(विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व आतङ्कित बनेको छ ।सङ्क्रमण हुने र मृत्यु हुनेको तथ्याङ्क दिनानुदिन बढ्दो छ । कोरोना भाइरसका कारण मात्र नभई कोरोना आतङ्क र अफवाहका कारण पनि धेरै मानिस रोगी हुनु परेको छ । कोरोनाको वास्तविकता नबुझी लहैलहैमा मानसिक तनाब लिने र मनोरोगी बन्ने गरेका घटना पनि हामीले सुनेका छौ । यसै विषयलाई ध्यानमा राख्दै हामीले कोरोना सङ्क्रमित, कोरोना महामारीमा खटेका व्यक्ति वा परामर्शदार्तासँग छलफल गर्ने प्रयत्न गरेका छौं । यसका कारण कोरोनाको प्रतिरोधी शक्ति बढ्ने अनुमान गर्दै हामी प्रत्येक दिन यस्ता सामग्री स्रोता र दर्शकमाझ ल्याउने प्रयत्न गर्दैछौ । हाम्रा सामग्री के कस्तो लाग्छ । सुझाब लेखेर पठाउनु हुन्छ भन्ने विश्वास लिएका छौ ।)
इलाम बिब्ल्याँटेका व्यवसायी राजन दाहाल केहीदिनअघि कोरोना संक्रमित हुनुभयो । सामान्य लक्षण देखिएपछि एन्टिजेन्ट परीक्षणमा रिर्पोट पोजिटिभ आयो । त्यसपछि होमआइसोलेसनमा बसेर अहिले कोरोना जितिसक्नु भएको छ । कोरोनाको अनुभवबारे राजनसँग इलाम आवाजले तयार पारको अन्तर्वार्ता प्रस्तुत छ :
प्रश्न : तपाईको रिर्पोट पोजेटिभ आएछ अर्थात् कोरोना संक्रमित हुनुभएछ ? कसरी कोरोना सङ्क्रमित भइयो भन्ने लाग्छ ?
उत्तर : जति बेला मलाइ कोरोना संक्रमणको आशंका लाग्यो । त्यसको तीन दिनअघि म काठमाडौं गएको थिए । जाँदा पनि फ्लाइटमा आउँदा पनि फ्लाइटमा थिए । व्यवसायको काम लिएर गएकाले न्युरोड घुमेर चिया खाएको सम्म थाहा छ । घर आएपछि सामान्य लक्षण देखियो । त्यसै बेला कोरोना लाग्यो कि भन्ने आशंका छ ।
प्रश्न : दिनदिनै संक्रमित बढेको बढै छ । मानिसहरुको मृत्यु पनि भइरहेको छ । तपाईं सङ्क्रमित भएको थाहा पाउँदा कतिको डर लाग्यो ?
उत्तर : डर त अवश्य लाग्यो नि । तर, मैले मलाइ कोरोना देखिने वित्तिकै व्यवसाय वन्द गरे । अन्यतिर नसरोस् भन्नका लागि । यताउता घुमेको (मंगलबारेतिर गएको) भएकाले साथीभाइलाई खबर गरे । सामाजिक सञ्जालमा पोष्ट गरेर सबैलाई जानकारी दिए । भौतिक रूपमा मसँग नजिकिएकाहरू सजग रहनुहोला भने । त्यसपछि पहिलो कोरोना लागेको व्यक्तिले फोनमार्फत मलाईं सान्तवना दिनुभयो । उहाँहरूले कोरोना जित्न उच्च मनोबल चाहिन्छ भनेपछि सजग भएर घरमै आइसोलेसनमा बसे ।
प्रश्न : तपाईंसँगै अरू कोकोलाई कोरोना देखियो ?
उत्तर : सुरुमा मलाई लक्षण देखियो । परिवारमा अरूलाई लक्षण देखिएन । त्यसैले पनि अरूको कोरोना परीक्षण गराइएन । कन्ट्याक ट्रसिङकै आधारमा परीक्षण गर्दा मनोवल घट्ला कि भन्ने लागेर अरूको परीक्षण नगराएको हो । अहिलेसम्म कसैमा लक्षण छैन । सायद छैन होला सरेको पनि । म पहिल्यै देखि सजग भएर बसेकाले अरूमा सरेन होला भन्ने लाग्छ ।
प्रश्न : अनि घरमै आइसोलेसन्समा बस्दा के के कुरा ध्यान दिनु पर्ने रहेछ ?
उत्तर : घरमा आइसोलेसनमा बस्दा सबैभन्दा बढी दैनिक ५ देखि ६ चोटी सम्म तातोपानीको बाफ लिए । झोलिलो पदार्थ, विशेषगरी गेडागुडीको झोल प्रशस्त पिए । ज्वानाको रस खाइयो । रुच्दैन थियो । जिब्रोमा स्वाद थिएन तर पनि कोरोनाबाट बाच्नका लागि खानु पथ्र्यो । चिकित्सकले पनि यही सल्लाह दिनुभयो । दिनको ४ देखि ५ लिटरसम्म तातोपानी पिए ।
प्रश्न : तपाई संक्रमित भएर निको हुनुभएको मान्छे, कस्तो हुँदो रहेछ त यो कोरोना संक्रमण ?
उत्तर : कोरोना केही होइन भन्ने त विल्कुल होइन । आफूलाई लागेपछि परिवार, छिमेकमा पनि सर्यो कि भन्ने डर हुन्छ । अरूलाई नसराेस् भन्नका लागि धेरै सचेत हुनुपर्छ । जसलाई लागेको हो,उसले पनि यो केही होइन भन्नु पनि गलत हो । परिवारका सबै सदस्यको इमिनिटी पावर समान हुन्छ भन्ने हुँदैन । जसको दीर्घरोगीलाई लागेमा गाह्रो बनाउनुपर्छ । सहजता त लिनु हुँदैन । तर, मनोबल उच्च राखेर चिकित्सककाे सल्लाह सुझाव अनुसार पहरेज बस्ने र खानपानमा ध्यान दिँदा निको भइन्छ ।
प्रश्न : तपाईँले होम आइसोलेशनमा बसेर कोरोनाको उपचार कसरी गर्नु भयो ? कोरोनाबाट बच्न के गर्दा उचित हुन्छ ?
उत्तर : चिकित्सक दिएको भिटामिन, सिटामोल चिकित्सकको सल्लाहमा सेवन गरे । तीन-चार दिन अत्यन्तै टाउको दुख्ने, जीउ कटकट खाने भयो । पीडा त जहाँसम्म भयो तर मनोबल उच्च राखेर नियमित काम गर्दा जाति भए ।
प्रश्न : होमआइसोलेसनमा बस्न ध्यान दिनु पर्ने विषय के के हुन् ?
उत्तर : मैले अघि पनि भने । होमआइसोलेसनमा बस्दा परिवारसँग भेट हुने सम्भावना हुन्छ । त्यसैले अलिबढी सजग हुनुपर्छ । आफूले प्रयोग गरेका भाँडाकुडा प्रयोग गर्दा सजग हुनुपर्छ ।
प्रश्नः अन्त्यमा अरु केही भन्न चाहानुहुन्छ ?
उत्तर : सबै कुरा त भनिसकेको छु । आत्मबल उच्च राखौ । परिवारमा कसैलाई लागेमा पनि सजग भएमा निको हुन्छ । घरमा बस्दा चाहिँ वहुत सर्तक हुनुपर्छ । घरमै बसेरपनि कोरोना जित्न सकिन्छ भन्ने सल्लाह दिन चाहन्छु । मनोबल घटाउने किसिमको समाचारबाट अलग रहने, मोबाइल, टेलिभिजन हेर्दा सकारात्मक विषयमा ध्यान दिनु आवश्यक हुन्छ ।