( लघुकथा) जीवन संघर्ष हो

बर्षौं भइसक्यो,न चिट्ठी,न खबर मुङ्ग्लान हिँडेको श्रीमान कमलको कुनै अत्तोपत्तो छैन। गर्भमा हुँदै छोडेर गएको कान्छो छोरो सचिन पनि यही मंसिरदेखी १४ बर्षमा लागिसक्यो। शुरुको २ बर्षसम्म त बेला बेलामा कमलले पनि चिट्ठी पत्र र घर खर्च भनी केही पैसा पठाइरह्यो। तर त्यसपछि भने उसले न चिट्ठी पठायो,न घर खर्च नै पठायो।

     कमल त अर्कै केटीसँग मोजमस्ती गरेर बसेको छ भन्ने कुरा कमल सँगै मुङ्ग्लान हिँडेको साथीहरुको मुखबाट सुनियो।तै पनि मङ्गलीले घर व्यवहार धानेरै बसेकी छे।बिहान बेलुकाको छाक टार्न दिनभर अरुको मेलापात गर्छे।कहिले भोकै रात काट्छिन त कहिले एक मुट्ठी चामलको खोले बनाएर छाक टार्छिन।छोराहरुको स्याहारसुसारमा कुनै कमी छैन।अझै पनि मङ्गलीलाई कमल फर्किएर आउँछ भन्ने आश मरेको छैन।

    जेठो छोरो सुरज भने चोकमा क्यारिमबोर्ड खेलेरै दिन बिताउँछ।उसलाई घरको कुनै वास्तै छैन। गाउँकै प्राथमिक स्कुल पढ्दा पढ्दै बिचैमा स्कुल छाडेर बसेको उ साँझमा गाउँको आफ्नै उमेरको साथीहरुसँग भेला भएर भट्टीमा गफ लाउँछ।खाना पकाएर आमाले पर्खिरहेको हुन्छ।उ नशाको तालमा नै घर आउँछ।

     छोराको यस्तो हालत देखेर मङ्गलीलाई दुख लाग्छ।मङ्गलीले छोरालाई खाना पस्किएर दिन्छिन।उनी छोरालाई सम्झाउन थाल्छिन।सुरज अब त जवान भइस्।घर व्यवहार सम्हाल्नुपर्छ।काम नगरी खान पाइदैंन।सधैंभरी यसरी बरालिएर पुग्दैन।आखिर हाम्रो सहारा तँ नै होस्।तैँले नगरी अरु कसले गरिदिन्छ र ?अब त बुझ्ने भइस्। आमाको बोली पूरा हुन नपाउँदै आधा खाइसकेको खाना छोडेर सुरज उठ्छ।आमालाई पनि कति कति किचकिच गर्नुपरेको!चुप लागेर सुत्नु नि,खाना खाने बेलामा पनि गनगन सुन्नुपर्ने भन्दै झर्किएर आफ्नो कोठातिर लाग्छ।मङ्गली चुपचाप ओछ्यानमा गएर कान्छो छोरोलाई अँगाल्दै परदेशी श्रीमान सम्झँदै तरक्क आँसु झार्छिन।

     सुरज चाहिँ के सम्झिन्छ कुन्नी!आफू दिनभर बरालिएर आमाको कमाईबाट पाकेको खाना खानुलाई नै जीन्दगीको संघर्ष सम्झन्छ क्या रे।ओछ्यानबाटै फेसबुकमा स्टाटस पोस्ट गर्छ।उसको स्टाटस – मानब जीवन एक सँघर्ष हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार