सिङ्गै संसार मेरै भने नि, निमेषभरको बास न हो जीवन
बाघ बनि काल उभिए, एकै गाँस न हो जीवन
सब ऐश्वर्य पाएँ भन्छन्, कोही ओकल्छन्, गुम्यो फेरि
हार–जीत चलिरहने, जुँवाडेको, तास न हो जीवन
मनै टिठ्याई भाग्छन् यहिं, मल्हम दल्छन्, कोहि फेरि
एक त्यान्द्रो नाता गाँस्ने, मास न हो जीवन
बहारसँग जोख्छन् देह, काँडा छर्की छल्छन् फेरि
पूजाको थालीमा मरेको फूलझैं, लाश न हो जीवन
तँछाड–मँछाड जिउँछन् सँगै, हराउँदै जान्छन् फेरि
आक्कल–झुक्कल याद आउने, सम्झनाको राश न हो जीवन