(नाटकका पात्र तथा घटनाक्रमहरु काल्पनिक हुन् । कसैको वास्तविक जिवनसँग मेल खाएमा संयोग मात्र हुनेछ ।)
कलिलैमा किशोरी आकर्षणको मायालाई विवाहमा परिणत गर्दै एउटै कक्षामा पढ्ने दिलकुमारसँग सुटुक्कै भागेर विवाह गरेकी यूमी हाल २ वटी छोरीहरुकी आमा बनिसकेकी छिन् ।
जेठी युनिका १४ वर्षकी कक्षा ९ मा र कान्छी युकिता १० वर्षकी कक्षा ५ मा अध्ययनरत छन् । यूमी घरकी जेठी बुहारी हुन् भने उनका लोग्ने दिलकुमार मजदुरी काम गर्ने र मजदुरी गरी कमाएको पैसाले घरव्यवहार हेर्नुको साटो साथीहरुसँग जाँडरक्सीमा उडाउने प्रकारका छन् । यही कारणले गर्दा दिनप्रतिदिन पारिवारिक कलहका साथै परिवार पाल्न धौधौ परिरहेको छ ।
सारा व्यावहारिक जिम्मेवारी यूमीको काँधमा आइलागेको छ । लोग्नेलाई कति सम्झाउँदा पनि नलागेपछि आफ्ना छोरीहरु छोडेर उनीहरुको सुनौलो भविष्यको खोजिमा विदेसिन बाध्य भएकी छिन् विचरी यूमी ।)
अव शुरु हुन्छ नाट्य कथा …..
(रातको १२ः०० बजिसकेको छ । ढोकामा जोरले ढक्ढक्याएको आवाज आउँछ । यूमी र उनका छोरीहरु सुतिसकेका छन् । ढोका ढक्ढक्याएको आवाज आएपछि यूमी ब्युझिन्छिन् । पल्लो खाटमा युनिका र युकिता निदाइरहेका छन् ।)
यूमीः (ढोकाको आवाजले ब्युझेर छोरीहरुतिर हेर्छिन् । मजाले निदाइरहेका छन्……….एकअर्काको अंगालोमा बाँधिएर । उनी बिस्तारै उठ्छिन् र ढोकातिर जान्छिन् । ढोकाबाहिर देखि मसिनो प्रकारको आवाज आईरहेको छ । ढोका कच्ची हुनाले ढोकाको चेपदेखि बाहिर सजिलै देख्न सकिन्छ । मसिनो आवाज निकाल्ने व्यक्ति उनका लोग्ने दिलकुमार हुन्छन् ।)
दिलकुमारः (मसिनो तथा लड्बडिदो स्वरमा गीत गाउँदैछन्) घर त हिले हो……….चाहिँदैन सम्पत्ती दिल मिले भो…..हो…..घर त मेरै हो……ढोका खोल्न किन ढिलो भो……..? यूमी………मेरी बुढी………..(पुनः ढोका ढकढक्याउँछन् ।)
यूमीः (ढोका घर्याक्क उघारिदिन्छिन् र सरासर ओछ्यानतिर गएर मनमनै गन्गनाउँछिन्) जहिलेतहिले धोकेर आएपछि कसरी चल्छ ? जति सम्झाएपनि नलाग्ने कस्तो मान्छे होला ? अबदेखि पिउन छोड्छु भनेर जेठी छोरीलाई टिका लगाइदिएको ४ पल्ट भयो अनि कान्छीलाई ३ पल्ट …… कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रामा हालेपनि बाङ्गै………(सिरक ओडेर सुत्छिन् ।)
दिलकुमारः (आफ्नै सुर र तालमा जुत्ता फुकाल्दै) यो दाहिने जुत्ता मेरै हो………अनि यो देब्रे खुट्टामा भाको जुत्ता पनि मेरै हो ….. सबै मेरै हो……..यो घर पनि मेरै…..बुढी पनि मेरै…..छोरीहरु पनि मेरै………(कुकुर भुक्छ) कुकुर पनि मेरै हो……चोए पाङ्ग्रे……. चोए…..मेरै कुकुरले पनि मलाइ पत्याएन………छेउमा आइज भनेको मान्दैमान्दैन त……………..(कुकुर भुक्दै बारीतिर जान्छ । दिलकुमार पनि कुकुर पछ्याउँदै आँगनसम्म जान्छन् । वर्षायामको आँगन लेउ लागेर चिप्लो भाको छ । त्यहीँ चिप्लिएर पछारिन्छन् । दिलकुमार पछारिँदा ठुलो आवाज आउँछ ।)
(दिलकुमार आँगनमा पछारिएको ठुलो आवाजले झल्याँस्स ब्युझिन्छिन् अनि ओछ्यानदेखि उठ्छिन् यूमी । एक्कासी उठेर वरिपरी हेर्छिन्, पुनः थचक्क बस्छिन् र छेउमा बजिरहेको मोबाईलको अलार्म बन्द गर्छिन्, पल्लो खाटमा हेर्छिन् उनका जेठि र कान्छी छोरीहरु अंगालोमा बाधिएर सुतिरहेका छैनन् । कुकुर भुकेको आवाज विलिन हुन्छ । लोग्नेले ढक्ढक्याएको कच्ची ढोका छैन । उनी बिस्तारै बाहिर निस्किन्छिन् …… लेउ लागेको बर्खे आँगन छैन ।)
(यूमी बस्ने घर अगाडी मस्जिदमा बजेको “अल्लाह हो अकबर” आवाज एकोहोरो आइरहन्छ । आँगनमा बर्खे लेउको साटो विभिन्न प्रकारका गाडीहरु पार्किङ गरिएका दृष्यहरु देखिन्छन् । पल्लो खाटमा जेठी र कान्छी छोरी होइन अर्कै देशका छोरीहरु सुतिरहेका हुन्छन् ।)
यूमीः (टेबलमा राखिएको बोतलबाट पानी पिउँछिन् । फिजारिएको केश मिलाउँछिन् । निधारमा पसिना आएजस्तो हुन्छ त्यसलाई पुछ्दै मोबाइल हेर्छिन् ।) कस्तो नराम्रो सपना देखेँ ! कतै बिरामी हुनुभयो कि ! (मोबाइलदेखि घरतिर सम्पर्क गर्छिन् ।)
क्रमश………..बाँकी कथा आउँदाे साता
(लेखेक ःरसाइली इलामको चेतना नाट्य समूहको संस्थापक अध्यक्ष हुन् )