प्रिय बन्दै सुत्केरी पोषण

         घरमै सुत्केरी गराउने प्रवृत्तिलाई निरुत्साहित गर्न इलामका स्थानीय तहले ल्याएका कार्यक्रम निकै प्रभावकारी बन्न थालेका छन् ।
इलाम नगरपालिकाले सुत्केरी गराउने महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । करिब दुई महिना यता सुरु भएको एम्बुलेन्स सेवा प्रयोग गर्नेहरुको संख्या पनि उल्लेख्य छ । फागुन महिना देखि हाल सम्म नगरक्षेत्रभित्रका ३६ जना महिलाले एम्बुलेन्स सेवा लिएको नगरपालिका स्थित स्वास्थ्य शाखाले जनाएको छ ।
नगरपालिकाले एम्बुलेन्स प्रयोग नगर्नेलाई भने एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराउने गरेको छ । यसबाहेक इलाम नगरपालिकाले प्रतिव्यक्ति तीन हजार रुपैयाँ पोषण खर्च उपलब्ध गराउने गरेको स्वास्थ्य शाखा प्रमुख रमन्ता पौड्यालले बताउँछिन् । ‘पहिला–पहिला पोषण सामग्री दिने गरिएको थियो । त्यो त्यति प्रभावकारी नभएपछि रकमनै उपलब्ध गराउने गरेका छौं ।’ पौड्यालले भनिन्,‘रकम धेरै नभएपनि सुत्केरी भएको अवस्थामा यसले ठूलो सहयोग गरेको छ भन्ने महशुस भएको छ ।’ पौड्यालका अनुसार यसो गर्दा नेपाल सरकारले सुत्केरी महिलालाई उपलब्ध गराउने यातायात खर्च वापतको दुई हजार रुपैयाँ, स्वास्थ्य संस्थामा गएर चार पटक जाँच गराए वापत आठ सय रुपैयाँ, नगरपालिकाको तीन हजार गरेर सुत्केरी महिलाले पाँच हजार ८ सय रुपैयाँ पाउने गरेका छन् ।
उता,सुत्केरी घरमै गराउनेको संख्या घटाउन माइ नगरपालिकाले सुरु गरेको उपमेयर सुत्केरी पोषण कार्यक्रमले विपन्न परिवारका सुत्केरी महिला खुशी भएका छन् । नगरपालिकाले चालू आर्थिक वर्ष ०७७÷०७८ मा लक्षित वर्ग अन्तर्गत बजेट विनियोजन गरेपछि पोषण कार्यक्रम सुरु भएको हो । पोषण कार्यक्रममार्फत विपन्न परिवारका सुत्केरी महिलालाई नगरपालिका स्थित महिला तथा बालबालिका कार्यालयले विभिन्न पोषण सामग्री वितरण सुरु गरेको छ ।

       नगरपालिकाले नगरभित्र रहेका तीनवटा वर्थिङ सेन्टरमा सुत्केरी गराउने महिलाका लागि पोषण युक्त सामग्री प्रदान गरेको महिला तथा बालबालिका शाखा प्रमुख जमुना पौड्यालले बताइन् । दानाबारी, महमाई र चियापानीमा रहेका वर्थिङ सेन्टरमै सुत्केरी गराउनेका लागि नगरपालिकाले नगद पाँच हजार रुपियाँ प्रोत्साहन र बाँकी यातायात खर्च वापत रकम प्रदान गर्ने गरेको छ  ।
‘घरमा नभइ वर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी गराउन भन्ने उद्देश्यले महिलाहरुलाई प्रोत्साहन गरिएको हो ।’ पौड्यालले भनिन्, ‘एक जना महिलाले प्रोत्साहन रकम र यातायात खर्च गरेर साढे आठ हजार रुपैयाँ पाउने गरेका छन् ।’
नगरपालिकाले यस्तो कार्यक्रम ल्याएपछि चालू आर्थिक वर्षको पहिलो चौमासिकमै वर्थिङ ६८ जनाले वर्थिङ सेन्टरमा सुत्केरी गराएको नगरपालिकाको तथ्याकं छ । गत वर्ष एक सय जना महिलालेमात्र वर्थिङ सेन्टरमा सुत्केरी गराएका थिए । कार्यक्रम अन्तर्गत पाँच किलो वास्मती चामल, एक किलो चना, एक किलो केराउ, आखा किलो घिउ र एक किलो हर्लिक्स तथा आइरन टोसिक पोषणका रुपमा प्रदान गरिएको छ ।
थोरै सामग्री भएपनि सुत्केरी महिलाका लागि यो खानाले ठूलो राहत मिलेको पोषण सामग्री पाएकी माई नगरपालिका–१ दानाबारीकी उमादेवी घिमिरेले बताउँछिन् । घिमिरेजस्तै विमला अधिकारी, माई–७ की मनिला विक, माई–छ की सुस्मा परियार, विमला लिम्बू पोषण सामग्री पाएर खुशी भएका छन् । उपप्रमुख सुत्केरी पोषण कार्यक्रम मार्फत विपन्न परिवारका सुत्केरीलाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको नगरपालिका उपप्रमुख विष्णुमाया आचार्यले बताउँछिन् । ‘धेरै महिलाहरु अहिले पनि असुरक्षित ढंगले घरमै सुत्केरी गराउन बाध्य छन् । त्यस्ता महिला र उनीहरुका परिवालाई लक्षित गरी वर्थिङ सेन्टरमा सम्म लान प्रोत्साहन गर्न यो कार्यक्रम ल्याएका छौं ।’ आचार्यले भनिन् ‘गतवर्ष भन्दा यो वर्ष वर्थिङ सेन्टरमा जानु पर्छ भन्ने सचेतना निकै पढेको पाइयो ।’
सुत्केरीलाई पोषणयुक्त सामग्री प्रदान गर्दै जिल्ला समन्वय समिति प्रमुख तथा इलाम अस्प्ताल समिति विकास अध्यक्ष गणेशप्रसाद बरालले गाँउ–घरमा असुरक्षित सुत्केरी गराउने कार्यले बच्चा र आमा असुरक्षित भएको भन्दै वर्थिङ सेन्टरबाट प्रसुती गराउन समुदायलाई अझै सचेत गराउनु पर्नेमा जोड दिए  । नगरपालिकामा करुणा फाउण्डेशनले पनि सुरक्षित सुत्केरी गराउन र अपाङ्गता भएका शिशु जन्मने दर कम गराउन विभिन्न कार्यक्रम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार