पुन: केपी ओली प्रधानमन्त्री नियुक्त्त हुँदै

इलाम। नेपाली कांग्रेसलगायतका दलले बहुमतकाे सरकार गठनका लागि दाबी गर्न नसकेपछि प्रतिनिधिसभामा बैशाख २७ गते विश्वास गुमाएका केपी शर्मा ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन् । काँग्रेस– माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेका कारण राति ९ बजेपछि ओली नै प्रधानमन्त्री बन्ने भएका हुन् ।

​राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठनका लागि आज राति ९ बजेसम्मको समय दिएकी थिइन् । यो समयसीमा सकिन एकाध घण्टामात्र बाँकी छ । तीन दिनको यो अवधिमा शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले भगीरथ प्रयास गर्दा पनि बहुमत प्रमाणित गर्न सकेनन् । अन्ततः उनीहरु प्रधानमन्त्रीको दाबी गर्न नजाने निष्कर्षमा पुगेका छन् ।

माधव नेपाल समूहले सामुहिक राजीनामा नगरेको र जसपाको महन्थ ठाकुर पक्षका सांसदहरुलाई भक्तपुरको रिसोर्टमा राखिएपछि देउवाको पक्षमा बहुमत नजुटेको हो ।

विपक्षीले बहुमत जुटाउन नसकेपछि राष्ट्रपतिले अब संविधानको धारा ७६ (३) अनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाउने बाटो खुलेको छ । दुई वा दुईभन्दा बढी दलहरुले बहुमत सिद्ध गर्न नसके ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाइने संविधानको धारा७६ (३) मा प्रावधान छ ।

यसबीचमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम पनि प्रधानमन्त्रीका रुपमा चर्चामा आएको थियो । काँग्रेस, माओवादीका नेताहरुले महन्थको नाम अगाडि सारेको अवस्थामा चाहिँ बहुमत जुट्न सक्ने सम्भावना पनि थियो । तर, यसका लागि काँग्रेस–माओवादीका नेताहरु तयार भएनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार