आउनुहोस्, इलामको अर्थोडक्स सित्तैमा पिउनुहोस्

  आवाज सम्वाददाता


इलाम। इलाम र चिया पर्याय हो । इलाम आउनेले इलामको चिया चाख्ने र अलिकति कोशेली लिएर नगए इलाम आएको सार्थकता महसुस गर्दैनन् ।
इलाम आएर चिया त पिउने तर कता पिउने ? इलामको असली अर्थोडक्स चिया पाउने ठाउँ कता हो ? इलाम आउने पर्यटकलाई अन्यौल नै हुने गरेको छ । तर अब यस्तो अन्यौलबाट पर्यटक मात्र होइन इलामबासीसमेत मुक्त हुने भएका छन् ।

अब इलामको असली अर्थोडक्स चियाको स्वाद चाख्नका लागि इलाम सदरमुकाममा रहेको सिटी मार्टको दाहिने कुनोमा जानु भो भने तपाईंले इलामको असली अर्थोडक्स चियाको स्वाद लिन पाउनु हुने छ । त्यो पनि सित्तैमा ! त्यहाँ एउटा ठेलामा नगरपालिकाका कर्मचारीहरुले तपाईलाई सित्तमै चखाउने छन्, अर्थोडक्सको स्वाद । चखाउने मात्र होइन, धित मरुन्जेल पिउन सक्नु हुनेछ, इलामको अर्थोडक्स चिया ।

इलाम नगरपालिका र उद्योग वाणिज्य संघ इलामले चिया दिवशको अवसर पारेर बुधबारबाट यो कामको थालनी गरेका हुन् । इलाम आउने पर्यटकलाई मात्र होइन, इलामबासीलाई पनि बेलुकी साँढे चार बजेबाट सित्तैमा अर्थोडक्स चिया दिइन्छ ।

पहिलो दिननै एक सय ५० जनालाई चिया खुवाइएको थियो । दोस्रो दिन विहीबार पनि अर्थोडक्स चियाको स्वाद लिनेहरुको संख्या निक्कै ठूलो थियो । पर्यटक, जेष्ठ नागरिक र सिटीमार्टका सेवाग्राहीका लागि भनिए पनि यहाँ आउने सबैलाई चिया वितरण गर्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार