‘पहाडकी रानी’ भनेर चिनिने इलाम सुन्दरताको परिचायक हो । इलाम चार नगरपालिका र छ गाउँपालिकामा विभाजित छ । सन्दकपुर, माइजोगमाई, चुलाचुली, माङसेबुङ, फाकफोकथुम, रोङ गरी छ वटा गाउँपालिका र देउमाई, इलाम, माई, सूर्योदय गरी चार वटा नगरपालिकामा विभाजित छ ।
चारखोला माई, पुवामाई, जोगमाई, देउमाइको बीचमा रहेको हुनाले यसलाई चारखोल भनेर पनि चिनिन्छ । मोरङ, झापा, पाँचथर अनि दार्जिलिङको सिमानाले पहरा दिएर सुरक्षित देखिन्छ इलाम । हरियाली यसको विशेषता हो । त्यसैले यो धेरै लेखकको भावनामा प्रतिविम्बित भएको छ ।
गायकको स्वरमा सजिएको छ । कुनै फिल्म र म्युजिक भिडियोको सुटिङ गर्नको लागि इलामलाई उचित स्थान ठानिएको छ । हामी सजिलै अनुमान गर्न सक्छौ इलामको सुन्दरताले धेरैलाई सिर्जनशील बनाएको छ । उनीहरुको कलामा मनमोहक उर्जा थपेको छ ।
इलामको धर्ती उर्वरताले भरिपूर्ण छ । किनकि यसले ख्यातीप्राप्त सन्तानको जन्म दिएको छ । जनकलाल शर्मा, तारानाथ शर्मा, दुर्गानाथ शर्मा, महानन्द सापकोटा, विष्णु नविन इलामकै छोरा हुन् ।
राजनीतिक इतिहासको लागि समेत इलामले हस्तीहरु जन्माएको छ । रत्न कुमार वान्तवा, सुवास नेम्बाङ, झलनाथ खनालले इलाममा जन्मिएर देशको राजनीतिमा विशेष योगदान पु¥याएका छन् । इलामका गायकमा हामीले यम बराल, कोमल निरौला, झुमा–डेनी निरौला, रोशन गुरुङ्ग, गणेश पराजुली, यशोदा पराजुली, जगदिश समाल आदिको नाम त सुनेकै छौ । अर्का गायक लाक्पा शेर्पाले ‘झस्केर दुख्छ यो मुटु मेरो’ शिर्षकको कालजयी गीत गाएर श्रोताको मनमा वस्न सफल भएका छन् । इलामकै कोपिला गौतमले पनि आफ्नो गायन कलामा क्रमशः निख्खारता ल्याइरहेकी छिन् ।
भोजपुरमा जन्मिएर इलामलाई कार्यथलो बनाएका गायक तथा लेखक गणेश रसिक यहाँको माटोमा रुझ्दै भिज्दै परिचित भएका छन् । उनको विचारमा ‘इलामको साहित्यिक साङ्गीतिक क्षेत्रमा दार्जिलिङ्गको भूमिका छ । त्यहाँका धेरै सिर्जनशील व्यक्तिले इलामलाई कार्यथलो बनाएर काम गरेका थिए । सङ्गको रङ्ग सर्छ भनेझै दार्जिलिङ्गले इलामलाई प्रभाव पा¥यो तर सिमानाको कारण उताजस्तो अघाडि बढ्न सकेन् ।’
सुन्दरताको साथसाथै धार्मिक, आर्थिक दृष्टिकोणले पनि यो एकदम सबल छ । इलाम पाँच ‘अ’ को उपमाले पनि वहुचर्चित छ । अम्लिसो, अदुवा, आलु, अलैची, ओलन उत्पादन गर्नु इलामका किसानको विशेषता हो । इलामको नाम लिनासाथ मानिसहरुको दिमागमा हरियो चिया वगान र यसको मुनाबाट बनाइएको बासनादार अर्थोडक्स चियाको याद आउ“छ ।
लामो समय पत्रकारितामा संलग्न भएका इलामका लेखक केदार शर्मा आफ्नो गृहजिल्ला इलामको बारेमा यसरी राय व्यक्त गर्छन् ‘इलामको व्याख्या गर्दा सधै यसको पूर्वी भागको मात्र बयान गरियो । श्री अन्तुको घाम र कन्यामको चियाबारीको मात्र चर्चा गरियो । इलामको पश्चिमी क्षेत्र पनि सुन्दरताको दृष्टिकोणले कमजोर छैन ।
देउमाई नगरपालिकाको कुइभिर, पानीटार, गजुरमुखी पर्यटकिय गन्तव्य बनाउनको लागि लायक ठाउ“ छन् । त्यसैले आगामी इलामलाई परिभाषित गर्दा यसको छाया“मा परेको पाटोमा पनि उज्यालोको प्रवेश गराउनु अत्यावश्यक छ । सन्दकपुर गाउ“पालिकाको हिमाली क्षेत्र पनि पर्यटन व्यबसायको लागि चित्ताकर्षक छ । भौगोलिक विविधताको दृष्टिकोणले पनि इलाम विशेष छ । यसका कुनै ठा“उ कहिल्यै शीत नओभाउने छन् भने कुनै तराईस“ग मिल्दाजुल्दा छन् ।’
इलाम जिल्लालाई नजिकबाट नियालेका युद्धप्रसाद वैद्य अब पश्चिमी इलामको विकासप्रति आशावादी छन् । विकेन्द्रीकरणले पछि परेका इलामका क्षेत्रलाई विकासको गतिमा लम्काउने उनको ठम्याई छ । उनी आफ्नो विचारलाई यसरी प्रष्ट पार्छन् ‘गाउँपालिका र नगरपालिकामा बाँडिएपछि इलामको पश्चिमी क्षेत्रमा क्रमशः उज्यालो छरिन थालेको छ । राँके रवि दमक हुँदै भेडेटारसम्म पुग्ने बाटो बनिदैछ ।
राँकेबाट घुम्नुको साटो गजुरमुखीबाट इभाङ हुँदै रवि जाने बाटो बनाउन सकिन्छ । इभाङ महमाई र कन्काईसम्मको बाटोको अवधारणा पनि आइरहेको छ । बिब्लयाँटे र सन्दकपुरसम्मको सडक पनि जोडिदैछ । माइपोखरी धाममा पुग्ने बाटो पिच हुँदैछ । यातायातको पहँुचले विकासको आयामलाई स्वागत गरिरहेको छ ।
विकेन्द्रिकृत नहुञ्जेलसम्म टाढा टाढाबाट मानिसलाई इलाम आउनुपर्ने बाध्यता थियो । तर अहिले गाउँपालिका र नगरपालिकामा अड्डा अफिस पुगेपछि सर्वसाधारण लाभान्वित भएका छन् । उनको सोचाइमा इलाम सदरमुकामको आँखा नपुगेका इलाममा धेरै ठाउँहरु छन् । लारुम्वाका किराँतगुरु आत्मानन्द लिङदेनको जन्मोत्सब मनाउन टाढाटाढाका मानिसहरु कुम्लो कुटुरो बोकेर आउने गर्छन् । ठूलो मेला नै लाग्ने गर्छ त्यहाँ। त्यस्तो ठाउँलाई व्यवस्थित गरेर तिर्थस्थल बनाउन सकिन्छ । हामी सबैले दिलोज्यान दिएर लागेमा इलाम साहित्यिक, सांस्कृतिक तिर्थ बन्नेमा दुई मत छैन् ।’
समन्वयकारी संस्थाहरु विकासका मापदण्ड भएकोले यिनीहरुमार्फत काम गर्दा सुनझै इलाममा अझ सुगन्ध छर्न सकिन्छ । जिल्ला समन्वय समिति, महिला समन्वय समिति, अपाङ्गता समन्वय समिति आदि यसका उदाहरण हुन् । समग्र इलाम जिल्लामा अपाङ्गता रोकथाम र अपाङ्गता भएका व्यक्तिलाई विभिन्न सुबिधा प्रदान गरेर पुनस्र्थापना गर्ने कार्यक्रम पनि चलिरहेको छ ।
यो अभियानले अपाङ्गता भएका व्यक्तिहरु प्रतिको नकरात्मक दृष्टिकोण परिवर्तन गर्नको लागि प्रभावकारी कार्य गरिरहेको छ । अब आँखा नदेख्नेलाई अन्धो भन्नुको साटो दृष्टिविहीन, शरीरको कुनै भाग नभएको व्यक्तिलाई लुलो लङ्गडो भन्नुको साटो शारीरिक अपाङ्गता भएका व्यक्ति सम्बोधन गर्नुपर्ने क्रमशः आमचेतना जागिरहेको छ । अन्य संघ संस्थाले पनि गाउँपालिका र नगरपालिकासँग समन्वय गरेर इलामलाई अब्बल बनाउन कोशिस गरिरहेका छन् ।
शैक्षिक दृष्टिकोणमा पनि इलामले मुहार परिवर्तन गर्न खोजिरहेको छ । इलामको रक्सेमा प्राविधिक विषय पढाई भइरहेको छ । करफोकमा राम्रो कलेज छ । अन्यत्र पनि शिक्षा विकेन्द्रिकृत हुने त्रम बढिरहेको छ । फाकफोकथुम गाउ“पालिकाको एकतप्पामा ब्याचलर लेभलसम्मको पढाई भइरहेको छ ।
इलामको प्रकृति नै विकासमैत्री छ । यहाँको हरियालीले सुन्दरता र अर्थोपार्जनको सम्भावना बोकेको छ । यो ठाउँका कलात्मक घरहरु बेगुनिया, सिन्ड्रेला, गुलाफ, सयपत्री, सिनेरिया, लालीगुँरास, चाँप आदि फूलको वरिपरी रङ्गिएका छन् । वर्तमान इलामको स्वरुपलाई नजरअन्दाज गर्दा विकासको गतिमा लम्किइरहेको अवस्था छ ।
नगरपालिका र गाउँपालिकामा विभाजित भएपछि स्थानीय निकायका निर्वाचित प्रतिनिधिहरु पनि विकास निर्माणका काम गर्न जागरुक देखिन्छन् । महिलाले पनि राजनीतिक बागडोर कुशलतापूर्वक सम्हालिराखेका छन् । देउमाई नगरपालिकाकी उपमेयर पविमाया राई यसको उदाहरण हून् । महिलाको भुमिका दर्विलो भएता पनि उपमेयरको पदमा मात्र राखेकोमा उनको गुनासो छ ‘संघीयताले महिलालाई स्पेस दिएको विषयमा हामी उत्साहित छौ तर महिलालाई उपमेयरकै पदमा मात्र राखिएको छ । अवसर पाएमा हामी पनि मुख्य भूमिकामा रहेर काम गर्न सक्छौ ।
संघीयताले महिलालाई उठाउन सक्यो भने मात्र विकेन्द्रिकरणको सान्दर्भिकताले मूर्त रुप लिन सक्छ । राज्यको पुर्नसंरचना गर्ने सिलसिलामा हामीले नगरपालिकाका सबै वार्डमा दश मिटरको बाटो खनायौ । पर्यटकीय क्षेत्रको सुधारको लागि बजेट विनियोजन ग¥यौ । समाजमा सीमान्तकृत वर्गलाई विशेष ध्यान दिएर उनीहरुको समग्र पक्षमा उन्नतिको लागि पहल गर्यौ । म आफू महिला भएकोले महिलाको उन्नतिको लागि पनि विशेष पहल गरिरहेकी छु । अबको संघीयताले महिलाको प्रमुख उम्मेदवारीलाई मान्यता देओस् । हामी यो चुनौति स्वीकारेर व्यवहारमा कार्यान्वयन गर्नको लागि तयार छौ ।’
विकासका पूर्वाधारको व्यवस्थापनमा इलाम अब्बल साबित भएको छ । समग्रमा साहित्यिक, साङ्गीतिक, सांस्कृतिक, प्राकृतिक, आर्थिक सँगसँगै विकासका पूर्वाधारहरु शिक्षा, स्वास्थ्य, यातायात, संचार, विद्युतको क्षेत्रमा इलाम सम्पन्नताको फड्को मार्न उत्प्रेरित भइरहेको छ । नेपालभित्र रहेका सुन्दर ठाउ“मध्ये इलामको नाम अग्रपंक्तिमा आउँछ । त्यसैले इलामको समग्र महत्वलाई बुझेर तिर्थ श्रेष्ठले आफ्नो कवितामा लेखेका छन्
‘इलाम
तिम्रो सम्मानमा
मलाई स्वयं सलाम हुन मन् लाग्यो
मलाई इलाम हुन मन् लाग्यो ।’
(लेखक थपलिया इलामको देउमाई नगरपालिकावासी हुनुहुन्छ । उहाँ स्तम्भ लेखन साथै पुस्तक लेखन, समालोचना र अनुवादनका क्षेत्रमा कलम चलाउनु हुन्छ ।)