संक्रमित बढ्दा समेत छैन चासो, परीक्षणकै लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता

न कन्ट्र्याक ट्रेसिङ, न परीक्षण

दिनै पिच्छे कोरोना संक्रमित बढ्दा समेत पीसीआर परीक्षण नहुँदा खतरा बढेको छ । दैनिक दुई अंकको संख्यामा बढ्दा समेत इलाममा पीसीआरको स्वाब लिइएको छैन ।
अहिले सम्म जिल्ला बाहिर मात्रै कोरोना परीक्षण गरिँदै छ । जिल्लाका तीन स्थानमा एन्टिजेन्ट परीक्षण गरिँदै छ । एन्टिजेन्ट पनि सीमावर्ती क्षेत्रमा गरिनु पर्ने बाध्यता छ । तर, कोरोना संक्रमित बढेको भन्दै जोर कलश, इलाम अस्पताल र नेपाल–भारत सीमा पशुपतिनगरमा गरिँदै छ । “हालसम्म पीसीआर जिल्लामा भएको छैन ।” कोरोना फोकल पर्सन विमल बरालले भने,“माथिबाट स्वीकृति आएपछि मात्रै गर्न पाइन्छ ।”
कोरोनाको लक्षण देखिएमा मात्रै एन्टिजेन्ट परीक्षण गरिने गरेको छ । यदि कसैमा लक्षण छैन तर विरामीको आसपासमा भएपनि त्यस्ता व्यक्तिको परीक्षण गरिने गरेको छैन । “लक्षण बेगरको कसैको पनि परीक्षण गरिँदैन ।”
फोकल पर्सन बरालले भने,“लक्षण नभएमा कन्ट्याक ट्रेसिङमा परेकैको पनि गरिँदैन ।” कोरोनाको दर बढ्दा समेत सम्बन्धित पक्षले परीक्षणमा चासो देखाएको छैन । हालसम्म विरामीको ‘कन्ट्र्याक ट्रेसिङ’को समेत परीक्षण नगर्दा भयावह स्थिति आउने देखिन्छ । पीसीआर परीक्षण पनि प्रदेश नं. १ ल्याब, कोशी अस्पताल, मेची अस्पताल र कोटीहोममा हुने गरेको छ । पछिल्लो समय कोरोनाको परीक्षण गराउने भएकाले अस्पतालमा लाइन लागेर स्वाब दिनुपर्छ ।इलाममा शुक्रबार १४ कोरोना संक्रमित थपिएका छन् । इलाम नगरपालिकामा ६, सूर्योदय नगरपालिकामा एक, फाकफोकथुम गाउँपालिकामा ४, माई नगरपालिकामा २ र माईजोगमाई गाउँपालिकामा एक जना थपिएका छन् ।
हालसम्म इलाममा ३० कोरोना संक्रमित पुगेका छन् । जसमध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाकी ८४  बर्षिया वृद्धा हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार