालेको छ । यस्तै एक सय एक सदस्यीय जिल्ला सचिवालय समेत गठन भएको कार्यालय सचिव मानवहादुर गुरुङले जानकारी दिए ।
जिल्लामा पार्टी पुनर्गठन सँगै विभिन्न जनवर्गीय र भातृ संगठनहरुको पुनर्गठन समेत भइरहेको सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेसँगै प्रभावशाली नेताहरु रहेको इलाममा ध्रुवीकरण सुरु भएको थियो । सर्वोच्चको पछिल्लो फैसलाले पार्टीलाई पुरानै अवस्थामा फर्काए पनि तिक्तता सतहमा आएको हो । परानो पार्टी कार्यालय ओली समूहले नै प्रयोग गर्दै आएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रधानमन्त्री ओलीको पक्षमा प्रष्ट देखिएका छन् ।
इलाम, माई र देउमाई नगरपालिकाका तथा चुलाचुली गाउँपालिकाका प्रमुखहरु प्रधानमन्त्रीकै पक्षमा देखिएका छन् । सूर्योदय नगरपालिका, सन्दकपुर र माईजोगमाई गाउँपालिकाका प्रमुखहरु भने खनाल÷नेपाल पक्षका गनिन्छन् । तत्कालीन नेकपाबाट निर्वाचित प्रदेश संसदहरुमध्ये रामवहादुर थापा र काजीमान कागते केपी ओली पक्षमा देखिएका छन् भने खिनु लङवा लिम्बू नेपाल÷खानाल प्यानलमा उभिएकी छिन् । अर्का संसद धिरेन्द्र शर्मा (रमण) माओवादीका हुन् । इलामका १० स्थानीय तहमध्ये रोङ, फाकफोकथुम र माङसेबुङमा नेपाली काँग्रेसको नेतृत्व छ ।