(यस नाटकका पात्र तथा घटनाक्रमहरु काल्पनिक हुन् । कसैसँग मिल्न गएमा संयोग मात्र हुनेछ ।)
(१२ घण्टाको कामपछि कोठामा आएर बेलुकीको खाना पकाउने तरखरमा लागेकी छिन् यूमी । भर्खर–भर्खर चलाउन थालेको मेसेन्जरमा फोन आउँछ । उनको श्रीमान् दिल कुमारले गरेका हुन्छन् । आफ्नो वुढाको फोन आएको देखेर खुशी हुँदै फोन उठाउँछिन् यूमीले । फोन उठाएपछि भीडमा भएको वा हो–हल्लामा रहेको आवाज आउँछ ।)
दिल कुमारः (मातेको आवाज लड्बडाहट छ, त्यस्तै आवाजमा) हेर् न बुढी ! मलाई यो साइलीले जाबो १ बोतल रक्सी उधारो दिन्न भन्छे …….यसलाई के थाहा ! मेरो बुढी विदेशमा छ भनेर……..(फिस्स हाँस्छन्) मलाइ भोलि २० हजार पैसा पठाइदे ल….. (साइली सित बोल्दै) ओए साइली ! मैले खाको उधारोको हिसाब गरेर राख् …… भोली बुढिले पैसा पठाएपछि विदेशी पैसाको मुठोले तेरो मुखमा हानिदिन्छु……
यूमीः (मसिनो आवाजमा बिन्तिभाउ गर्दै) युनिकाको बाबा ! घरमा छोरीहरु एक्लै छन् । यति रातीसम्म पिउँदै नहिड्नु न…..।
दिलकुमारः (मातेको आवाजमा) मेरो खुशीले जान्छु…….भट्टिमा पनि मेरै खुशीले आको…….विदेशमा बसेर हैकम नचला न वुढी…. गाउँभरी कति धेरै बाँकी तिर्नु छ …. बरु पैसा चाहिँ भोली नै पठाईदेउ ल मेरी रानी…….(आफु बसेको ठाउँबाट उठ्दै अलि ठुलो आवाजमा) सबैले यता सुन ! माया भनेको त यो दिलकुमार र मेरी यूमीको जस्तो हुनुपर्छ……..(यूमीले फोन काट्छिन् तर दिल कुमार एक्लै बोलिरहन्छन् आफ्नै सुरमा)
यूमीः (फोन काट्दै रिसको सुरमा) जति भनेनी नलाग्ने कस्तो मान्छे होला ? मेरो कर्मै खोटो । बिचरा छोरीहरुको के हालत भो होला ?
(कोठामा रहेका यूमीका केही साथीहरु रमाईलो गरिरहेका छन् । कोही मोबाइलमा कुरा गर्दैछन् त कोही भिडियो हेरेर बसिराछन् । यूमी तनावमा परेको पनि थाहा पाईराछन् । त्यतिकैमा यूमीसँग बोल्छन् ।)
मेनुकाः (यूमीलाई सम्झाउँदै) लोग्नेको जात यस्तै हो यूमी दिदी ! हामी नारीलाई दबाएर राख्न खोज्छन् । मेरो पनि लोग्ने छ, छोराछोरी छन् । लोग्नेले तनाव दिईरहने तर धेरै पीर खपेपछि मन चट्टान हुँदोरैछ । अहिले विन्दास !
दमन्तीः (मेनुकाको कुरामा सही थप्दै) रहरलाई बन्धकी राखेर बाध्यतालाई अँगाल्नु परेको छ । आँशु मिश्रित खुशीका साना–साना कणहरु मिलाउँदै अरुको निम्ति खुशी भईदिनु परेको छ । त्यसैले मलाई लाग्छ कि जिवनमा कमाउने, रमाउने अनि मात्र जमाउने हो ।
मेनुकाः (रमाइलोसहित यथार्थतिर मोड्दै) यूमी दिदी ! मनैदेखि रमाउनुपर्छ । यदी हामीलाई उनीहरुले बुझ्दैनन् भने हामीले मात्र कति बुझ्ने ? हामी रहरले त पक्कैपनि यति टाढा आएका हैनौं होला ? घर–परिवार, व्यवहार हामीलाई पनि थाहा छ नि के नारीहरुलाई चाहिँ रमाईलोका साधन मात्र सोच्ने हो र ? त्यसैले यदी आफ्नो नजिकको मान्छेले त्यस्तो सोच्छन् भने रमाईलो गर्न पनि आउँछ हामीलाई ।
दमन्तीः (चलाउँदै गरेको मोबाइल राख्दै) जिन्दगी भावुकतामा मात्र होइन खुशीका तरेलीहरुमा पनि बाँचौं न ! पीर, वेदना, आँशु, पीडा, दुःख त साथी हुन् । यीनीहरुसँग जिउनको लागि त पुरै जिवन बाँकी छ । त्यसैले तपाईहरु भावुकतामा वहकिदैँ जानुहोस् तर म चाहिँ आफ्नै पारामा विन्दास ! (मोवाइल हातमा लिएर गीत बजाउँदै लाग्छिन् बाहिरतिर ।)
मेनुकाः (बसेको ठाउँदेखि उठ्न खोज्दै) यूमी दिदी ! तनाव लिनु हुन्न सब ठिक हुन्छ । म पनि लागेँ किचनतिर …… सब्जी पकाउनु छ…….(जान्छिन्)
यूमीः (रुममा एक्लै हुन्छिन् । फोन हेर्छिन् अनि फेसबुकतिर आँखा पुर्याउँछिन् । धेरैजनाको फ्रेण्ड रिक्वेस्ट आएको हुन्छ । फेसबुक भर्खर–भर्खर चलाउन जानेकी छिन् । फ्रेण्ड रिक्वेस्टमा नामावली हेर्छिन्….. धेरैजसो केटाहरुको नाम हुन्छ ।)
मेनुकाले भनेको सम्झिन्छिन्, “जिन्दगी विन्दास पारामा जिउनुपर्छ, रमाउनुपर्छ”
फेरी आफ्नी ठुली छोरीले भनेको सम्झिन्छिन्,
“ममी ! पछि म ठुलो भएपछि पैसा कमाउँछु अनि हजुरलाई विदेशमा होइन मेरो आँखाको अगाडी सँधैभरी राख्छु ।”