प्रधानमन्त्री ओलीलाई जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले विश्‍वासको मत नदिने

  आवाज संवाददाता

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले विश्‍वासको मत नदिने भएको छ । प्रधानमन्त्री ओलीलाई भेटेर ठाकुर र महतोले विश्‍वासको मत नदिने बताएका हुन् ।

उनीहरू ओलीलाई भेट्नुपूर्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । बुढानिलकण्ठबाट सिधै बालुवाटार आएका उनीहरूले बिश्‍वासको मत दिन नसक्ने बताएका हुन् ।

ठाकुर र महतो बालुवाटार पुगेलगत्तै प्रधानमन्त्री ओलीले विश्‍वासको मतबारे कुरा के हो भनेर सोधेका थिए । त्यसपछि उनीहरूले आफूहरूले विश्‍वासको मत दिन नसक्ने बताएका थिए ।

नेता महतोले आफूहरूले विश्‍वासको मत दिन नसक्ने बताएको जानकारी दिए । ‘तपाईले केही काम गर्नु भएकाले यहाँको विपक्षमा जान पनि सक्दैनौ र पूरै काम नगर्नु भएकाले यहाँको पक्षमा अडिन पनि सक्दैनौँ । हामी कुनै सरकार बनाउने गठबन्धनमा पनि छैनौँ । त्यसैले मत दिने काम हुँदैन । हामी संसद्मा तटस्थ बस्‍ने हो,’ महतोले इकागजसँग भने, ‘यसमा ढुक्क हुनुहोला । हामीलाई दबाब दिने काम नगर्दा हुन्छ । यही सन्देश हामीले नेपाली कांग्रेस र माओवादीलाइ पनि दिइसकेका छौँ ।’

ठाकुर-महतो, ओली पक्षधर देखिएको भनिरहँदा उनीहरूबाट यस्तो निर्णय आएको हो । उनीहरूले पार्टी फुट्न नदिन यो नीति अवलम्बन गरिएको समेत बताए ।

जसपामा प्रधानमन्त्री ओलीको विकल्प खोज्‍नुपर्नेमा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष छ । अध्यक्ष ठाकुर पक्षले ओलीलाई नै निरन्तरता दिन सकिने बताइरहेको थियो । तर आज अध्यक्ष ठाकुरले ओलीलाई विश्‍वासको मत दिन नसकिने प्रष्टाएको हो । योसँगै ओलीले विश्‍वासको मत नपाउने सम्भावना बढेको छ । ईकागजबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार