संक्रमण बढेसँगै इलाम बजारमा निषेधाज्ञा


इलाम।कोभिड–१९ को महामारी दैनिक बढ्दै गएपछि इलाम बजार क्षेत्रमा सर्वसाधारणलाई घरबाहिर निस्कन निषेध गरिएको छ ।

कोभिड – १९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले इलाम बजार क्षेत्रको जिरो किलोमिटर देखि धोबीधारा क्षेत्रका सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक बाहिर निस्कन नदिने निर्णय गरेको छ । यस्तै जिरो किलोमिटरबाट बजार क्षेत्रमा जाने सवारीलाई पनि कडाइ गरिएको छ ।

अत्यावश्यक काम बाहेकका सवारीलाई बजार पस्न नदिने निर्णय भएको छ । यस्तै मेची राजमार्गमा पर्ने विल्याँटे बजारमा लामो दूरीका सवारी रोक्न नदिने पनि निर्णय भएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । ‘संक्रमण बढ्दो छ, यसले सर्वसाधारणमा त्रास पनि उस्तै छ, संक्रमण र त्रास दुवैलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेमा हामी संवेदनशील छौं ।’ प्रजिअ खड्काले भने ।

यता इलामस्थित पूर्वेली जीपतथा ट्याक्सी व्यवसायी संघले वैशाख २२ गतेदेखि जिल्ला भरिका आफ्ना सबै काउन्टर एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । संघले सम्बन्धित यातायात व्यवसायीलाई अत्यावश्यक काम बाहेक सवारी सञ्चालन नगर्न आग्रह गरेको छ ।
इलाम उद्योग वाणिज्य संघले पनि मंगलबार एक विज्ञप्ती प्रकाशित गर्दै विहान सात बजेदेखि विहान दश बजे सम्ममात्र पसल व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको छ । यस्तै जिल्ला सहकारी संघले सहकारीहरुले दैनिक गर्ने बचत संकलन कार्य बन्द गर्ने निर्णय गरेको संघले जनाएको छ ।

इलाममा मंगलबार इलाम नगरपालिका– ७ का ७४ वर्षीय एक पुरुष र इलाम नगरपालिका– ५ की २९ वर्षीया एक महिलाको कोभिडकै कारण मृत्यु भएको छ । वैशाख २१ गते इलाम नगरपालिकामा १३ र अन्य पालिकाका चार गरि थप १७ जनामा कोरोना पुष्टि भएको छ । यो संगै इलाममा ७१ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या चार रहेको छ ।

प्रशासनले जारी गरेकाे सूचना:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार