मानिसमा काम गर्ने इच्छा हुनुपर्छ । काम फत्ते गर्न गाह्रो छैन ।’
यो उदाहरण युवा मिलन खत्रीको जीवनलाई हेर्दा थाहा हुन्छ । उनी व्यक्ति एक हुन्, सोच र गरेका काम अनेक छन् । उनी एक सफल उद्यमी हुन् । सँगसँगै कुशल नेता र जुझारु अभिनेता । यसको साथै अनेक पर्यायवाची छन् –उनका । मुख्यतः यिनै तीन शब्दले उनलाई चिनिन्छ ।
भनिन्छ, ‘मानिसले धेरै क्षेत्रमा हात हाल्दा नतिजा कमजोर आउछ ।’ उनीको जीवन देख्दा त्यस्तो लाग्दैन । उनी जुन क्षेत्रमा हात हाल्छन्, निरन्तर खट्छन् । अनि सफल भएर निस्कन्छन् ।
विद्यालयको पढाइ छाडेर सदरमुकाम पसेपछि उनलाई नयाँ काम गर्ने जोस चढ्यो ।
वैदेशिक रोजगारीले जरो गाडेको समाजमा उदाहरणीय काम गर्ने योजना बनाए । के गर्ने पत्तो थिएन । न पैसा, न काम । सोचाइले मात्र कहाँ हुन्छ र यत्तिकैमा गाउँमा (नामसालिङ –माईजोगमाई गाउँपालिकामा ) सिकेको सीप सदरमुकाममा खन्याउन मन लाग्यो । किन कि घरमा डेरी थियो । मिलनलाई डेरीमै सपना पूरा हुने लाग्न थाल्यो ।
इलाम सदरमुकामस्थित कुलधारामा मामुली किसिमको डेरी सुरुआत गरेका हुन् । आफ्नो योजना, साथीभाइको सहयोग र बैँकको ऋणले डेरी चलाउन थाले । मिलनले घरमा भएका सामान बेचेर र आफन्तसँग मागेर नगद जुटाए । त्यति गर्दा पनि रकम अपुग भएपछि बैँकमा रु ३८ लाख ऋण लिएर डेरी सुरु गरे । सुरुवाती समय, नयाँ ठाउँ र नयाँ ग्राहक । समस्या त पर्ने भयो । उनले हिम्मत हारेनन् । मिलनले आफूसहित केही साथीसँग सल्लाह गरेर विहान–विहान डेरीमा काम गर्न थाले । धेरै समय खर्चिनु नपर्ने र काम गरेबापत पैसा पनि हुने बुझेपनि साथीभाइ पनि काममा लागे । त्यसरी नै सञ्चालन गरेको डेरीले उनलाई एक कुसल उद्यमीका रूपमा उभ्यायो । अहिले डेरीमा तीन गाउँको एक हजार सात सय लिटर दूध दैनिक भेला हुन्छ । उनीसहित १९ जनाले राेजगारी पनि पाएका छन् ।
तीस प्रतिशत आफ्नै दाजुको शेयर र बाँकी आफ्नै लगानी रहेको यो डेरीमा अहिले दूध पेलेर छुर्पी अमेरिका र जापानमा बेचिन्छ । घ्यु स्थानीय बजारमा जान्छ । यही डेरीबाट विस्तार गर्दै उनले बजार हेर्ने एउटा युनिटको कार्यालय कुलधाराकै अर्को घरमा राखेका छन् । ‘ठूलो भोल्युममा कारोबार भएपछि बजार हेर्न एक्लै सकिदैन । बजार हेर्नका लागि छुट्टै कार्यालय खोलेको हुँ ।’ मिलनले भने, ‘मैले छुट्टै कार्यालय खोलेर ११ जनालाई मार्केटिङमा खटाएको छु ।’
ति एघार जना मार्केटिङ र प्रशोधनमा ८ जना आफूसहित कर्मचारी रहेका मिलनका डेरीमा अहिले मासिक ३५ लाख रुपैयाँको कारोबार हुन्छ । नामसालिङ, गोदक र सोयाङबाट दूध संकलन गरेर घ्यु र छुर्पी बनाउँछन् । ‘बैंकको ऋण पनि तिर्दैछु । आम्दानी राम्रै छ । बार्षिक तीन लाख रुपैयाँ सरदर बचत हुन्छ ।’ मिलन सुनाउँछन् ।
आफूले डेरी खोल्नुका मुख्य कारण भने गाउँघरमै केही गर्न सकिन्छ भन्ने सन्देश दिनुपनि रहेको मिलनको भनाइ छ । ‘हामी अन्य क्षेत्रको पनि दूध थपेर प्रशोधन गरेर व्यवस्थित रूपमा डेरी चलाउने सोचमा छौं ।’ सेतो पहाड डेरी उद्योग नामको डेरीका सञ्चालक मिलनले भने, ‘हामी सबै पशुपालनबाटै बाचेका छौँ । हाम्रो धेरैको आम्दानीको स्रोत दूध नै हो । त्यसैले डेरीको नामपनि सेतो पहाड राखेको हुँ ।’
उनी अब व्यवस्थित तवरबाट डेरी सञ्चालन गरेर पराम्परागत प्रक्रिया हटाउने सोचमा रहेका छन् । अव्यवस्थित डेरीकै कारण धेरै लागत डुवाएका किसानको दूधपनि आफूले प्रशोधन गरेर किसानलाई समेत आधुनिकताका बारेमा सिकाउने सोचमा आफू रहेको मिलन बताउँछन् ।
‘विश्वका धेरै देशमा हाम्रो देशबाट पठाएको छुर्पी खोरेतमुक्त नभएको भन्दै विक्दैन । त्यसैले त्यसका लागि लाग्ने योजनामा छु ।’उनले भने ।
उनी जिल्लामा युवा नेताकाे रुपमा पनि परिचित छन् । राजनीति शुरुवात गरेको लामो भएको छैन । कक्षा ११ मा पढ्दाको कुरा हो । उनी पढ्थे सदरमुकामकै इलाम माध्यमिक विद्यालय (त्यति बेलाको इलाम उच्च मावि) मा पढ्दै थिए ।
उनी विद्यालयको स्वागत् कार्यक्रम, विदाइ कार्यक्रममा समावेश हुन्थे । विद्यालयमा भएका कामको नेतृत्व गर्ने मध्येमा पर्नुहुन्थ्यो मिलन । कहिले हाजिरीजवाफ त, कहिले भलिवल प्रतियोगिता । सबै कार्यक्रमको हर्ताकर्ता हुन्थे, मिलन । सबैको मन जित्दै गए ।
विस्तारमा विद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)को विद्यालय अध्यक्ष बने । उनले खास चासो दिएका थिएन् । उनका समकालीनले मिलनलाई नै अध्यक्ष राेजे।
ख्यालख्यालमा उनी राजनीतिमा पनि माेडिए । यसपछि उनीले राजनीतिमा पनि कहिल्यै पछि फर्किनु परेन । अधिकतम्ः मान्छेको भन्दा भिन्न तवरले राजनीतिक यात्रा सुरु गरेका मिलनले पदमा पुग्दा खास काम गरेर देखाए ।
समयान्तरमा अनेरास्ववियुकै जिल्ला कोषाध्यक्ष बन्न पुगे, मिलन । कोषाध्यक्ष बन्दा देशकै धेरै रकम संकलन गरेर अनेरास्ववियुकै गरिमा बढाए । यसपछि सह–सचिव बन्दै अहिले जिल्ला अध्यक्ष हुन्, मिलन ।
मोडलिङमा रमेको मन
सानैदेखि उनी नाट्य क्षेत्रमा रमे । जिल्लाकै एक मात्र नाट्य क्षेत्र चेतना नाट्य समूहमा समाहित भएर विभिन्न ठाउँमा नाटककै लागि पुगे । कलाकारिताको भोक थिएन । नाटकमार्फत समाज परिवर्तन गर्न उनी उत्सुक र लालायित थिए ।
यत्तिकैमा उनीसँग नाटकका साथीभाइ बढ्न थाले । भेटघाटमा नेपालमै केही गर्नुपर्छ भन्ने कुरा हुन थाले । यसमा पनि उनलाई कृषि क्षेत्रलाई प्रोत्साहित गर्नुपर्छ भन्ने लागिरह्यो ।
यत्तिकैमा म्युजिक भिडियोकै निर्देशक नवीन चौहानसँग मित्रता झाँगियो । उनकै कारण मिलन नवीनले निर्देशन गरेको म्युजिक भिडियो ‘तीनपाते’मा जोडिए । तीनपातेले छाेटाे समयमा राम्राे भ्यूज कमायाे । यसअघि नै नवीन नम्बर वान म्युजिक भिडियो निर्देशक भइसकेका थिए । अरूभन्दा नयाँ र पृथक भिडियो बनाउन मिलन र नवीनसँगै अन्य साथी पनि ताते । इलामकै नयाँ भूभाग पानीटार र मंगलबारे बजार अटाएर तीनपाते बनियो । बालबालिकाको प्रेम, खेतीबारीको काम, घिउ, छुर्पीको कथा भएकाले भिडियो अत्यन्तै चल्यो । भिडियो मात्र होइन, टीम नै हाइ हाइ बन्यो । मिलनको मोडलिङले पनि राम्रै नाम पायो ।
त्यति नै बेला अर्को म्युजिक भिडियो बन्यो–‘याक्थुङमा कान्छी’ । अन्तरजातीय प्रेमलाई आधार बनाएर बनाइएको सो भिडियो पनि राम्रै चल्यो । यसपछि अर्को भिडियोमा मिलन अनुवन्धित बने । त्यो हो ‘सम्झना छ सानु’ । श्रीमती छाडेर विदेशिने युवाको पीडा भिडियोमा छ । भिडियोले धेरै चर्चा पायो । त्यसपछि एकपछि अर्को भिडियोमा मिलन देखा पर्न थाले ।
मिलनले म्युजिक भिडियो होइन, म्युजिक भिडियोले मिलन खोज्न थाल्यो । त्यसपछि अर्को भिडियो ‘लजाएर’मा उनी देखा परे ।
अहिले म्युजिक भिडियोका लागि धेरै अफर आउँछ । हत्तपत्त गर्दैनन् । गरिहाले पनि आफूलाई चित्त बुझ्दो मात्र गर्छन् । यो क्षेत्र उनको सोखको विषय हो । मोडलिङ गरेर नाम कमाउनुभन्दा पनि सोख पूरा गर्नमा उनी लागेका थिए । सधै यसैमा रम्न उनीसँग समय कहाँ छ र उनी उद्यमी, अनि विद्यार्थी नेता पनि हुन् । समाजका लागि केही गर्नुपर्छ भन्ने लागेरै यी सबै काम गरेको मिलन बताउँछन् ।