चियाको माग उच्च हुँदै

आज चिया दिवस

बैशाख १५ आज अर्थात २५ औं राष्ट्रिय दिवस । नेपाली चिया किसानहरुको एउटा छुट्टै उत्सव हो आज । चिया दिवस मनाइ रहंदा विदेशी मुद्रा आर्जनमा नेपाली चियाले यो वर्ष उल्लेख्य वृद्धि भएको छ ।
चालू आर्थिक वर्ष ०७७÷०७८ मा नौ हजार ५७० मेट्रिक टन चिया निर्यात भएको छ । यसबाट चालू आर्थिक वर्षमा तीन अर्व छ करोड रुपियाँ बराबर आम्दानी भएको भन्सार विभागको तथ्याकं छ ।
गत आर्थिक वर्ष ०७६÷०७७ मा ११ हजार १८५ मेट्रिकटन चिया निकासी भएको थियो । यसबाट दुई अर्व ७८ करोड रुपियाँ बराबर आम्दानी भएको थियो । यो वर्ष ०७६÷०७७ मा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो । कोभिड( १९ का कारण कम निकासी भएको चियाको निकासी सहज भएपछि निर्यात वृद्धि भएको नेपाल चिया तथा कफी विकास वोर्डले जनाएको छ । कोभिडका समयमा पनि नेपाली चिया निर्यात वृद्धि हुनु नेपाली किसानका लागि सुखद रहेको वोर्डका कार्यकारी निर्देशक डाक्टर विष्णुकुमार भट्टराईले बताए । ‘विदेशी उत्पादनमा गिरावट आएकाले पनि नेपाली चियाको माग उच्च छ ।’ भट्टराईले भने ‘चियालाई कोभिड संक्रमणको न्यूनीकरण गर्ने तत्वका रुपमा प्रयोग गर्न थालिएकाले पनि चिया निर्यात नेपालका लागि राम्रो हुनेछ ।’

   त्यसो त चियाको ‘फस्ट फ्लस’ सबैभन्दा गुणस्तरीय र विदेशी मुद्रा आर्जनको प्रमुख मानिन्छ । यो सिजनको चिया प्रशोधन गर्न पनि उत्तिकै ध्यान दिइयो र गुणस्तरीयता कायम राख्न सकियो भने त्यसले किसान, उद्योगी र उपभोक्तालाई समेत फाइदा माइपोखरी स्थित जसवीरे चिया उद्योगका सञ्चालक शरद सुब्बा बताउँछन् ।
सुब्बाको चिया कारखानाले किसानलाई मूल्य पनि निकै राम्रो दिएको छ । सिजनको शुरुमै यो कारखानाले किसानले उत्पादन गरेको हरियो चियाको मूल्य न्यूनतम ६० रुपियाँ प्रतिकिलो देखि एक हजार पाँच सय रुपैयाँ प्रतिकिलो तोकेको छ । कारखानाले एक सुइरोको मात्रै मूल्य प्रतिकिलो एक हजार ५ सय रुपैयाँ दिने गरेको छ ।

     कोरोना भारइरसका कारण गतवर्ष चिया निकासीमा समस्या झेल्नु पर्दा यो वर्ष चियाको मूल्य गतवर्षकै कायम गरिएको सुब्बा बताउँछन् । कोरोनाका कारण चाइना पठाउन तयार गरिएको करिब छ हजार किलो ‘स्पेसल’ चिया गोदाममै थन्किएको छ । यो वर्ष भने फस्ट फल्सको चियाको नमूना फ्रान्स र डेनमार्क पठाइएको सुब्बाले बताए । सुब्बाले यो वर्ष दश हजार किलो फस्ट फ्लसको चिया तयार गर्ने लक्ष्य लिएको जानकारी दिए  ।
यता, विगतदेखि नै पूर्ण अर्गानिक चिया उत्पादन गर्दै आएको सूर्योदय नगरपालिका सुन्दरपानीस्थित गोर्खा टी स्टेटले पनि विदेशबाट चियाको माग उच्च रहेको जनाएको छ । वर्षै भर एकै दरको मूल्य दिने गोर्खाले यो वर्ष किसानको हरियो पत्तिको मूल्य प्रतिकिलो एक सय रुपैयाँ तोकेको छ ।
गतवर्ष ९५ रुपैयाँ प्रतिकिलो मूल्य दिएको गोर्खाले यो वर्ष किलोमा पाँच रुपैयाँ वृद्धि गरेको जनाएको छ । ‘कोरोना कहरले गतवर्ष पनि चिया बिक्रीमा निकै सकस भयो । युरोपियन मुलुकहरुले चिया खरिदमा चासो दिनै छोडेका छन् ।’ गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईंले भने ‘हाम्रो चियाको उत्पादन मूल्य नै बढी छ, यो वर्ष त विदेशमा नमूना पठाउँदा र कन्टेनर पठाउँदा मूल्य उच्च भएकाले व्यवसायीलाई समस्या छ ।’ गोर्खा टी स्टेटले इयु, जापान, अमेरिका लगायतका मुलुकको ‘स्टान्डर’ अनुसारको तयारी चिया उत्पादन गर्ने गरेको छ । गोर्खा टी स्टेटमा अहिले १८ हजार किलो तयारी चियाको माग आइसकेको छ । चापागाईंका अनुसार तयारी चियाको एउटा कन्टेनर विदेश पठाउँदा दुई हजार पाँच सय डलर सम्म खर्च हुने गरेको छ । सरकारले अर्गानिक उत्पादनलाई बढवा दिने नीति लिएपनि चियालाई कम चासोका रुपमा हेर्ने गरेको गोर्खा टी स्टेटका चापागाईं बताउँछन् ।
‘वातावरण सँग प्रत्यक्ष जोडिएको चिया क्षेत्रलाई सरकारले हेरेको अवस्था छैन । नत प्राङ्गारिक उत्पादनमा किसानलाई सहयो गरेको छ, नत उद्योगीलार्य ससहुलियत दिएको छ । सहयोग अभावमा खुम्चनु पर्ने हाम्रो बाध्यता हो ।’ चापागाईं भन्छन्,‘सरकारले त बरु रासायनिक मल, औषधि प्रयोगमा प्रोत्सहन गर्दैछ । प्राङ्गारिकको भविष्य बुझेको अवस्था छैन ।’ उता अर्गानिक चिया नै उत्पादन गर्दै आएको तीनजुरे कृषि चिया सहकारी संस्थाले पनि अन्य चिया भन्दा अर्गानिक चियाको माग उच्च भएपनि कोरोनाकै कारण उद्योगी र किसानले खुम्चनु पर्ने बाध्यता रहेको जनाएको छ । वर्षौंदेखि अर्गानिक उत्पादन गर्ने चिया किसान र व्यवसायीहरु नेपाल सरकार सँग भने त्यति सन्तुष्ट छैनन् ।
किसानले उत्पादन गरेको चिया अर्गानिक प्रमाणिकरण गर्न होस अथवा अर्गानिक उत्पादनलाई सहयोग गर्न होस, सरकारले कुनै कार्यक्रमबाट पनि किसानलाई सम्बोधन गर्न नसक्दा भने किसानहरु चिया खेती प्रतिनै निरुत्साहित भएको किसानहरु बताउँछन् ।
चिया दिवसको अवसरमा ‘स्वदेशमा उत्पादित चिया पिउने गरौं, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ भन्ने नारा तय गरिएको वोर्डले जनाएको छ । निर्देशक डा. भट्टराईले भने,‘चिया उत्पादनमा किसान तपाईहरु निरुत्साहित नहुनुस्, वोर्डले विदेशी बजार व्यवस्थापनका लागि अन्य मुलुकहरु सँग चिया निर्यातको एमओयु गर्ने तयारी गरिरहेको छ । एमओयुको प्रक्रिया चीन सँग त अघि बढी सकेको छ ।’ डा. भट्टराईले किसान र उद्योगीलाई बरु आफ्नै देशका नागरिकलाई अर्थोडक्स चिया सेवन गराउने बानीको विकास गर्न लाग्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार