यस्ता छन् निषेधाज्ञामा पालना गर्नुपर्ने नियमहरु

इलाम । कोरोना महामारीको असर तीब्र रूपमा पर्न थालेपछि आज राति १२ बजेबाट जिल्लाभर निषेधाज्ञा लाग्ने भएको छ । जिल्ला सुरक्षा समिति इलामको बैठकबाट थप क्षति न्यूनीकरणका लागि निषेधाज्ञा लगाइने भएको हो ।
निषेधाज्ञामा अन्य जिल्लाबाट इलाम भित्रिने र बाहिरी सवारीसाधन चल्न दिइने छैन भने सभा, सम्मेलन, सेमिनार सञ्चालन हुन पाउने छैनन् । यस्तै, भीडभाड र सम्भावित जोखिम हुन दिइने छैन भने सिनेमा हल, पाटी प्यालेस बन्द गरिने छ । प्रमुख जिल्ला अधिकारी ध्रबबहादुर खड्काका अनुसार सार्वजनिक निकाय, सार्वजनिक संस्थान, वैक तथा वित्तीय संस्था वन्द रहने छन् भने साप्ताहिक हाट समेत खोल्न पाइने छैन ।
खड्का अनुसार तरकारी तथा फलफूलका हकमा भने स्थायी रुपमा निर्माण भएका स्थान वा स्थायी तरकारी वा फलफूल पसलमार्फत मापदण्ड पालन गरी बिक्री गर्न पाइने छ । जिल्लामा संक्रमितको संख्या दुई सय नाघेको छ भने मृत्यु छ जना भएको छ । हालसम्म अधिकांश स्थानीय तहमा कोरोना फैलिसकेकाले नियन्त्रण बाहिर जान नदिने प्रशासनले निषेधाज्ञा लाउने भएको हो ।
यस्तै, निषेधाज्ञामा एम्बुलेन्स, शववहान, ग्यास पेट्रोलियम पदार्थ बोक्ने सवारी चल्न पाउने छन् भने खाद्यान्न, तरकारी, दूध तथा दूधजन्य पदार्थ, मासु तथा मासुजन्य पदार्थ,अण्डा बोक्न रोक लाग्ने छैन । यस्ता सामग्री स्वास्थ्य मापदण्ड पालन गर्दै विहान ५ ः०० बजेदेखि ११ः०० बजेसम्म र बेलुका ५ः०० बजेदेखि ७ ः०० बजेसम्म खुल्न पाउने छन् । निषेधाज्ञामा औषधि तथा स्वास्थ्य सामग्रीहरु बिक्री वितरण गर्ने सिल खुला रहने छन् । प्रजिअ खड्काका अनुसार अत्यावश्यक कामबाहेक बाहिर निस्कन पाइने छैन भने विरामी वा असहज अवस्थामा बाहेक १० बर्षमूनीका बालबच्चा, ६० बर्षमाथिका व्यक्ति, गर्भवती,दीर्घरोगी घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार