माइजोगमाई गाउँपालिकास्थित साेयाङका जीतेन्द्र अधिकारीलाई आफूले गरेको कामबाट सन्तुष्टि मिलेन । कहिले कता, कहिले कता । न काम गरेअनुसार कमाइ हुन्छ, न सन्तुष्टि । शुरुमा ठेक्कापट्टाको काम गरे। कमाइ हुनु त कहाँ हो कहाँ, उल्टै खर्च । एउटा सीमित घेरामा बसेर काम गर्न जीतेन्द्रको चित्त बुझेन । गाउँमा राम्राे कमाइ नभएपछि सदरमुकाम सरे । इलाम नगरपालिकास्थित धाेवीधारामा जहानपरिवारसहित बसे ।
केही समय युनिटी नामक संस्थामा काम गरे । कमाइ राम्रै थियो । कमाएको रकमले खान पुगेकै थियो । परिवार पालिएकै थिए । श्रीमती लक्ष्मी पनि युनिटी संस्थाकै क्यान्टिनमा काम गर्थे । अकस्मात युनिटी संस्था बन्द भएपछि जीतेन्द्रको परिवारलाई हातमुख जोर्ने समस्या फेरि बल्झियो । जीवनमा अनेक समस्या आए पनि जीतेन्द्रले त्यही समस्याभित्रैबाट उपाय रचे ।
बालबालिकाले विद्यालयमा खाजा लाने वस्तुका बारेमा हरेक परिवारमा चिन्ता हुने गर्दथ्यो । विद्यार्थीले खाजाका नाममा बाबुआमासँग दिनहुँ रकम मागेको देख्थे । जति पैसा दिएपनि उनीहरुको चित्त नवुझाउने । उनलाई लाग्थ्यो, “एकातिर पैसाको नाश, अर्कातिर तयारी खाजाले गर्दा स्वास्थ्यमा खराब ।” बजारका तयारी खानपानमा बालबच्चा झुम्मिएका देख्दा उनी चिन्तित हुन्थे । यत्तिकैमा उनले सोचे, विद्यार्थीका लागि केही अर्गानिक खाजा बनाउने । के बनाउने रु कसरी बनाउने रु अनेक प्रश्न उठे ।
यत्तिकैमा बाल्यकालमा औधी मन पर्ने सातुको सम्झना आयो । गाउँको सातु, त्यो पनि मकैको । उनले बालबच्चालाई खाजा पनि हुने, आफूलाई रोजगार पनि । अर्काको अफिसमा काम पनि गर्नु नपर्ने । एकातिरबाट स्वस्थवद्र्धक र अर्कातिर परम्परागत खानाको मोह ।
जीतेन्द्रले आफू मात्रैले यो कुरा गर्न चाहेनन् । माइजू नाता पर्ने सेवी राईलाई पनि यसबारे कुरा राखे । राईले पनि जीतेन्द्रको कुरालाई स्वीकारे, जीतेन्द्र र सेवी मिलेर उद्योग खोल्ने निर्णयमा पुगे । उद्योग खोल्ने कुरा सजिलो थिएन । न उद्योगको ज्ञान, न बजारको जानकारी, सबै कुरामा दुबै जना अनभिज्ञ थिए । तैपनि उनीहरु यसैमा डटेर लागे ।
उनीहरुले सातु उद्योग खोले । उद्योगमा मकै मात्र होइन गहुँ, कोदो, चना, भटमास, बदाम, जौ मिश्रित बनाउन थालियो । शुरुमा पाँच लाख रुपैयाँको लगानीमा व्यवसाय शुरु भयो । शुरुआतमा सातुले खासै बजार लिन सकेन । तैपनि हिम्मत हारेन्, गरिरहे ।
तीन वर्षअघि उद्योग खोल्दा जीतेन्द्र र सेवीले अनेक भनाइ सुने । आधुनिकतामा रमाएको शहरी क्षेत्रमा सातु नौलो थियो । धेरैले प्रयोग गर्न चाहँदैन थिए । फाट्टफुट्ट इलाम बजारमा बिक्न थाल्यो ।
अहिले सुमीले घरायसी कारण उद्योगको काम छाडेपछि जीतेन्द्र आफैँले सबै काम गरिराखेको छ । खाद्यवस्तु मात्र होइन, जडीबुटीजन्य वस्तु मिसेर सातु बनाइन्छ । जीतेन्द्रको उद्योगमा पाँचथरबाट मकै, तराईबाट गहुँ, इलामको चमैताबाट जौ ल्याएर त्यसलाई पिसी सातु बनाउने गरिन्छ ।
उद्योगमा एकै किसिमको होइन, फरकफरक तबरको सातु बनाउने गरिन्छ । कुनै कोदोको पिठो मिश्रित, कुनै मधुमेहको बिरामीले खान मिल्ने ‘सुगर फ्री’ सातु । जीतेन्द्र भन्छन्, ‘‘स्वास्थ्यवद्र्धक सामग्री मात्र बेच्छु । जडीबुटीजन्य पदार्थ बढी प्रयोग गर्छु ।’’ आडिलो र पौष्टिक तत्व भएको खाद्यवस्तु भएकाले पछिल्लो समय धेरै माग हुने गरेको उनको भनाइ छ ।
अहिले उद्योगमा जीतेन्द्रले अर्का एक जनालाई पनि रोजगारी दिएकाछन् । शनिबार, शुक्रबार श्रीमती र छोरीहरूले पनि सहयोग गर्छन् । पारिवारिक सहकार्यमै उद्योग चलेको छ । उद्योगको काम झन्झटिलो छ तर जीतेन्द्र झन्झटिलो मान्दैंनन् । परिश्रमले काम गरेर खानुपर्छ भन्ने बुझेका जीतेन्द्र निरन्तर खटेर सातु बनाउँछन् । सबै खाद्यवस्तु मेसिनमा हाल्नु अघि भुट्नु पर्छ । भुट्नका लागि आधुनिक सामग्री छैनन् । पराम्परागत होल्र्याङ्गे (मकै भुट्ने विशेष किसिमको टिनबाट बनाइएको सामग्री) प्रयोग गर्नुपर्छ ।
हुन त जीतेन्द्रले होल्र्याङ्गेको विकल्प नखोजेका होइनन् । आधुनिक होल्र्याङ्गे किन्न भारतसम्म पनि पुगे । धेरै मूल्य पर्ने भएकाले अहिले पुरानै तरिकाबाट भुट्नु गरिएको छ । जीतेन्द्र बिहानभर परिवारको सहयोगमा होल्र्याङ्गेमा मकै भुट्छन् । दिउँसो सातु बनाउँछन् । सातु बनाएपछि परिवारकै सहयोगमा प्याकेजिङ गरेर मात्र बजार पु¥याउन योग्य हुन्छ ।
जीतेन्द्रको बसाइ इलाम नगरपालिका७ धोवीधारामा छ भने उद्योग नगरपालिका ८ मा रहेको छ । उद्योगबाट मासिक रु २० हजार हाराहारीमा नाफा हुने गरेको उनले बताए । ‘‘मुनाफा धेरै नभएपनि आफैँ मालिक, आफैँ श्रमिक भएर काम गर्दाको आनन्द नै ठूलो छ’’, उनी भन्छन् । उद्योगका लागि मासिक रु दुई हजार घर भाडा बुझाउनुपर्छ ।
उनको उद्योगबाट ७०० ग्राम र ५०० ग्रामका सातुका प्याकेट उत्पादन गरिएको छ । ७०० ग्रामलाई रु २५० र ५०० ग्रामलाई रु २०० पर्छ । चिनीरहित सातु खानेलाई जडीबुटीजन्य सातु पनि पाइन्छ । यसमा जीतेन्द्रले विभिन्न जडीबुटी मिसाइएको हुन्छ ।
आधुनिकतामा रमाइरहेको समाजसँग जुध्न त्यति सहज छैन । ग्रामीण भेगमा प्रयोग हुने सातुलाई शहरी क्षेत्रका वासिन्दाले त्यति रुचाउँदैनन् । आधुनिकताका नाममा तयारी खानेकुरामा रमाउने नयाँ पुस्तालाई सातुको महत्व बुझाउन जीतेन्द्र विभिन्न ठाउँमा पुग्ने गर्छन् । विस्तारै सदरमुकामलगायत फिक्कल बजार, झापाको धुलाबारी बजारसम्म सातु पुग्न थालेको छ । अहिले उद्योगको बजारसँगै लगानी पनि बढेको छ । झण्डै रु १० लाख लगानी पुगेको उनी बताउँछन् । भविष्यमा आफ्नो व्यवसायले विस्तारै बजार पाउनेमा उनी विस्वस्त छन् ।