कोरोना संक्रमित हुनेमा युवाको संख्या बढी, निकाे हुनेकाे संख्या समेत बढ्दै

कोरोना संक्रमणको दोस्रो भेरिएन्टले इलाममा युवा पुस्तामा संक्रमण बढी देखिएको छ । हालसम्मको तथ्यांकलाई हेर्ने हो भने १९ देखि ४९ बर्षसम्मका व्यक्तिमा संक्रमण बढी देखिएको छ । अहिले सबैभन्दा बढी १९ देखि ४० बर्ष उमेर समूहलाई बढी संक्रमण देखिएको छ ।
यो उमेर समूहका हालसम्म एक सय २६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, ४१ देखि ६० बर्ष उमेर समूहका मानिस दोस्रो बढी संक्रमित हुनेमा परेका छन् ।

यो उमेर समूहका ५० जनामा संक्रमण पुष्टि भइसकेको छ । यस्तै, तेस्रो बढी संक्रमति हुनेमा बालबालिका परेका छन् ।
एकदेखि १८ बर्ष उमेर (बालबालिका)मा १६ जनामा संक्रमण देखिएको छ । सबैभन्दा बढी संक्रमण हुने सम्भावना देखिएको वृद्धवृद्धामा भने सबैभन्दा कम संक्रमण देखिएको छ । वृद्धवृद्धा समूहमा २४ जनामा कोरोना देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामको तथ्यांक अनुसार छ जनामा मात्रै हालसम्म कोरोना पुष्टि भएको छ । यस्तै, अहिले सम्म जिल्लामा पुरुष संक्रमितको संख्या दोब्बर देखिएको छ । जम्मा दुई सय १६ जनामा संक्रमण देखिएकोमा एक सय २९ जना पुरुषमा संक्रमण देखिएको छ भने ८७ जना महिलामा कोरोना देखिएको छ ।
मृत्यु हुनेको संख्या
अहिले सम्म जिल्लामा सात जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । इलाम नगरपालिकाका तीन,चुलाचुली गाउँपालिकाका दुई, देउमाई नगरपालिका र माईजोगमाई गाउँपालिकाका एक÷एक जनामा कोरोनाबाट मृत्यु भइसकेको छ ।
निको हुनेको संख्या १३ पुग्यो
जिल्लामा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १३ पुगेको छ । इलाम नगरपालिका र रोङ गाउँपालिकाका पाँच÷पाँच जना र सूर्योदय नगरपालिका, देउमाई नगरपालिका र सूर्योदय नगरपालिकाका एक÷एक जना कोरोनाबाट निको भएका छन् ।
संक्रमितको उपचार अवस्था
हाल जिल्लामा सक्रिय संक्रमितको संख्या एक सय ९६ जना छ । जसमध्ये होमआइसोलेसनमा एक सय ७० जना र आइसियुमा पाँच जना छन् भने २१ जनाको स्थिति सामान्य छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार