हेलचेक्र्याईंका कारण बढ्दैछ काेराेना

इलाम । कोभिड–१९ को पहिलो चरणको महामारीबाट निकै सर्तक रहेको इलाममा दोस्रो चरणको महामारीमा भने स्वास्थ्य मापदण्ड पालना गर्न निकै हेलचेक्र्याईं बढेको छ ।
दोस्रो चरणको महामारीमा इलाम बजार क्षेत्रकै १७ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको अवस्थामा पनि यहाँको व्यापार व्यवसाय सञ्चालन गर्नेहरु सचेत भएका छैनन् ।
सामाजिक दुरी कायम गर्ने, प्रत्येक पसल व्यवसायको अगाडि साबुन पानीले हात धुने व्यवस्था गर्ने, स्यानिटाइजरको व्यवस्था गर्ने, मास्क प्रयोग गर्ने जस्ता कामहरु गर्नुपर्ने भएपनि बजार क्षेत्रमा त्यस्तो अवस्था पाइँदैन । ‘अघिल्लो पटक पसल प्रवेशमा सामाजिक दूरी कायम गर्ने व्यवस्था थियो ।
यो पटक त्यस्तो पाइएको छैन । व्यापारीहरू आफू पनि सचेत नभएका हुन कि भन्ने अनुमान गर्न सकिन्छ ।’ जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन विमल बराल भन्छ ‘प्रहरी, प्रशासन, स्वास्थ्य कार्यालयले मात्र कडाइ गरेर कोभिड नियन्त्रण गर्न सम्भव छैन, सबै सचेत हुन जरुरी छ ।’
इलाममा अपेक्षा गरिएको भन्दा निकै फरक अवस्था रहेको इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का बताउँछन् । ‘अस्ति म आफैं एकपटक बजार घुमेर हेरें, पसलहरुमा हात धुने व्यवस्था त छैननै, स्यानिटाइजर पनि साना बट्टामा पसलको भित्र पट्टि ग्राहकले नदेख्ने किसिमले राखेको पाइयो, उनीहरुलाई सचेत गराएर फर्कियौं ।’

      प्रजिअ खड्काले भने ‘अब प्रशासनले कडाइ नै गर्नुपर्ने अवस्था आउने होकि भन्ने पनि छ ।’ प्रजिअ खड्काका अनुसार जिल्लाका सरकारी कार्यालयमा आउने सावाग्राहीको संख्या भने निकै कम भएको छ ।
बिहीबार जिल्ला प्रशासन कार्यालयबाट एक सय बढीले नागरिकता प्रमाणपत्र लिएका थिए । शुक्रबार भने त्यो संख्या घटेर ३० जनामा झरेको छ । अन्य कार्यालयहरुमा पनि सेवाग्राहीको संख्या कम हुँदै गरेको खड्का बताउँछन् ।
‘मुख्य समस्या व्यापार व्यवसायमै देखिएको छ । सदरमुकाम आवागमनको चाप घटेको अवस्था छ ।’ खड्काले भने । उता सीमा नाकाहुँदै भारतबाट नेपाल प्रवेश गर्नेहरुको संख्या पनि न्युन छ । पूर्वी सीमानामा रहेका सशस्त्र प्रहरीका १६ वटा बीओपीले नेपाल प्रवेशमा कडाइ गरेपछि मुख्य नाका पशुपतिनगर हुँदै नेपालीहरुले प्रवेश गरिरहेको जनाइएको छ ।

       पशुपतिनगरमा पनि चेकजाँच र कोेरोनाको एन्टिजेन परिक्षणलाई कडाइ गरिएकाले सीमा क्षेत्रबाट धेरै डराउनु पर्ने अवस्था भने नभएको प्रजिअ खड्काको भनाइ छ । इलाममा हाल सम्म ४० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । कोरोना संक्रमण पोजेटिभ देखिएका चुलाचुली गाउँपालिका–१ का ८८ वर्षीय एक वृद्ध र चुलाचुली–५ की ८४ वर्षीया एक वृद्धाको भने मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार