‘झुल्के घामको न्यायो सलाम भन्छ मेरो इलाम’ चर्चित गीतका गायक रगुन गुरुङले आफ्नो नयाँ गीति एल्बम ‘आफ्नो पन’ सार्र्वजनिक गर्ने तयारीमा लगेका छन् । गुरुङको आफ्नो पनमा भएको गीत ‘झुकाइ आँखा प्रीतिको, भाका बोल्यौ र थोरै लजायौै’ शीर्ष गीतलाई म्युजिक भिडियोको रूपमा सार्वजनिक हुन लागेको छ ।
जापानको टोकियोमा छायाँकन गरिएको यो गीतले नेपाली संगीत बजारमा निकै उचाइ लिन्छ भन्ने विश्वास रहेको गुरुङले बताए । गायिका मेलिना राईले साथ दिएको यस गीतमा सविता अधिकारी र नविनराज शिवभक्तिले मोडलिङ गरेका छन् ।
विपिन किरणको रचना, नारायण सुवेदीको संगीत र फडिन्द्र राई संगीत संयोजक रहेको यो गीत अब केही दिनभित्रै स्रोता तथा दर्शक माझ ल्याउने तयारी रहेको गुरुङले बताए । यो म्युजिक भिडियोको छायाँकन रोशन कार्कीले गरेका छन् भने सम्पादन प्रेम बलम्पाकीले गरेका छन् ।
गुरुङको आफ्नो पनमा अन्य तीनवटा गीत रहेका छन् । ‘छेउमा आएं बोलाएं, अल्झियो अड्कियो यो मन भित्र किन र दोषी नजर मेरो होकी’ यी तीन गीतको म्युजिक भिडियो बनाउन बाँकी रहेपनि यी गीत पनि उत्तिकै उत्कृष्ट रहन्छन् भन्नेका गुरुङ विस्वत छन् । आफ्नो पन गुरुङको दोस्रो एल्बम हो ।
यसअघि प्रियता गीति एल्बम ल्याएका गुरुङले प्रियताबाट पनि स्रोताको माया निकै बटुलेको बताए । झुल्के घामको न्यायो सलाम भन्छ मेरो इलामले त गुरुङलाई अझ बढी सांगीतिक आकाशमा उचाई दियो । मोफसलमा बसेर पनि सांगीतिक जीवनलाई निरन्तरता दिएका गुरुङ व्यवसायिक ढंगले भने शिक्षा क्षेत्रमा आवद्ध छन् ।
नीजि तथा आवासीय विद्यालयको संगठन प्याब्सन इलामको वरिष्ठ उपाध्यक्ष रहेका गुरुङले सूर्योदय नगरपालिका स्थित बरबोटेमा न्यु वल्र्ड सेकेन्डरी स्कूल सञ्चालन गरिरहेका छन् ।
सांगीतिक क्षेत्रमा गुरुङलाई इलामका एक प्रतिभावान गायक मानिन्छ । सुगम संगीतले समेटिएको आफ्नो पनप्रति गुरुङ भन्छन् ‘मेरो आफ्नो अनुभवले यस एल्बमका गीत गाएकाले पनि स्रोता र दर्शकमाझ लान र उहाँहरूबाट माया पाउन त्यति अप्ठ्यारो छ जस्तो लाग्दैन ।’