इलाम।उमेर ८९ वर्ष । कपाल सेताम्मे छ । दुईचार वटामात्र दाँत । बुढ्यौलीले छोपेपनि खुशी भरिएको अनुहार । लौरो टेकेरै पनि घर गोठ गरिरहने दैनिकी उस्तै छ, रनमायाको । देउमाई नगरपालिका– ३ पैरेभञ्ज्याङ निवासी रनमाया राना मगरलाई सानै देखिको काम गरिरहने बानी जीवनको उत्तर्राद्धमा पनि हटेको छैन ।
‘छोरो मन्त्री भएर आउँदा के हुनु र खुशी भए । मन्त्री भयो अरे भनेर छिमेकीहरुले सुनाए ।’ आफैंले पालेका बाख्रालाई खोले खुवाउँदै रनमायाले भनिन् ‘कसैसँग नबिजाउने सानै देखिको उस्को बानी देख्दा ठूलै मान्छे हुन्छ कि जस्तो लाग्थ्यो, खै मन्त्री भएको अरे ।’
प्रदेश–एकका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर राना मगरकी आमा रनमायालाई भेट्दा उनको खुशी र जाँगर कति हो भन्ने अनुमान गर्न सकिंदैन । आफ्नो जेठो छोरो रामबहादुर मन्त्री भएको सुन्दा खुशी लागेपनि छोराले मन्त्रीको पद सम्हाल्नु भन्दा गरिब दुःखीको सेवामा लागेको भए हुन्थ्यो जस्तो चाँहि रनमायाको मनमा लागेको छ । ‘पहिला–पहिला त हिंडेपछि घर खासै फर्कंदैन थियो, अचेल त दुईचार दिन, पन्ध्र दिनमा घर आइरहन्छ ।’ रनमाया भन्छिन् ।
दुई छोरा मध्ये कान्छा छोरा गोपाल चाँहि स्थानीय वडा कार्यालयमा कार्यरत हुनुहुन्छ । ‘पहिलादेखि राम सँगै बसें, राम हिंडिरहने हुँदा बुहारी घरि–घरि रिसाउँथ्यो, म नरिसाउ, उस्को काम गर्न देउ, ऊ बिग्रिएर, रक्सी खाएर हिंडेको छैन भन्ने गर्थें ।’ रनमायाले थपिन । मगरको छोरो भएपनि छोरा रामले आफ्नै अगाडि अहिलेसम्म मदिरा सेवन गरेको नदेखेकाले रनमायालाई सबैभन्दा बढी खुशी त्यहाँ लागेको छ । उनले छोराछोरीलाई जाँड रक्सी खानु हुँदैन, यो त विगार्ने चीज हो, यो खायो भने अर्काले हेप्छ भनेर सानै देखि सतर्क गराएको बताउँछिन् । ‘रामले उस्को साथीहरु सँग त खाँदो हो, मलाइ के थाह र आमाको अगाडि कहिले पनि खाएन, त्यसमा म औधी खुशी छु ।’ रनमायाले भनिन् ।
छोरा रामबहादुर नहुँदा बुहारी झनिमायासँग बस्दै आएकी रनमाया बुहारी र दुई नाति लोकेस र आकाशसँग पनि उनीहरुले आफूप्रति गरेको व्यवहारमा रमाएकी छन् । नातिहरु पढ्नका लागि काठमाडौं तिरै भएकाले सासु–बुहारीमात्रै घरमा बस्नु बाध्यतानै छ । रामबहादुर मन्त्री भएपछि एक पटक उपचारका क्रममा विराटनगर आमालाई लाँदा पनि छोराको मन्त्रालयमा रनमाया जान मान्नु भएन । ‘मलाई त घरै लगिदे, तेरो अफिस जान्न भने , अनि घरै आयौं ।’ उनी भन्छिन् ‘गाई बाख्रा पालेको छ, खेती बाली छ छोडेर हिंड्दा यहाँ बित्छ, डुलेर कहाँ हुन्छ ।’
सरकारले दिएको वृद्धभत्ता प्रति अत्यन्तै खुशी रहेकी रनमाया छोरा, बुहारी, नाति, आफन्त कसैले दिएको पैसा लिनै मान्दिनन् । ‘सरकारले भत्ता दिएको छ, मलाई त्यसैले पुग्छ, बाख्रा पनि छन् , यसो नातिनातिना आउँदा दुई–चार सय दिन पुगेकै छ । लुगा बुहारीले ल्याइदिन्छ, मलाई किन पैसा चाहियो ।’ रनमायाले भनिन् ।
दशवर्ष अघि पति कृष्णराना मगर बितेपछि एक्लिनु भएकी रनमायाले छोराछोरीबाट भने सधैं माया महशुस गर्नुभएको छ । छोरो राम घर आउँदा पनि घरको काम गर्ने, घरमा आएका साथीभाई सँग भेटघाट गर्ने, हाँसेर कुरा गर्ने बानीले रनमायालाई छोरो मन्त्रीनै भएको हो भन्ने त्यस्तो पत्यार पनि लाग्दैन ।
घर छोडेर बाहिर हिंड्न खासै रुची नगर्ने आमालाई बुढ्यौली पनले पनि च्याप्दै लगेकाले मन्त्री राना जिल्ला आएको बेला प्रायः घरै जाने गर्नुहुन्छ । ‘आमाले त काम गर्दैन भनेर अहिले पनि गाली गर्नुूहुन्छ ।’ रानाले भन्छिन् ‘सरकारको काम, सामाजिक काम, पाटीको काम आदि कुराहरु समेटेर भएपनि इलाम आएको बेला बेलुका चाँहि आमा भेट्न घर आउँछु ।’ मन्त्री रानाकी आमा रनमायाको बानी, व्यवहारबाट सिक्ने सिकाइ र उहाँले दिने अत्र्ती मन्त्री रानाका लागि मात्र होइन अन्यका लागि उत्तिकै महत्वपूर्ण हुनसक्छ ।